जनकपुरका पत्रकार पनि कोरोना संक्रमित

मंगलबार राति कोरोना संक्रमित पुष्टिभएका धनुषा र महोत्तरीका चारजना मध्ये एक जना पत्रकार रहेका छन्। स्वास्थ्य मन्त्रालयले जनाएअनुसार मंगलबार राति धनुषाका दुई र महोत्तरीका दुईजनामा कोरोना संक्रमणको पुष्टि भएको थियो।

संक्रमितमा ४० वर्षीय पत्रकार, ३५ वर्षीय पुस्तक व्यवसायी र १८ वर्षीय किशोर रहेका छन्। उनीहरूलाई जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको छ भने अर्की २० वर्षीया महिलालाई लालगढस्थित क्वारेन्टाइनको आइसोलेसनमा राखिएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले धनुषामा कोरोना पोजिटिभ भेटिएकामध्ये एकजना जनकपुरधाम–२ बस्ने ४० वर्षीय पत्रकार हुन् भने अर्का एकजना मिथिला नगरपालिका–१० लालगढ माझी टोल बस्ने २० वर्षीया महिला हुन् ।

यसैगरी महोत्तरी घरभइ जनकपुरमा पुस्तक व्यवसाय गर्दै आइरहेका ३५ वर्षीय पुरुष र धनुषाको नगराईन नगरपालिकाको गंगुलीस्थित क्वारेन्टाइनमा रहेका महोत्तरीको बलवा नगरपालिका–१० घर भएका १८ वर्षीय किशोरमा कोरोना पुष्टि भएको निरौलाले बताए।

भारतको पटना बस्दै आइरहेका १८ वर्षीय महोत्तरीका किशोर वैशाख ६ गते धनुषा नाकाहुँदै नेपाल प्रवेश गरेको बताइएको छ। प्रहरीले खबर पाएपछि ती किशोरलाई गंगुलीस्थित क्वारेन्टाइनमा राख्न लगाएको थियो।

कोरोना संक्रमण देखिएका सबैजनालाई आइसोलेसनमा भर्ना गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिएका छन्।

यसैगरी कोरोना पुष्टि भएका सबैजनाको परिवारका सदस्यलाई पनि क्वारेन्टाइनमा पठाइएको निरौलाले बताएका छन्।

दुई महिनाअघि भारतबाट आएकी थिइन् २० वर्षीया महिला

धनुषाको मिथिला नगरपालिका–१० लालगढमा कोरोना संक्रमण देखिएकी महिला ‘लकडाउन’ हुनुभन्दा १० दिनअघि भारतको दिल्लीबाट फर्केको बताइएको छ ।

सुसरा बितेपछि श्रीमान र छोरासहित ती महिला चैत १ गते दिल्लीबाट घर फर्केको लालगढ स्वास्थ्य चौकीका इञ्चार्ज अशोक भण्डारीले जानकारी दिए ।

‘विदेशबाट आएकाहरुको हामीले तथ्यांक संकलन गरेका थियौं, उहाँहरु २४ जना सबैको आरडीटी निगेटिभ देखिएको थियो,’ भण्डारीले भने,‘पिसिआर गर्न २५ गते स्वाब संकलनपछि रिपोर्ट आउँदा पोजिटिभ देखिएको छ।’

धनुषाका प्रमुख जिल्ला अधिकारी निरौलाले कोरोना संक्रमण देखिएका सबैजनाको कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको बताए। ‘एकजना पत्रकारमा पनि कोरोना संक्रमण देखिएको छ, उहाँ क–कसलाई भेट्नु भयो, कहाँ पुग्नु भयो, ट्रेसिङ गर्ने काम भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय