राष्ट्रहरू पुनर्सञ्चालनमा आउँदा झन् खतरा हुनसक्छ : संक्रामक रोगविज्ञ

अमेरिकी संक्रामक रोगविज्ञ डा.एन्थोनी फाउसीले ‘लकडाउन’ खुकुलो पार्न थालेका राष्ट्रहरुमा थप भयावह स्थिति आउनसक्ने भन्दै विश्व समुदायलाई सावधान गराएका छन्।

भाइरस संक्रमणबाट सुरक्षाका लागि अवलम्बन गरिएका विभिन्न बन्देज खुकुलो पार्दै राष्ट्रहरू पुनर्संचालनमा आउँदा कोरोना भाइरस संक्रमणको नयाँ लहरसहित थप गम्भीर संकट निम्तिन सक्ने उनको चेतावनी छ।

विज्ञ फाउसीको भनाइले विश्वभरका २ लाख ९० हजार मानिसको ज्यान लिइसकेको कोरोना भाइरसका कारण अर्थतन्त्रमा लागेको बन्देज फुकुवा गर्ने सम्बन्धमा राष्ट्रहरूले लिने ‘सोच–समझपूर्ण’ कदमले पनि कोभिड–१९ को नयाँ लहरको संक्रमणका लागि बाटो खोल्नेतर्फ इंगित गरेको छ।

पछिल्लो समय विशेषगरी अमेरिकासहित विश्वका विभिन्न राष्ट्रहरूले राष्ट्रिय अर्थतन्त्र थला परेको भन्दै सामाजिक तथा आर्थिक कार्यहरूलाई फेरि सुचारु गर्न थालेका छन्।

जसमध्ये फ्रान्सले शिक्षकहरूलाई मास्क लगाउनुपर्ने तथा विद्यार्थी बस्ने कुर्सीलाई निर्मलीकरण गर्नुपर्ने अनिवार्य नियम लागू गरी विद्यालयहरूलाई सञ्चालनमा ल्याएको छ। यसैगरी ठूलो जनसंख्या भएका मुलुक भारत र रुस पनि मानिसहरू काममा फर्कन थालिसकेका छन्।

तर यसैबीच कोरोना भाइरसको संकटमा नयाँ आयामहरू देखा पर्न थालेका छन्। अमेरिकी उपराष्ट्रपति माइक पेन्सका प्रेस सल्लाहकारलाई गत साता कोरोना संक्रमण ‘पोजिटिभ’ देखिएपपछि ह्वाइटहाउसले केही दिनका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पेन्सले नभेट्ने जनाएको छ।

उता भाइरसविरुद्धको सशक्त एवं उत्कृष्ट अभियान चलाएर संसारको प्रशंसा बटुलेको दक्षिण कोरियाले संक्रमणको नयाँ ‘केस’ देखा परेका कारण सोलस्थित नाइट क्लब जाने मानिसको निगरानी फोनमार्फत गर्न थालेको छ।

अर्कोतर्फ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय अर्थतन्त्रलाई थप धराशायी बन्नबाट जोगाउन २७० अर्ब अमेरिकी डलरबराबरको राहत घोषणा गरेसँगै एसियाली ‘इकोनोमिक जाइन्ट’ को रुपमा रहेको भारतले सामान्य अवस्थामा फर्कने तयारी गरिरहेको छ।

यसबीच विश्व मानचित्रमा देखिएका केही नयाँ विकासक्रमको सार यहाँ प्रस्तुत गरिएको छ :

चीनद्वारा ७ नयाँ संक्रमण पुष्टि

चीनले बुधबार कोरोना भाइरस संक्रमणको सात नयाँ ‘केस’ को पुष्टि गरेको छ। जसमध्ये छवटा उत्तरपूर्वी प्रान्त जिलिनको हो। नयाँ संक्रमणसँगै अधिकारीहरूले संकटको जनाउ दिँदै रेलसेवामाथि पूर्ण बन्देज लगाएका छन्।

यसका साथै भाइरस संक्रमणको शंका वा लक्षणबिना कोरोना भाइरसको संक्रमण पुष्टि भएका ७ सय ५४ जना उपचारको क्रममा रहेका छन्।

हालसम्मको ८२ हजार ९२६ जना संक्रमितमध्ये ४ हजार ६३३ जनाको मृत्यु भएको चीनले जनाएको छ।

अमेरिकी सिनेटद्वारा चीनविरुद्ध कारबाहीको धम्की

अमेरिकी माथिल्लो सदनका एक सदस्यले मंगलबार सिनेटसमक्ष एक प्रस्ताव पेस गरेका छन्, जुन पारित भएको खण्डमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरस संक्रमितको वास्तविक संख्या नखुलाएको भन्दै चीनविरुद्धको कारबाही प्रक्रिया अगाडि बढाउन सक्नेछन्।

‘यस महामारीको समयमा चीनले खेलेको प्रतिकूल भूमिकाप्रति ऊ जवाफदेही हुनैपर्छ,’ कोभिड–१९ एकाउन्टिबिलिटी एक्टको प्रस्तावक जिम इन्फोभले भने, ‘भाइरसको उत्पत्ति र विस्तारबारे उनीहरूको हतारको चित्रणले संसारको अमूल्य समय र ठूलो संख्यामा मानिसको ज्यान लिएको छ।’

पारित भएमा यस कानुनअनुसार अमेरिका वा संयुक्त राष्ट्रसंघअन्तर्गत विश्व स्वास्थ्य संगठनलगायतले नेतत्व गर्ने अनुसन्धानमा चीनले कोभिड–१९ प्रकोपसम्बन्धी सम्पूर्ण जानकारी वा गणना दिए वा नदिएको बारे ट्रम्पले अमेरिकी कंग्रेससमक्ष ६० दिनभित्र पुष्टि गरिसक्नुपर्ने छ।

न्युजिल्यान्डमा नयाँ केस शून्य

न्युजिल्यान्डले बुधबार लगातार दुईदिनसम्म कुनै पनि नयाँ संक्रमणको ‘केस’ फेला नपरेको जानकारी दिएको छ। सोही दिनको मध्यरातदेखि लकडाउन तथा अन्य सुरक्षाविधिलाई खुकुलो गर्न खोजेको राष्ट्रको लागि सो समाचार सुखद एवं प्रोत्साहनयोग्य भएको त्यहाँको स्वास्थ्य महानिर्देशक एस्ले ब्लुमफिल्डले टिप्पणी दिएका छन्। योसँगै १० जनासम्म मानिसको भेलासहित सामाजिक दूरीको नियम जारी राख्दै बुधबार बेलुकीदेखि सपिङ मल, खुद्रा स्टोर तथा रेष्टुराँलगायतको व्यवसाय खुल्नेछन्।

बिहीबार (आज) त्यहाँको सरकारले आफ्नो वार्षिक बजेट प्रस्तुत गर्न लागेको पूर्वसन्ध्यामा न्युजिल्यान्डमा लगाइएको बन्देज खुकुलो बनाउन लागिएको हो।

पाकिस्तानमा एकैदिन २ हजार संक्रमित बढ्यो

पाकिस्तानमा कोरोना भाइरसको प्रकोप देखिएयता पहिलो पटक एकै दिन नयाँ संक्रमणको संख्या दुई हजारभन्दा बढीले देखिएको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले लकडाउनलाई सहज बनाएर विभिन्न राष्ट्रमा अड्केर रहेका आफ्ना नागरिकलाई देशमा फिर्ता ल्याउने तयारी गरिरहँदा संक्रमितको संख्यामा अधिक वृद्धि आएको हो।

लकडाउनको बेवास्ता गरी विभिन्न सहर तथा केन्द्रहरूमा थुप्रिएर बसेका ठूलो संख्याका पाकिस्तानी नागरिकले लकडाउनलाई सहज बनाउने घोषणाको स्वागत गरेका छन्।

यद्यपि मुस्लिम धर्मालम्बीको रमादान पर्वको सुरुवातसँगै मस्जिद बन्द गराउन नमानेर कोभिड–१९ विश्व महामारीको गम्भीरतालाई अवमूल्यन गरेको भन्दै प्रधानमन्त्री खानको चर्को आलोचना भएको थियो। तर, लकडाउनले देशका अति गरिब जनसंख्या अत्यधिक मारमा पारेको उनको तर्क छ।

ट्रम्पसँग टाढिँदै पेन्स

आफ्नो प्रेस सेक्रेटरी कोरोना भाइरस ‘पोजिटिभ’ देखिएपछि अमेरिकी उपराष्ट्रपति माइक पेन्स राष्ट्रपति ट्रम्पबाट केही दिनका लागि टाढिने ह्वाइटहाउसकी प्रवक्ता केली मेइनानइले मंगलबार पत्रकारलाई जानकारी दिइन्।

गत साताको कोरोना परीक्षणमा प्रेस सेक्रेटरी क्याटी मिलर संक्रमित देखिएकी थिइन्। त्यसपछि उनी यस साता आयोजित रोज गार्डेन न्युज कन्फ्रेन्समा पनि सहभागी भइनन् भने शनिबारको यूएस मिलिटरी एन्ड नेसनल सेक्युरिटी अफिसियलसँगको बैठकमा पनि भाग लिइनन्।

‘उपराष्ट्रपतिले केही दिनका लागि दूरी कायम गर्न चाहेकी छन्,’ मेइनानईले पत्रकारसँग भनिन्। आफ्ना सेक्रेटरीमा संक्रमण पुष्टि भएपछि पेन्सको पनि परीक्षण गराएकोमा नेगेटिभ रिपोर्ट आएको थियो। तर उनले केही दिनका लागि सेल्फ आइसोलेसन (एकान्तवास) मा रहने निर्णय गरेकी हुन्।

सिंगापुरले भन्यो– ‘हर्ड इम्युनिटी’को मूल्य अति चर्को

भ्याक्सिनको विकास नहुँदासम्म कोराना भाइरस संक्रमणलाई नियन्त्रणमा लिने भन्दै सिंगापुरले यस रोगविरुद्धको लडाइँमा हर्ड इम्युनिटीको रणनीति अस्वीकार गरेको छ।
‘हाम्रा लागि यस (हर्ड इम्युनिटी) को मूल्य अति चर्को छ,’ त्यहाँको स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा निर्देशक केन्नेथ माकले भने, ‘हर्ड इम्युनिटीको अस्त्रले स्वास्थ्यसेवा क्षमतालाई बढाउने लगायतको संक्रमणको संख्यामा वृद्धि हुनुपूर्व नै अँगालिने पूर्वतयारीको कदम कमजोर बनाउँछ।’

हरेक दिन सयभन्दा बढी नयाँ संक्रमण देखिएका कारण सिंगापुरले आमनागरिकको स्वास्थ्य परीक्षणलाई आक्रामक रूपमा अगाडि लैजान लागेको जनाएको छ।

फेसबुकद्वारा मास्क र सुरक्षासामग्री बिक्रीसम्बन्धी २५ लाख प्रचारको खारेजी

भाइरस प्रभावित नागरिक तथा आम उपभोक्तालाई मूल्यमा ठगी, नक्कली सामान वा खतरनाक सामग्रीको सम्भाव्य प्रयोगबाट जोगाउन फेसबुकले मार्चको सुरुदेखि हालसम्म मास्क, स्यानिटाइजर एवं क्लिनिङ वाइप तथा कोभिड–१९ परीक्षण सामग्रीलगायतको बिक्रीसम्बन्धी प्रचारजन्य २५ लाखभन्दा बढी ‘पोस्ट’लाई हटाएको जनाएको छ।
त्यसका लागि यस अमेरिकी सामाजिक मिडिया कम्पनीले हातहतियार तथा लागूऔषध बिक्रीसम्बन्धी पोस्टलाई हटाउन प्रयोग गरेको ‘समान तस्बिर पहिचान’ को प्रविधि प्रयोग गरेको थियो।

‘जातिवादी आक्रोश’का लागि ब्रायन एडम्सद्वारा क्षमायाचना

कोरोना भाइरस प्रकोपको उत्पत्तिका लागि उहानको पशुबजारमा जीवजन्तुमाथि हुने दुव्र्यवहारलाई जिम्मेवार ठहर गरी इन्स्टाग्राम पोस्टमा चिनिँया नागरिकविरुद्ध अपशब्दको प्रयोग गरेको कारण चर्चित क्यानेडेली गायक तथा संगीतकार ब्रायन एडम्सले संसारभरबाट चर्को आलोचना खेपे। त्यसको एक दिनपछि मंगलबार नै उनले इन्स्टाग्राम पोस्टमार्फत आफ्नो अघिल्लो पोस्टका कारण ‘अपमामित भएका जो कसैसमक्ष’ क्षमायाचना गरेका हुन्।
‘सो चिनिँया बजारमा जनावरमाथि हुने त्रासद निर्ममताको तीव्र विरोध गर्दै मानिसलाई शाकाहारी बन्न उत्प्रेरितमात्र गर्न खोजेको थिएँ,’ समर्थकसँग माफी माग्दै एडम्सले भने।

थुकेको घटनामाथि लन्डन प्रहरीको अनुसन्धान

कोरोना भाइरस संक्रमणको शंका गरिएको एक व्यक्तिले थुकेका कारण लन्डन रेलसेवामा टिकट अधिकृतको रूपमा कार्यरत एकजना कर्मचारीको कोभिड–१९ को कारण मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

रेलसेवाको एक टे«ड युनियन अधिकारीका अनुसार लन्डनको भिक्टोरिया स्टेसनमा कार्यरत सहकर्मी बेली मुजिङ्गा र अर्को एक जना सहकर्मीमाथि एक अपरिचित व्यक्तिले थुक्नुका साथै उनीहरूतर्फ हेर्दै खोकेका थिए। सोको केही दिनपछि दुवैजना बिरामी परेका थिए। अप्रिल ५ मा लन्डन हस्पिटलमा उपचाररत मुजिङ्गाको मृत्यु भएको थियो। मुजिङ्गाको श्रीमानका अनुसार उनी पहिल्यैदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित थिइन्।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले उक्त आक्रमणलाई ‘घृणित’ को संज्ञा दिएका छन्।

भेनेजुएलामा लकडाउन लम्बिने

भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोले कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएको राष्ट्रव्यापी लकडाउनलाई अर्को महिनासम्मका कायम राखिने घोषणा गरेका छन्।

-एजेन्सीबाट अनुवादित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय