क्वारेन्टाइनका नेपालीलाई सीमामा ल्याएर छाडिँदै

लकडाउनको समयमा दुवै देशका नागरिकलाई सुरक्षित बस्न सबै सुविधा उपलब्ध गराउने नेपाल–भारत सरकारबीच सम्झौता भए पनि भारतले त्यसविपरीत कार्य गर्न थालेको छ।

भारतको उत्तर प्रदेश राज्यले आफ्नो स्थानमा बसेका नेपाली नागरिकमध्ये घर फर्कन इच्छुक नेपालीलाई सीमानाकासम्म पुर्याइदिने घोषणा नै गरेको छ। उत्तर प्रदेशले सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएका स्थानमा पछिल्लो समय लकडाउनसमेत खुकुलो बनाएको छ। त्यसकारण सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलासँग सीमा जोडिएका भारतीय जिल्लाबाट अहिले धमाधम नेपाली नागरिक सहजै सीमासम्म आउन थालेका छन्।

कैलालीसँग सीमा जोडिएको उत्तर प्रदेशस्थित खिरी जिल्लाबाट सीमामा आइपुगेका ९ जनालाई सोमबार सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ।

‘नियन्त्रणमा लिएका नागरिकलाई भारतको क्वारेन्टाइनमा राख्न पहल गर्दा यहाँ ठाउँ छैन भन्ने जवाफ आयो,’ सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रवक्ता भेषबहादुर शाहले भने, ‘भारतको जवाफपछि उनीहरूलाई सीमामै टेन्ट निर्माण गरेर राखेका छौं।’

भारतीय सेनाले क्वारेन्टाइनमा ठाउँ नभएको भन्दै बहाना बनाउने गरेका कारण सीमा आइपुगेका नेपालीलाई व्यवस्थित गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। हाल सीमामै टेन्टमा राखिएका ती नागरिकलाई के गर्ने भन्ने बारेमा गृह मन्त्रालयबाट कुनै निर्देशन नआएको उनले सुनाए। ‘अस्थायी टेन्टमा राख्दा हावाहुरी र सर्पको डर छ,’ प्रजिअ बोहराले भने, ‘माथिको निर्देशन नआएसम्म अर्को व्यवस्था गर्ने स्थिति पनि छैन।’

हाल कैलालीको सीमासँग जोडिएको पलियामा २ सय ८५ जनालाई तीनवटा क्वारेन्टाइनमा राखिएको छ भने कैलालीमा ६६ भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ।

यसैगरी कञ्चनपुरसँग सीमा जोडिएको पिलिभितबाट सोमबारमात्रै ७५ नेपाली नागरिकलाई उद्दार गरिएको छ। भारतको वनबासा क्षेत्रबाट सीमा नाका भएर लुकिछिपी आएका उनीहरूलाई भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ। उनीहरू भारतीय क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरू रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए। त्यसमा चार महिला छन्।

दार्चुलामा पनि महाकाली नदी तरेर नेपाल प्रवेश गर्नेक्रम नरोकिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए। भारतले महाकाली किनारमा सडक निर्माण गर्दा नदीमा खसेका ढुंगा माथि तरेर दार्चुलाको व्यास गाउँपालिकामार्फत उनीहरू नेपाल आउने गरेको सहायक प्रजिअ कुँवरले बताए। ‘तल्लो क्षत्रमा सुरक्षा कडाई गर्दा महाकाली तर्न नपाएका नेपाली व्यास हुँदै आउन थालेका छन्,’ उनले भने, ‘सो क्षेत्रमा सुरक्षाको उपस्थितिसमेत खासै छैन।’ दार्चुलामा २६ भारतीय नागरिक बसिरहेका छन् भने पिथौरागढमा हाल कुनै पनि नेपाली नरोकिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय