चन्द्रागिरिका मेयर गिरी भन्छन्– संक्रमित महिलालाई धन्यवाद दिनुपर्छ

कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भएसँगै नेपालमा पनि भाइरस तीव्र रूपमा फैलिरहेको छ।

भाइरसको संक्रमण भए पनि समाज तथा आफन्तले के पो सोच्लान्? भाइरस पत्ता लाग्यो भने अपहेलित पो हुनुपर्ने हो कि सोचेर सर्वसाधारण स्वास्थ्य परीक्षण गर्न समेत डराइरहेका छन्। उनीहरूलाई आफ्नोभन्दा समाजको डर छ।

कोरोनाको संक्रमण भएपछि मर्ने र सबैले छिः छिः दुरदुर गर्छन् भन्ने मानसिकता विकसित भएकाले स्वास्थ्य परीक्षण गराउनेको संख्या न्युन छ।

यसै मानसिकतालाई चिरेकी छन् कञ्चनपुरबाट वैशाख २९ गते काठमाडौं आएकी चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ मा बस्ने एक महिलाले।

उनी कञ्चनपुरबाट आउनेबित्तिकै स्वास्थ्य परीक्षणका लागि बलम्बुस्थित सशस्त्र प्रहरी बलको सरकारद्वारा घोषित कोभिड–१९ अस्पताल पुगेकी थिइन्। मंगलबार स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको थियो।

३३ वर्षीया ती महिलामा कोरोना पोजेटिभ देखिएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगिएको हो।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले कोरोना पोजेटिभ देखिएकी ती महिला सचेत नागरिक भएर अरुलाई जोखिममा नपारी स्वास्थ्य परीक्षण गर्न जानुले उहाँलाई धन्यवाद दिनुपर्ने बताए।

‘महामारीले नागरिक स्वास्थ्य परीक्षण गर्न समेत डराइरहेको अवस्थामा उहाँले साहसिक काम गर्नुभएको छ,’ मेयर गिरीले भने, ‘संक्रमित क्षेत्रबाट आएका कारण उहाँ आफैं स्वास्थ्य परीक्षण गर्न जानुभयो, सचेत नागरिक बन्नुभयो। उहाँलाई धन्यवाद दिनुपर्छ।’

मेयरले संक्रमित महिला आउनेबित्तिकै आफ्नो स्वास्थ्य परीक्षण गर्न जानुले नगरपालिकामा भाइरसको जोखिम फैलन नपाएको बताए।

‘उहाँ सचेत नागरिक हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल आफैंले गर्नुभयो। उहाँका श्रीमान तथा बच्चालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौं। उहाँहरूको पनि स्वास्थ्य चेकजाँच गर्छौं,’ गिरीले भने।

नगरपालिकाले कोरोनाका लागि अहिलेसम्म २ सय १३ जनाको पिसिआर प्रविधिबाट परीक्षण गरेको मेयर गिरीले जानकारी गराए। उनले परीक्षण गरिएका कसैलाई पनि संक्रमण नदेखिएको बताए। नगरपालिकाले बाहिरी जिल्लाबाट आएकाको अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने भनेको छ।

संक्रमित भेटिएको वडा नम्बर ९ का अध्यक्ष देवेन्द्र महर्जन पनि संक्रमित महिलालाई धन्यवाद दिनुपर्ने बताउँछन्।

‘उहाँले कसैलाई जोखिममा पार्न चाहनुभएन। शंका लागेर स्वास्थ्य परीक्षण गर्न जानुभयो। सबैको स्वास्थ्यको ख्याल गर्नुभयो,’ अध्यक्ष महर्जनले भने, ‘उहाँका श्रीमान र बच्चालाई सुरक्षाकर्मी तथा जनप्रतिनिधिले सान्त्वना दिनुका साथै होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौं। उहाँहरूको पनि स्वास्थ्य परीक्षणलाई पहल भइरहेको छ।’

वडामा अहिलेसम्म कोरोनाका लागि ५ जनाको स्वास्थ्य परीक्षण गरिएको र कसैमा पनि भाइरसको संक्रमण नदेखिएको अध्यक्ष महर्जनले जानकारी गराए।

संक्रमित महिला चैत ७ गते दाइको छोराको ब्रतबन्धका लागि महेन्द्रनगर गएकी थिइन्। वैशाख २९ गते उनी काठमाडौं फर्केकी हुन्। उनका श्रीमानसहित दुई बच्चा छन्।

उपत्यकामा अहिलेसम्म १० जनामा कोराना भाइरसको संक्रमण देखिएको छ। देशभर २ सय १९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। त्यसमध्ये ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय