काठमाडौं आउने तीन मुख्य नाका, प्रहरीलाई छलेर दैनिक सयौंको प्रवेश

काठमाडौंका दुई र भक्तपुरको एउटा गरी मुख्य तीन नाकाबाट दैनिक हजारौंको संख्यामा उपत्यका प्रवेश गर्नेहरूको ताँती छ। नेपाल प्रहरीले उच्च सावधानी र सतर्कता अपनाइरहेको बताए पनि सरकारले उपलब्ध गराएको ‘पास’ लिएर अत्यावश्यक सवारीसाधनमै उपत्यका प्रवेश गर्नेको संख्या बढेको हो।

मालवाहक सवारीसाधन तथा एम्बुलेन्स दुरुपयोग गरेर पनि सर्वसाधारण काठमाडौं प्रवेश गरिरहेका छन्। त्यसैको परिणामस्वरूप काठमाडौंमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने सम्भावना छ। यति हुँदाहुँदै उपत्यका प्रवेश गर्नेको लाम भने राेकिएकाे छैन।

भक्तपुरको चाँगुनारायणमा फेला परेका कोरोना संक्रमित र ललितपुरस्थित निदान अस्पतालकी कर्मचारीलाई कोरोना भाइरस संक्रमणको ट्राभल हिस्ट्रीले यो कुराको पुष्टि गर्छ।

सुनसरीबाट फर्किएकी ती कर्मचारी र कञ्चनपुरबाट फर्किएका पूर्वगृहमन्त्री भीम रावलका सुरक्षा सहयोगीसहित तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

गृह मन्त्रालय स्रोतले यी घटनापछि काठमाडौं उपत्यका प्रवेश लकडाउनमा वितरित पास अब लागू नहुने गरी सरकारले तयारी थालेको छ।

काठमाडौंका दुई नाका नागढुङ्गा र फर्पिङबाट दैनिक न्यूनतम ५ सयदेखि ३ हजारसम्म सर्वसाधारण काठमाडौं प्रवेश गरिरहेका छन्। बुधबार दिउँसो ४ बजेसम्म तीन नाका प्रयोग गरी झन्डै १ हजारजना काठमाडौं प्रवेश गरिसकेका छन्।

त्यसो त प्रहरीको आँखा छलेर पैदलै काठमाडौं प्रवेश गर्नेका संख्या पनि उल्लेख्य छ। जसको तथ्याङ्क सुरक्षा निकायसँग छैन। पासका सवारीसाधन र मालवाहक गाडीहरूको विवरण प्रहरीले राख्ने गरेको छ।

आउनेभन्दा जाने बढी : इप्रका फर्पिङ प्रमुख

काठमाडौं प्रवेशको मुख्य नाका नागढुङ्गाकै सरोवरीमा फर्पिङबाट सर्वसाधारणको प्रवेश भइरहेको छ। इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार काठमाडौं भित्रिनेभन्दा बाहिरिनेको संख्या धेरै छ।

इलाका प्रहरी कार्यालय फर्पिङकी प्रमुख प्रहरी निरीक्षक अनु लामाले हेमानी, फाखेल, राम्रेबजार तथा कीर्तिपुर र दक्षिणकालीको सीमास्थित खहरेमा हेल्थडेस्क राखेर काम गरिरहेको जानकारी दिइन्।

‘नेपाल प्रहरी र स्वास्थ्यकर्मीको संयुक्त टोली चारवटै स्थानमा राखिएको छ, एकजना जनप्रतिनिधि पनि संलग्न हुनुहुन्छ,’ लामाले भनिन्, ‘यहाँबाट काठमाडौं प्रवेश गर्नेमा धेरैजसो खाद्यान्न बोकेका गाडी हुन्, तिनको अभिलेख राखिएको हुन्छ।’

बिरामी, मालसामान ढुवानी गर्ने गाडी र कसैको मृत्यु भएको भए आफन्तलाई मात्रै आवतजावत गर्न दिइएको उनले बताए।

‘खाद्यान्न सामग्रीका गाडी पनि सामान बोकेर आएमा मात्रै इन्ट्री दिने र खाली गाडी आए उतै फर्काउने गरिएको छ,’ लामाले भनिन्।

जिल्ला प्रशासन कार्यालयको समन्वय नभएका कुनै सवारीसाधन आएमा फिर्ता गराइने जानकारी इन्स्पेक्टर लामाले दिइन्।

ट्याक्सी र निजी सवारीसाधनमा आएका बिरामीलाई पनि अनिवार्य रूपमा एम्बुलेन्समा लैजान भनिएको छ। ‘ठेगाना, फोन नम्बर, आएको ठाउँ, जाने ठाउँलगायत सम्पूर्ण विवरण खुलाएरमात्रै जान दिइएको छ,’ उनले भनिन्।

सुरक्षाकर्मीले पनि आफ्नो सुरक्षाका लागि सेनिटाइजर, पन्जा, पिपिई तथा अन्य अत्यावश्यक सामग्री प्रयोग गरेका छन्।

‘सवारीसाधनका कागजपत्र चेक गर्दा पनि टाढैबाट चेक गर्ने गरिएको छ, उच्च सुरक्षा सतर्कता अपनाइएको छ, यात्रुहरूको पनि ज्वरो नाप्ने र स्वास्थ्यका अन्य उपाय अपनाइएको छ,’ लामाले भनिन्।

लकडाउनको ५१औं दिनसम्म आइपुग्दा दैनिक १ सयहाराहारीमा सर्वसाधारण काठमाडौं उपत्यका प्रवेश गरिरहेको उनले बताइन्।

काठमाडौंबाट बाहिरिनेको संख्या दैनिक १ सय २० जनासम्म रहेको लामाले जानकारी दिइन्। ‘मंगलबार ६९ वटा गाडी आएका थिए, जसमा मालवाहक गाडी धेरै छन्। १ सय २७ जना काठमाडौं प्रवेश गरेका छन्,’ उनले भनिन्, ‘तर, अनावश्यक पासवालाहरूलाई फिर्ता पठाएइरहेका छौं।’

फर्पिङ नाकाबाट मंगलबार ६४ सवारीसाधनमा १ सय ५० यात्रु बाहिरिएको उनले बताइन्।

भक्तपुरको जगाती पनि उपत्यका प्रवेशको मुख्य नाका हो। लकडाउनमा प्रहरीले कडाइ गरे पनि त्यहाँबाट आवतजावत रोकिएको छैन।

साँगाबाट सरकारी कर्मचारीसहित दैनिक २ सयको प्रवेश

महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डिएसपी चक्रराज जोशीले साँगामा चेकपोस्ट राखेर अत्यावश्यक सवारीबाहेक अन्यलाई फिर्ता पठाउने गरिएको बताए। ‘उपत्यका प्रवेशको कारणबारे सोधखोज गरेर अत्यावश्यकलाई प्रवेश गर्न दिने र अनावश्यकलाई फिर्ता पठाइने गरिएको छ,’ जोशीले भने, ‘अहिले धेरै नै कन्ट्रोल गरिएको छ।’

साँगापछि जगातीमा पनि स्ट्रिक्टली चेकजाँच गरिने जोशीले बताए। यद्यपि, बिहीबारबाट उपत्यकामा भित्रिने सबै पासका सवारीसाधनलाई रोकिएको उनले बताए।

‘यसअघि चाहिँ दैनिक १ सय ५० देखि २ सय जनासम्मको प्रवेश हुने गरेको थियो, आजबाट पास नचल्ने भएपछि भित्रिनेको संख्या निकै घट्छ,’ उनले भने।

यो तथ्याङ्कमा काभ्रेबाट आउने सरकारी कर्मचारी समेत संलग्न रहेको जानकारी उनले दिए।

ढुवानीका गाडी बढी छन् : नागढुङ्गा प्रहरी

नागढुङ्गा, थानकोट हुँदै अहिले पनि दैनिक सयौं सर्वसाधारण काठमाडौं प्रवेश गरिरहेका छन्। पास भएका सवारीसाधन मुख्य राजमार्गबाटै प्रवेश गरिरहेका छन्।

कतिपय सर्वसाधारण वैकल्पिक सडक प्रयोग गरेर लुकिछिपी काठमाडौं उपत्यका प्रवेश गरिरहेका छन्। बुधबारसम्म निजी कार, भ्यान र मोटरसाइकल प्रवेशको अनुमति थियो।

महानगरीय प्रहरी वृत्त नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक हेमन्तविक्रम थापाका अनुसार बिरामी ओसारपसार गर्ने र कोभिड-१९ परीक्षण गर्न थ्रोट स्वाब ल्याउने गाडीलाई मात्रै प्रवेश दिइएको छ।

थापाका अनुसार मंगलबार र बुधबारको तथ्याङ्क अनुपातिक हिसाबले उस्तै छ। मंगलबार ३ सय टिपरसहित ७ सय जति गाडी काठमाडौं आवतजावत गरेको उनले बताए।

काठमाडौं प्रवेशका हरेक नाका सुरक्षा टोली राखेर पैदल यात्रुको प्रवेशलाई रोकिएको उनले बताए। ‘संख्या नगण्य छ, नाकामा उकालो लाग्ने बित्तिकै फिर्ता पठाइदिन्छौं, प्रवेशमा रोक लगाइएको छ,’ थापाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय