नारायणी अस्पतालमा बेड अभाव, कोरोना संक्रमितलाई स्कुलको क्वारेन्टाइनमा पठाइयो

पर्सामा कोरोना संक्रमितको संख्या बढेपछि उपचारमा समस्या भएको छ। वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा बेड कम भएपछि उपचारमा समस्या भएको हो।

नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न ५० बेडको व्यवस्था गरिएको छ। २९ जना कोरोना संक्रमित अहिले त्यहाँ उपचारको लागि भर्ना छन्। तर, मंगलबार एक्कासी ३९ जना कोरोना संक्रमित थपिएपछि नारायणी अस्पतालमा उपचारमा समस्या भएको बताइएको छ।

नारायणी अस्पतालमा बेड कम भएपछि नयाँ संक्रमितमध्ये कतिपयलाई वीरगञ्जस्थित सिद्धार्थ स्कुलको क्वारेन्टाइन पठाइएको छ भने केहीलाई नारायणी अस्पतालमा भर्ना गरिएको छ।

नारायणी अस्पतालका प्रमुख डा.मदन उपाध्यायले समेत कोरोना संक्रमितको संख्या थपिएपछि चुनौती थपिएको बताए। ‘हामीसँग ५० बेडको व्यवस्था छ, २९ जना यसअघिदेखि भर्ना छन्,’ हेल्थपोस्टसँग कुरा गर्दै डा.उपाध्याले भने,‘चुनौती थपिएको छ, तर हामी समाधान गर्नतर्फ लागेका छौं।’

नारायणी अस्पतालका प्रमुख उपाध्याले दुईजना पत्रकारमा कोरोना संक्रमणको पुष्टि भएको बताए। ‘निरन्तर फिल्डमा घुमि रहने भएकोले उहाँहरूले स्वस्फूर्त रुपमा स्वाब परीक्षण गराउनु भएको थियो, दुई जनामा पोजिटिभ देखिएको छ,’

उनले मंगलबार थपिएका कोरोना संक्रमितहरूलाई समेत नारायणी अस्पतालमै भर्ना गरिने दाबी गरेका छन्।

कोरोना महामारी रोकथाम गर्न लकडाउन भएको दुई महिना पुग्न केहीदिनमात्र बाँकी छँदा प्रदेश सरकारले कोरोना संक्रमितको उपचार गर्न जनकपुरबाहेक अन्य कुनै अस्पतालमा छुट्टै अस्पताल सञ्चालन गर्न सकेको छैन्। वीरगञ्जको गण्डक अस्पताललाई कोरोना अस्पताल बनाउन माग भइरहेपनि निर्माणले तिव्रता पाउन सकेको छैन्।

प्रदेश २ लाई कोरोनाको उच्च जोखिम क्षेत्रको रुपमा देखिएको बेला आवश्यक पूर्वाधार तयार नहुँदा थप समस्या बल्झिन सक्ने भन्दै चिकित्सकहरूले सचेत गराएका छन्।

वीरगञ्जका पत्रकारमा त्रास

मंगलबार ३९ मध्ये दुईजना पत्रकारमा समेत कोरोनाको पुष्टि भएपछि वीरगञ्जका पत्रकारहरू त्रसित बनेका छन्। दुईजना अगुवा पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू त्रासमा आएका हुन्।

नारायणी अस्पतालका प्रमुख उपाध्याले दुईजना पत्रकारमा कोरोना संक्रमणको पुष्टि भएको बताए। ‘निरन्तर फिल्डमा घुमि रहने भएकोले उहाँहरूले स्वस्फूर्त रुपमा स्वाब परीक्षण गराउनु भएको थियो, दुई जनामा पोजिटिभ देखिएको छ,’ उनले भने।

चार दिनअघि वीरगञ्जमा प्रहरीले पत्रकारमाथि दुर्व्यवहार गरेको घटनालाई लिएर पत्रकारहरू आन्दोलित छन्। उनीहरू वीरगञ्जको घण्टाघरमा जम्मा भएर प्रहरीविरुद्ध प्रदर्शनसमेत गरेका थिए। साथै पत्रकार दुव्र्यवहारको विषयलाई लिएर वीरगञ्जका पत्रकारहरू प्रमुख जिल्ला अधिकारी तथा पर्साका प्रहरी प्रमुखसँग छलफलसमेत गरेका थिए।

दुईजना पत्रकारमा कोरोना पुष्टि भएपछि अन्य पत्रकारहरू पनि स्वाब परीक्षण गराउने सोचमा पुगेको वीरगञ्ज घर भएका नेपाल पत्रकार महासंघ प्रदेश २ समितिका अध्यक्ष दीपेन्द्र चौहानले जानकारी दिए। फिल्डमा निरन्तर काम गर्नुका साथै सँगै उठबस हुने भएकोले सबैजना स्वाब परीक्षण गर्ने सोचमा पुगेको उनले बताए।

‘दुईजना साथीमा कोरोना पुष्टि भएको छ, उहाँहरूसँगै अरु ८/१० जनाले स्वाब परीक्षण गराउनु भएको छ,’ उनले भने,‘उहाँहरूको रिपोर्ट आइसकेको छैन्। संख्या बढ्नसक्ने आशंका गरेका छौं।’

अध्यक्ष चौहानले कोरोनाको जोखिम बढि रहेको भन्दै अत्यावश्यकबाहेक अन्य रिपोर्टिङका लागि घर बाहिर ननिस्कन पत्रकारहरूलाई आग्रहसमेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय