बुद्ध एयरले ल्यायो पोखरा र चितवनको होलिडे प्याकेज

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख ३१ गते १०:०३

निजी वायुसेवा कम्पनी बुद्ध एयरले कोरोना भाइरस महामारी दृष्टिगत गरी उडान र होलिडे प्याकेज सार्वजनिक गरेको छ।

पर्यटकलाई सुरक्षित अनुभूति गराउँदै पहिलो चरणमा काठमाडौंवासीलाई पोखरा र चितवनका पर्यटन गन्तव्यमा आकर्षित गराउने योजना रहेको बुद्धले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘त्यसका लागि बुद्ध र भगिनी संस्था ‘बुद्ध होलिडेज’ मार्फत् पोखरा, घान्द्रुक, धम्पुस र चितवनका केही होटलमार्फत् साझेदारीमा पर्यटन प्रवर्द्धन गर्दैछौं,’ विज्ञप्तिमा छ, ‘संक्रमणरहित र सुरक्षित होलिडे प्याकेज सञ्चालनका लागि सांगठनिक लिखित निर्देशिका तयार गरेका छौं।’

उडान र होलिडे प्याकेज सरकारको उडान सञ्चालन गर्न दिने निर्णयअनुसार आगामी जुन १ तारिखबाट बजार व्यवस्थापन गरी सञ्चालन गर्ने निर्णय गरेको बुद्धले उल्लेख गरेको छ।

लकडाउन बढेको खण्डमा त्यसैअनुसार नयाँ मिति तोक्ने जनाइएको छ। लकडाउनपछि सुरुवाती महिनामा काठमाडौंका आन्तरिक पर्यटकलाई ‘सुरक्षित निर्देशिका’ अन्तर्गत चितवन र पोखरामा सुरक्षित अवतरण तथा यात्रा गराउन सके पर्यटनका लागि एउटा ठूलो उदाहरण बन्न सक्ने धारणा विज्ञप्तिमा व्यक्त गरिएको छ।

‘निकट भविष्यमै चीन र भारतीय पर्यटकलाई यस्तै उदाहरण देखाइ ठूलो संख्यामा भित्र्याउन सक्छौं,’ विज्ञप्तिमा छ।

बुद्धले महामारीमा कर्मचारी र यात्रुलाई सुरक्षित राख्ने हिसाबले ‘सुरक्षा निर्देशिका’ जारी गरिसकेको छ। यसलाई बुद्ध एयरका सम्पूर्ण कार्यस्थलमा लागू गरिसकेको विज्ञप्तिमा उल्लेख छ। र, उडानमा पनि लागू गर्ने जानकारी दिइएको छ।

बुद्धले प्रतिपर्यटक पोखराको दुई दिने प्याकेज होटल र उडानसहित ५ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ। चितवनको दुई दिनको पर्यटकीय प्याकेज होटल र उडानसहित १३ हजार ९ सय ९९ तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय