स्थानीयको आरोप छ– नगरपालिकाकै मिलेमतोमा कुहिएको चामल वितरण

मोहन जोशी/धनगढी
प्रकाशित
२०७७ वैशाख ३० गते १४:२२

धनगढी उपमहानगरपालिकाले राहतमा वितरण गरेको खाद्यान्न (चामल) मंगलबार वडा नम्बर २ र ५ मा पनि कुहिएको भेटिएको छ ।

यसरी लगातार वडाहरूमा वितरण गरिएको चामल कुहिएको भेटिन थालेपछि स्थानीयले नगरपालिकाका मेयरकै मिलेमतोमा उक्त चामल वितरण भएको आरोप लगाएका छन् ।

सोमबार वडा नम्बर–४ मा कुहिएको चामल फेला परेको थियो । मंगलबार वडा नम्बर २ र ५ का १० जनाभन्दा बढी नागरिकले राहतमा पाएको उक्त चामल कुहिएको भन्दै फिर्ता गरेका छन् । धनगढी–२ की मीना कार्कीले राहतमा पाएको चामल खोलेर हेर्दा किरा परेको भेटिएपछि फिर्ता गरेको बताइन् ।

उनले स्थानीय सरकारको मिलेमतोमै कुहिएको चामल ल्याइएको आरोप लगाइन् । ‘नगरपालिकाको मिलेमतो नभई कम्पनीले कुहिएको चामल उपलब्ध गराउन सक्दैन,’ उनले भनिन्, ‘यसमा सरासर मेयरको दोष छ, प्रशासनले छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्दछ ।’

आफूहरूजस्तै वडाका धेरै नागरिकले प्राप्त गरेको चामल कुहिएको भेटिएको उनको दाबी थियो ।

धनगढी–४ का स्थानीय मदन पाण्डेले पनि नागरिकलाई कुहिएको चामल वितरण गरिनुमा मेयर जिम्मेवार हुनुपर्ने बताए । ‘हामीले नगरबाट राहत पाएका हौं,’ उनले भने, ‘अरुलाई दोष दिएर मेयर उम्किन सक्दैनन् ।’ उपमहानगरकै मिलेमतोमा नगरमा बिग्रिएको र कुहिएको चामल आएको उनको आरोप छ ।

धनगढी उपमहानगरपालिकाले राहतको चामल खरिदका लागि ठाकुर एग्रो इन्डस्ट्रिजलाई २ करोड ६१ लाख रुपैयाँमा ठेक्का दिएको थियो । सम्झौताअनुसार ठाकुर एग्राले मध्यम मसिनो चामल, चिनी, तेल, नून र दाल उपलब्ध गराएको हो ।

हाल कुहिएको चामल देखिएको वडा नम्बर २, ४ र ५ मा १५ किलोको प्याकेटमा कुहिएको चामल देखिएको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बताए ।

उनले कुहिएको चामल उपलब्ध गराउने ठाकुर एग्रोलाई स्थानीय प्रशासन ऐनअनुसार कारबाही गर्न सिफारिस गरिएको छ । साथै १५ किलोको चामल पाएका सबै नागरिकलाई उक्त चामल फिर्ताका गर्न माग गरिएको उनले सुनाए ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कुहिएको चालम वितरण गर्नुमा कहाँ कसको कमजोरी हो भन्नेबारे छानबिन भइरहेको जानकारी गराए । ‘चामलको अवस्थाबारेमा जानकारी लिन संयुक्त अनुगमन टोली परिचालन गरिएको छ,’ प्रजिअ बोहराले भने, ‘क–कसको कमजोरी छ भन्ने छानबिन गरी दोषीमाथि कारबाही गरिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय