‘बिरामीको मुहारमा भरिएको खुसी नै नर्सको सम्पत्ति’

नर्सिङ पढ्न जाँदासम्म नर्सले के काम गर्छन् भन्ने थाहा थिएन। आफ्नै इच्छाले नर्सिङ पढेकी पनि होइनन्। गाउँकै विद्यालयबाट एसएलसी दिइन्। ३ महिनापछि गोरखापत्रमा एसएलसीको नतिजा प्रकाशन भयो।

एसएलसीमा पहिलो डिभिजन आएपछि शिक्षकले भनिदिए – ‘छोरी मान्छे त नर्स बन्नुपर्छ।’ त्यसपछि लमजुङ भोटेओडारकी सरिता कार्की पोखरा आइन्।

‘एसएलसीपछि के पढ्ने भन्ने अन्योल थियो। बावुआमा पनि पढेलेखेका नभएकाले सुझाव दिने कोही भएनन्,’ २५ वर्ष पुरानो दिन सम्झँदै उनले भनिन्, ‘शिक्षकले छोरी मान्छे नर्स बन्नुपर्छ भन्दासम्म मलाई नर्सले के काम गर्छन् भन्ने पनि थाहा थिएन।’

शिक्षकको सुझावअनुसार नर्सिङ पढ्न सरीता पोखरा आइन्। पोखरा नर्सिङ क्याम्पसबाट ०५६ सालमा स्टाफ नर्स भएर निस्किन्। पोखराबाट पढाइ सकेर निस्किएपछि सरिता धरान पुगिन्।

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करारमा ३ वर्ष काम गरिन्। पछि पढाउन थालिन्। वीर अस्पतालबाट नर्सिङमा स्नातक पूरा गरिन्।

स्नातकपछि त्यहीँ ५ वर्ष पढाइन्। पढाउँदै गर्दा महाराजगन्जको नर्सिङ कलेजबाट मास्टर्स गरिन्। त्यसपछि काठमाडौंको सैनिक नर्सिङ कलेजमा पढाइन्। १६ वर्ष पढ्दैपढाउँदै बित्यो।

पछि सरकारी जागिर खाने इच्छा जाग्यो। वरिष्ठ नर्सिङ प्रशासकका लागि लाकेसेवाको परीक्षा दिइन्। नाम निस्कियो। लाकेसेवा पास गरेपछि पहिलो पोस्टिङ भरतपुर अस्पतामा भयो।

२ वर्ष त्यहाँ काम गरेपछि कार्यथलो फेरियो। सेवा गर्न पोखरा आइपुगिन्। सरिता प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका १ सय ५० जना नर्सकी अभिभावक हुन्।

सरिता आजकल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रशासनिक भवनमा भेटिन्छिन्। बिहान ९ बजेदेखि ४ बजेसम्म त्यहीँ हुन्छिन्। कहिलेकाहीँ अपर्झट परे जुनसुकै समयमा पनि अस्पताल आइपुग्छिन्।

ड्युटीमा खटिएका नर्स गुनासो लिएर उनलाई भेट्न आउँछन्। कहिले कामको भार बढी भयो, कहिले कुरुवाले भनेको मान्नुभएन भन्ने गुनासो पोख्छन्। कहिले बिदा अनि कहिले तलबभत्ताका कुरा गर्छन्।

‘बिरामी निको भएपछि मुहारमा खुसी देख्दा पेशाप्रति गर्व लाग्छ। नर्सिङ आत्मसन्तुष्टिको पेसा हो,’ २१ वर्षको अनुभव साट्दै सरिता भन्छिन्, ‘जो अरुको करकाप र विदेश जानका लागि मात्र पढ्नुहुन्छ उहाँहरुलाई पेसाप्रति सन्तुष्टि हुँदैन ।’

नर्सलाई हर्ने दृष्टिकोणमा सकरात्मक परिवर्तन आएपनि बेरोजगारी दर बढिरहेको उनी बताउँछिन्। नर्सको उत्पादन र व्यवस्थापन दर नमिलेको उनले बताइन्।

‘नर्सिङ कलेजबाट जति उत्पादन भएका छन् त्यसअनुसार रोजगारी छैन,’ उनी भन्छिन्, ‘सरकारी अस्पतालमा आवश्यकताअनुसार दरबन्दी छैन। निजीले खर्चले धान्ने गरेरमात्र राख्छन्। त्यसबाहेक रोजगारी पाएका नर्सहरु पनि न्यून तलबमा काम गर्न बाध्य छन्।’

उनी कार्यरत अस्पतालमै अहिले १० जना नर्सले ३ सिफ्टमा ५० बेडकाबिरामीको रेखदेख गरिरहेका छन् । १ जना नर्सले ६ जना बिरामी हेर्नुपर्नेमा २० जनासम्म हेर्नुपर्ने बाध्यता छ । दुखाइ कम गर्न अस्पताल आएकाहरु निको भएर घर फर्किंदा पेसाप्रति गर्व महसुस हुने सरीता बताउँछिन् । उनकाअनुसार अहिले विदेश जानका लागि पनि नर्सिङ पढ्ने चलन बढेको छ ।

‘बिरामी निको भएर मुहारमा खुसी देख्दा पेसाप्रति गर्व लाग्छ । नर्सिङ आत्मसन्तुष्टिको पेसा हो,’ २१ वर्षको अनुभव साट्दै सरीता भन्छिन्, ‘जो अरुको करकाप र विदेश जानका लागि मात्र पढ्नुहुन्छ उहाँहरुलाई पेसाप्रति सन्तुष्टि हुँदैन । सेवाको हिसाबले लाग्नेहरु पक्कै सन्तुष्ट हुनुहुन्छ।’ बढुवा र पदोन्नतिको विषयमा नर्स पछाडि परेको र वर्षौंसम्म एउटै पदमा बस्न बाध्य भइरहेको उनी बताउँछिन् ।

उमेरले ४० पुगेकी उनले आधा जीवन बिरामीको सेवामा बिताइसकिन् । कहिले बिरामीको हप्की सहनुपर्‍याे। अनि कहिले भोक लाग्दा त्यसलाई भुलेर सेवामा खटिनुपर्‍याे। खुसी त त्यतिबेला लाग्थ्यो जब निको भएर घर फर्किएका बिरामी कोसेली लिएर भेट्न आउँथे । ‘कसैमा नर्ससँग रिसाउनै पर्छ भन्ने मानसिकता हुन्छ । हामीले राम्रो कुराभन्दा पनि नराम्रोसँग लिइदिनुहुन्छ । कति बिरामी सभ्य पनि हुनुहुन्छ । कोही त निको भएर घर फर्किएपछि कोसेली लिएर भेट्न आउनुहुन्छ,’ उनले अनुभव साटिन् ।

सरीताका ११ र ५ वर्षका २ छोरी छन् । अहिले विद्यालय बन्द रहेकाले घरमै बस्छन् । सरिताका श्रीमान् हिमालयन आँखा अस्पतालमा आँखा रोग विशेषज्ञ छन् । श्रीमान् सहयोगी भएकाले पनि काम गर्न उनलाई सहज भएको छ । मिलेरै खाने पकाउने गर्छन् । बिदा पनि पालैपालो बस्छन् ।

बेलुका घर पुगेपछि दुवैले सरितालाई भन्छन्, ‘भोलि अफिस नगए पनि हुँदैन र हामीलाई घर छोडेर गएको यति धेरै दिन भइसक्यो ।’ अनि कहिलेकाहीँ जिज्ञासा पनि राख्छन्, ‘नर्सको काम के हो नि ? तपाईंले के गर्नपर्छ ।’

विद्यार्थीका रुपमा काम गर्दा शिक्षक पछाडिबाट काम नियालिरहेका हुन्थे । कहिलेकाहीँ गल्ती हुन्छ कि भनेर डर लाग्ने गर्थ्याे उनलाई । आजकल ढुक्क भएर काम गर्छिन् । मनमा आफ्नो कारणले कसैलाई क्षति नहोस् भन्ने नै हुन्छ ।नर्सहरुको अभिभावक भएकाले पनि आजभोलि ड्युटीमा खटिएकालाई हौसला थप्छिन् । ‘पहिले पढ्ने बेलामा खुब डर लाग्थ्यो । शिक्षकले बिरामीलाई तलमाथि होला है भनेर भन्नुहुन्थ्यो । दिनभर प्रसूति कक्षमा काम गरेर घर गएपछि आमा र बच्चालाई केही भयो कि भन्ने चिन्ता लाग्थ्यो । स्वस्थ भएर घर फर्किएपछि ढुक्क हुन्थ्यो ।’

बरु यतिबेला नर्स र डाक्टरका लागि यही भाइरससँग जुध्नु सबैभन्दा ठूलो कर्म हो। आखिर सरlताहरु पनि पोखरामा कोभिड १९ को लडाइँका लागि तम्तयारै छन्। ‘यो हामी जिम्मेवार बन्ने बेला हो,’ उनी पेशाप्रतिको दायित्वमा अझै दृढ देखिइन् ।

नर्समा हुनुपर्ने गुण के–के हुन् भन्ने प्रश्नमा उनी भन्छिन्, ‘एउटा असल मान्छेमा जे गुण हुनुपर्छ त्यो सबै एउटा असल नर्समा हुनुपर्छ । १ मिनेट ढिलो भए बिरामीको ज्यान जानसक्छ । त्यसैले समयनिष्ठ हुनुपर्छ । यसबाहेक राम्रो बोलिबचन, पहिरन र सेवा गर्ने भाव हुनुपर्छ ।’

डाक्टर र नर्सलाई हेर्ने दृष्टिकोणमा भने फरकपन आउन नसकेको सरीताको अनुभव छ । विश्वभर नै नेपाली नर्सको माग बढिरहेकाले नर्सिङ क्षेत्रको भविष्य उज्जवल रहेको उनी बताउँछिन् ।अन्तर्राष्ट्रिय नर्सिङ क्षेत्र आर्थिक, प्राविधक र कार्य वातावरणको हिसाबले सुदृढ रहेकाले नेपाली नर्स विदेशिरहेको उनको बुझाइ छ ।

गएका वर्षमा जनचेतनामूलक र्‍याली, रक्तदान, हाजिरीजवाफ प्रतियोगिता लगायत कार्यक्रममा सहभागी भएर नर्स दिवस मनाएका उनीसहितका नर्सको यो वर्ष विशेष केही योजना छैन । यसै पनि कोरोना भाइरस कोभिड १९ ले विश्वभर सबै यस्ता दिवस र उत्सवहरु रोकिएका छन् ।

बरु यतिबेला नर्स र डाक्टरका लागि यही भाइरससँग जुध्नु सबैभन्दा ठूलो कर्म हो । आखिर सरिताहरु पनि पोखरामा कोभिड १९ को लडाइँका लागि तम्तयारै छन् । ‘यो हामी जिम्मेवार बन्ने बेला हो,’ उनी पेसाको दायित्वमा अझै दृढ देखिइन् ।

One thought on “‘बिरामीको मुहारमा भरिएको खुसी नै नर्सको सम्पत्ति’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय