काठमाडौं छिरेकाहरू टेकु अस्पतालमा लाम
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षण गर्ने भीड बढेको छ। बिहानैदेखि कति बेला ओपिडी खुल्छ र कोरोना जाँच गराउँला भन्ने संख्या दिनप्रतिदिन बढ्दै गएको छ। बुधबारमात्र ५ सयभन्दा बढी व्यक्ति कोरोना परीक्षण गर्नेका लागि अस्पताल पुगेका छन् ।
घरबेटीको दबाबले उनीहरु कोरोना भए नभएको परीक्षण गराउन अस्पताल पुग्ने गरेका छन्।
२–३ दिनदेखि कोरोना भाइरस (कोभिड १९) नमुना परीक्षण गराउन आउनेको संख्या दिनहुँ बढिरहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी गराए ।
सोमबार १ सय ५० र मगंलबार २ सय ६० नमुना परीक्षण गराउन आएको अस्पतालको तथ्यांक छ । बुधबार ३ हाराहरीको स्वाव लिइरहेको अस्पतालल प्रशासनले बताएको छ ।
परीक्षण गराउन आउने ६० प्रतिशतभन्दा बढी बाहिरबाट काठमाडौं भित्रिएका
मंगलबार काठमाडौंमा भेटिएका संक्रमितमध्ये दुई जना तराईका जिल्लाबाट मोटरसाइकलमा आएका हुन्। तराईका कोरोना उच्च जोखिमयुक्त क्षेत्र रहेपछि प्रहरीको आँखा छलेर राजधानी आउने क्रम बढिरहेको छ ।
‘परीक्षण आउने व्यक्तिको ट्राभल हिस्ट्री लिँदा अशिंकास व्यक्ति लुकिछिपी आएका छन्,’ डा. भण्डारीले हेल्थपोस्टनेपालसँग भने, ‘खाद्य सामग्री बोकेर आएका सवारीमा आउने धेरै पाइएको छ ।’
परीक्षण गर्न आउने अधिंकास व्यक्ति डेरामा बस्नेहरू रहेको उनले सुनाए । बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई विभिन्न स्थानका घरधनीले ‘कोभिड’ टेस्ट गराएपछि मात्र घरमा बस्न दिने गरेकाले परीक्षण गर्नेको संख्या बढिरहेको हो ।
शस्कास्पद देखिएको लक्षण देखिएका र संक्रमण पफैलिएको जिल्लाहरुका मात्र परिक्षण गर्ने गरेको अस्पतालले जनाएको छ ।
दुई सातादेखि भाडामा बस्ने मानिसहरूको कोरोना परीक्षण गर्ने संख्यामा वृद्धि भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
‘घरबेटी भन्छन्, कोरोना नभएको प्रमाण ल्याउ, चिकित्सक भन्छन्, परीक्षण गर्न पर्दैन’
कोरोना जाँच गराउनको लागि सिन्धुपाल्चोक घर भएका ३६ वर्षे रमेश दवाडी विहानै अस्पताल पुगे ।तर, उनलाई कोरोनाको कुनै लक्षण नभएको भन्दै चिकित्सकले परीक्षण गर्न मानेन ।
‘घरबेटीको दबाबको कारण कोरोना जाँच गर्ने बिहान देखि हिडेर अस्पताल आए । घरबेटी भन्छन् घरमा बस्ने हो भने कोरोना नभएको प्रमाण ल्याउ, डाक्टर भन्छन्, तपाईलाई कुनै लक्षण छैन, परीक्षण गर्न पर्दैन दवाडीले हेल्थपोस्ट कुरागर्दे भने,‘ बेलुकी बस्नको लागि ठाउँ पनि छैन ।’
दवाडी जस्ता समस्या लिएर आउने सयौँ संख्या कोरोना परीक्षण गर्न अस्पताल आउने गरेका छन् ।
कोभिडका लक्षण देखिएका, संक्रमित क्षेत्रबाट आएका र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको मात्र कोरोना परीक्षण गरिएको डा. भण्डारीले जनाए ।
‘पहिला विदेशबाट आउने व्यक्तिको कोरोना परीक्षण हुने गरेको थियो । अहिले मुख्यतयः संक्रमण फैलिएको जिल्लाबाट आउनेको परीक्षण गरिन्छ,’ डा. भण्डारीले भने, ‘सबैलाई परीक्षण गर्ने जरुरी छैन ।’
हाल अस्पतालमा ३ जना पोजेटिभ र ४ जना कोरोना आशंकाका कारण आइसोलेसनमा रहेका छन् । चार जनाको रिपोर्ट आउनेक्रममा रहेको अस्पतालले जनाएको छ ।
कोरोना परीक्षणका लागि आउनेमध्ये अधिकांश काठमाडौं जिल्ला बाहिरका रहेका छन् । अधिकास जनकपुर, पर्सा, धादिङ, काभ्रे, सिन्धुपाल्चोकको रहेका छन् ।
केही दिनयता कोरोना संक्रमणको दर बढ्दै गएको छ । मंगलबार एकैदिन ८३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमित २ सय १९ पुगेको छ । त्यसमध्ये १ सय ७६ पुरुष र ४३ महिला रहेका छन् ।
सबैभन्दा बढी प्रदेश २ मा ९६ जना संक्रमित छन् । प्रदेश ५ मा ७२, प्रदेश १ मा ३५, सुदूरपश्चिम प्रदेशमा ५, वागमतीमा ९ र गण्डकी प्रदेशमा २ संक्रमित छन्।