चितवनमा अत्यावश्यक सेवा सञ्चालनका लागि मापदण्ड बनाइयो

बसन्त ढुंगाना/चितवन
प्रकाशित
२०७७ वैशाख ३० गते १८:०४

जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक सेवा सञ्चालनका लागि मापदण्ड बनाएको छ। औषधी, स्वास्थ्य सामग्री जस्ता अत्यावश्यक वस्तुको उत्पादन, विक्रि वितरण, कृषि र पशुजन्य उत्पादन तथा विक्रि वितरण, औद्योगिक क्षेत्रको सेवा सञ्चालन र सरकारी तथा गैरसकारी कार्यालय एवम् बैंक, वित्तिय संस्था सञ्चालनका लागि मापदण्ड बनाएको हो।

कोभिड १९को संक्रमण रोकथाम र नियन्त्रणका कार्यलाई यथावत राख्दै जनजीवनलाई क्रमश: सामान्यतर्फ लैजान जेठ ५ गतेसम्म लागुहुनेगरी नयाँ मापदण्ड बनाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

बैंक तथा वित्तिय संस्थाहरूले कर्मचारीहरूलाई आलोपालो गरी परिचालन तथा व्यवस्थापन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। ‘बैंक तथा वित्तिय संस्थाले कोभिड १९ को संक्रमणको जोखिम नहुने गरी सेवा प्रवाहको योजना बनाई जिल्ला प्रशासन कार्यालय र नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनुपर्ने छ। त्यसरी सेवा प्रबाह गर्दा संस्थाका कर्मचारीहरु मध्ये बढीमा एक तिहाई कर्मचारमात्र उपस्थित भई सेवा सञ्चालन गर्नुपर्ने हुन्छ,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, ‘सेवाग्राहीलाई आफ्नो नजिकमा रहेको बैंक तथा वित्तिय संस्थाबाट सेवा लिन अनुरोध गर्दै आफ्ना सेवाग्राहिलाई दुई मिटरको दुरीमा राखेर सेवा दिनुपर्छ।’

सेवा प्रवाह गर्ने सरकारी कार्यालय, बैक, वित्तिय संस्था, विमा कम्पनीहरूले कोभिड १९ को जोखिम नहुने गरी सेवा प्रबाहको व्यवस्थापन राम्रोसंग नगरेमा सेवा बन्द गरिने उनले चेतावनी समेत दिए।

यस्तै दाना तथा उत्पादित दुध, माछामासु र अन्डा ओसारपसारमा स्वास्थ्य सम्बन्धी सावधानी नआपनाएको अवस्थामा रोक लगाइने उनले बताए। कोभिड १९ को संक्रमण देखा परेका जिल्ला र विदेशबाट तरकारी तथा फलफूल दूध तथा माछामासु आयातमा निषेध गरिएको छ।

स्वास्थ्य सेवा सञ्चालनका लागि पनि मापदण्ड बनाइएको छ। सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित अस्पताल, नर्सिङ्ग होम, पोलिक्लिनिक, ल्याब, डाइग्नोष्टिक सेन्टर, आयुर्वेद, नेचुरोप्याथीक, होमियोप्याथीकले नियमित रुपमा सबै प्रकारका स्वास्थ्य सेवा सञ्चालन अनुरोध गरिएको छ। सेवाग्राहीहरूलाई सकेसम्म आफ्नो नजिकमा रहेको स्वास्थ्य संस्थाबाट सेवा लिन जिल्ला प्रशासनले आग्रह गरेको छ।

विशेष अवस्था परी नजिकको स्वाथ्य संस्थाबाट सेवा लिन नसकी स्वास्थोपचारका लागि सवारी साधन प्रयोग गर्नुपरेमा प्रहरीलाई सम्पर्क गर्न भनिएको छ। औषधी तथा निमार्ण सामाग्री बोक्ने सवारीसाधनमा चालक सहित दुई जना व्यक्ति मात्र बस्नुपर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। सवारी पास छल्ने उद्देश्यले निजी सवारी साधनमा औषधी बोकेर हिड्न नपाइने उनले बताए।

विकास निर्माणको काम गर्ने श्रमिकहरूलाई सम्बन्धित आयोजनाले कार्यस्थलमानै आवासको व्यवस्था गर्न निर्देशन दिइएको छ। त्यसरी आयोजनास्थलमै बसोबास गराउन स्थान अभाव भएमा स्थानीय तहको समन्वयमा सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने उनले बताए।

साथै सेवाग्राही सेवा लिन जाने बैंक तथा वित्तिय संस्था अस्पताल सरकारी कार्यालय पसलहरू लगायत सबै स्थानमा २ मिटरको भौतिक दूरी अनिवार्य रुपमा कायम गर्न अनुरोध गरिएको छ। सेवा प्रदायक तथा सेवाग्राही सबैले साबुन पानीले ६० सेकेन्डसम्म हात धोएर वा सेनिटाइजर प्रयोग गरेर मात्र भित्र प्रवेश गर्न भनिएको छ।

साथै नेपाल सरकारको निर्णय अनुसार मानिसहरूको आवागमन निषेध गर्न जारी भएको आदेश कार्यान्वयन स्थितिको समिक्षा गर्दा जिल्लाभरको अवस्था सन्तोषजनक रहेको जिल्ला प्रशासन कार्यालय चितवनले बताएको छ । यद्यपि चितवनमा पछिल्लो समयमा लकडाउन खुकुलो बन्दै गएको छ। बजारहरुमा सवारी साधानहरुको चाप अत्याधिक बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय