नेपाली सेनाले ल्याउने स्वास्थ्य सामग्री ग्वान्झाओ एयरपोर्टमै अड्कियो

चीनबाट खरिद गरिएको कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा आवश्यक पर्ने स्वास्थ्य सामग्री नेपाल आइपुग्न अझै समय लाग्ने भएको छ।

खरिद प्रक्रिया टुंगो लागेको दुई साता पुगिसक्दा पनि नेपाली सेनाले स्वास्थ्य सामग्री नेपाल ल्याउन नसकेको हो।

जिटुजी प्रक्रियाद्वारा नेपाली सेनाले चीनको सिनोफर्मा कम्पनीसँग ३४२ टन स्वास्थ्य सामग्री खरिद गरेको थियो। उक्त सामग्री नेपालसम्म ढुवानीका लागि सेनाले ललितपुरको फ्ल्यास फ्रेट कम्पनीलाई जिम्मा दिएको छ।

सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चिनियाँ पक्षले भन्सार जाँचपासमा ढिलाइ गरिदिएका कारण स्वास्थ्य सामग्री समयमा ल्याउन नसकिएको हो।

३४२ टनमध्ये तत्काल आवश्यक पर्ने ४७ टन सामान हवाई माध्यमद्वारा ल्याउने भनिए पनि हालसम्म भन्सार जाँचपास पूरा भइसकेको छैन।

सैनिक सूत्रका अनुसार सबै सामग्री ग्वान्झाओस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइसकेको छ। वैशाख २५ गतेबाट गतेबाट चिनियाँ पक्षले भन्सार जाँचपासको काम थालेको छ। २७ र २८ त्यहाँ सरकारी बिदा भएका कारण २९ गतेबाट पुन: जाँचपास थालिएको छ।

चीनले लेबलिङ र भेरिफिकेसनमा कडाइ गरेका कारण प्रक्रिया ढिलो भइरहेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए।

लेबलिङ र भेरिफिकेसन गरेर मात्र भन्सारले निर्यातको प्रमाण-पत्र दिने गरेको छ। एक-एक सामग्री हेरेर प्रमाणीकरण गर्दा ढिलो भइरहेको पाण्डेले बताए।

हाल ४७ टन सामग्रीको लेबलिङ र भेरिफिकेसनको काम भइरहेको छ। ‘यो प्रक्रिया सकिनेवित्तिकै दुई पटक वाइडबडी जहाज चार्टर्ड गरेर सामग्री ल्याइन्छ,’ पाण्डेले भने, ‘प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी आएको छ।’

तर, चीनले भन्सार जाँचपास र भेरिफिकेसनको काममा दिने सुविधाले नै ढुवानीको वास्तविक मिति तय हुने पाण्डेले बताए।

चीनसँग खरिद गरिएको स्वास्थ्य सामग्री आउन ढिलो भएपछि परराष्ट्र मन्त्रालय र सैनिक मुख्यालयले चीनसँग प्रक्रिया सहज बनाइदिन अनुरोध गरिसकेका छन्। ‘परराष्ट्र मन्त्रालयले सैनिक सहचारी तथा प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो च्यानलमा भन्सार जाँचपासको प्रक्रिया यथाशीघ्र गरिदिन अनुरोध भइसकेको छ,’ पाण्डेले भने।

सोमबार प्रधान सेनापति थापाले सैन्य च्यानलमा पत्राचार गरेका थिए भने परराष्ट्रले त्यहाँको सैनिक सहचारीसँग अनुरोध गरेको छ।

स्थलमार्गबाट आउने सामग्रीहरू भने वैशाख २२ गते नै ग्वान्झाओ विमानस्थलबाट प्रस्थान भइसकेका छन्। कन्टेनरमार्फत ग्वान्झाओबाट केही सामग्री हिँड्ने तयारीमा रहेको पाण्डेले बताए।

सेनाले चीनको सरकारी कम्पनी सिनोफर्मासँग ३४२ टन सामग्री खरिद गरेको छ। सामग्रीमध्ये तत्काल आवश्यक पर्ने पिपिई, कीट, मास्क, ग्लोब्सलगायत विमान चार्टर्ड गरेर ल्याउने तयारी सेनाको हो।

तर, चीन सरकारद्वारा भइरहेको जारी प्रक्रिया सहज नहुने हो भने स्वास्थ्य सामग्री आउन अझै एक साता लाग्ने सैनिक सूत्रले भन्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय