सेतीमा ओपिडी सुचारु भएसँगै बिरामीको चाप बढ्यो, दुई दिनमै ४ सय बढीले लिए सेवा

मोहन जोशी/धनगढी
प्रकाशित
२०७७ वैशाख ३१ गते १८:५०

कोरोना मुक्त बनेको सेती प्रादेशिक अस्पतालमा ओपिडी सेवा सञ्चालन भएसँगै स्वास्थ्य चेकजाँच गर्न आउने विरामीको संख्या बढेको छ।

मंगलबार सुचारु भएको ओपिडी सेवा लिन दुई दिनमा ४ सय बढी बिरामी आएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेका अनुसार लकडाउन अघि भने दैनिक ७ सय बढी मानिसले उपचार सेवा लिँदै आएका थिए।

कोरोना रोग नियन्त्रणका लागि सरकारले जारी गरको लकडाउनका कारण अस्पताल पुग्न समस्या भएको तथा धेरै नागरिकलाई ओपिडी सेवा सुचारु भएको बारेमा जानकारी नहुँदा सुरुवाती दिनमा उपचार गराउन आउने विरामीको संख्या कम भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। ‘अस्पतालमा पहिलेकै जती वरामी आउन लकडाउन हट्नुपर्दछ,’ उनले भने, ‘अहिले कोरोनाको त्रसाका कारण पनि धेरै विरामीले उपचार गराउन अस्पताल पुग्ने साहस गरेका छैनन्।

ओपिडी सेवा सुचारु भएसँ‌गै विरामीलाई पूर्ण सुरक्षित तवरले उपचार सेवा दिने गरेको मेडिकल सुपरिटेण्डेण्ट पाण्डले बताए। ‘उपचारमा आउने विरामीलाई सामाजिक दूरी कायम गर्दै लाइनमा राख्ने गरेका छौं’ मेडिकल सुपरिटेण्डेण्ट पाण्डेले भने, ‘स्वास्थ्यकर्मीको सुरक्षा र विरामीको स्वास्थयलाई पनि राम्रोसँग ख्याल गरेका छौं।’

यस अघि कोरोना संक्रमित विरामीको उपचार गरेको भवनमा भने कुनैपनि विरामीको उपचार नगरिने उनले बताए। ‘कोरोना रोगीको उपचार गराइएका कोठामा कुनै पनि विरामीको सम्पर्क नहोस् भनेर ती कोठा सिल गरिएका छन्,’ पोण्डेले भने, ‘सो क्षत्रमा जाने काम पनि कसैको पर्दैन।’ सेतीमा कोरोना संक्रमितलाई मूलद्वारको उत्तरपट्टी रहेको शव गृह घर नजिकैको भवनमा उपचार गरिएको थियो।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो १ महिनासम्म नयाँ कोरोना संक्रमित विरामी नदेखिएको र पुराना विरामी उपचारपछि घर फर्किसकेको अवस्थामा मंगलबारदेखी ओपिडी सेवा सुचारु गर्ने निर्णय गरिएको थियो। चैत २९ गते कैलालीको लम्कीकी एक जना महिला अन्तिम कोरोनाको विरामीको रुपमा देखापरेकी थिइन्।

चैत ११ गतेदेखी बन्द गरिएको ओपिडी सेवा फेरी बन्द हुने अवस्था भने तत्काल नरहेको मेडिकल सुपरिटेण्डेण्ट पाण्डेले बताए। ‘प्रदेश सरकारले छुट्टै ५० सैयाको कोराना अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुर्‌याएको छ,’ मेडिकल सुपरिटेण्डेट पाण्डेले भने, ‘ठुलै संख्यामा विरामी देखिएमात्रै सेतीमा राखिन्छ, नत्र नयाँ अस्पतालमा विरामीलाई राखेर कोरोनाको उपचार गरिनेछ।’

निजीको खर्च थेग्न नसक्दा जोखिम मोलेर सेतीमा विरामी

मंगलबारदेखी सेती प्रादेशिक अस्पतालमा ओपिडि सेवा सुचारु भएसँगै जोखिम मालेर विरामी उपचारका लागि आउने गरेका छन्। यसरी सेतीमा उपचार गराउन आउने विरामीले निजी अस्पतालको सेवा शुल्क तिर्न नसकेका कारण बाध्य भएर सेती अस्पतालमा उपचार गराउन आउनु परेको प्रतिक्रिया दिएका छन्।

ढाड दुख्ने समस्याबाट ग्रसित बनेकी धनगढी–८ की ३८ वर्षीया मिथिला भण्डारीले निजी अस्पतालको महंगिका कारण लामो समयसम्म रोग पालेर बस्न बध्य भएको बताइन्। ‘सेती अस्पतालमा ओपिडी सेवा बन्द हुँदै मैले रोग पालेर बस्नु पर्ने बाध्यता थियो,’ उनले भनिन्,‘निजी अस्पतालमा जान मसंग आर्थिक समस्या थियो।’

पेट सम्बन्धी रोगको उपचारका लागि सेती अस्पतालको ओपिडी लाइनमा पुगेका वडा मबर–८ कै निष्चल रानाले निजी अस्पतालमा महंगो सेवा भएका कारण सेतीमा जोखिम मोलेर भएपनि उपचार गराउन आएको बताए। ‘अस्पतालमा कोरोनाका विरामीले उपचार गराएका कारण जोखिम हुन्छ भन्ने सुनेको थिए,’ उनले भने, ‘एउटा रोगबाट बच्न अर्को रोग पाल्न सकिँन, निजीमा जान खर्चको समस्या छ।

नेपालमा कोरोना संक्रमण देखापरेपछि निजी अस्पताल संघले निजी अस्पतालमा उपचार गराउँन आउने विरामीलाई औषधी बाहेकको सेवामा २० प्रतिशत सम्म छुट दिने घोषणा गरेको भएपनि निजी अस्पताललले सो निर्णयलाई समेत बेवास्ता गरेको विरामीको आरोप छ। धनगढी स्थित निसर्ग अस्पतालमा छोराको उपचार गरेका वडा मम्बर–३ का नवराज विष्टले अस्पतालको इन्ट्रि शुल्क देखी वेड चार्ज र अन्य सुविधामा आफुले कुनै छुट नपाएको बताए।

‘रगतको समस्या देखापरेपछि मैले छोरालाई’ दुई दिन सम्म अस्पताल भर्ना गरेको थिए,’ उनले भने, ‘त्यहाँ मलाई कुनै छुट दिइएन, पहिलेकै रेटमा सवै शल्क तिरेर उपचार गराए।’ यसै गरी धनगढी स्थित नोभा अस्पतालमा उपचार गराएकी निशा जोशीले पनि उपचारमा कुनै छुट नपाएको बताइन्। ‘इन्ट्रि शुल्क पाँचसय यथावत थियो’ उनले भनिन्,‘अन्य सेवामा पनि पहिलेकै जति शुल्क लिने रहेछन्, छुटको कुरै हुँदैन।’

निजी अस्पताल संघ कैलालीका अध्यक्ष जनकराज जोशीले भने सवै निजी अस्पतालले उपचारमा छुट दिएको दावी गरे। ‘निजी अस्पताल महाँसंघ काठमाडौंले नै औषधी बाहेकको सेवामा २० प्रतिशत छुट दिने निर्णय गरेसँगै जिलका सवै अस्पतालले यो निर्णय मान्दै आएका छन्,’ उनले भने,‘यदी कसैले निर्णय नमानेको भए पुनः सम्झाइने छ।’
लकडाउनका कारण निजी अस्पताललाई बैंकको ऋण र कर्मचारीको तलब दिन पनि नसक्ने अवस्था आएका छ,’ उनले भने,‘जसका कारण निजी अस्पताल सञ्चालक मानसिक रोगको सिकार बन्न थालेका छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय