डाक्टरलाई नै कोरोना संक्रमणको आशंका, संत्रासमा दार्जीलिङ

गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन अन्तर्गत दार्जीलिङको खरसाङ महकुमा अस्पतालमा कार्यरत डा. इमरान खानलाई कोरोनाले सक्रमित भएको शङ्कामा कोरोन्टाइनमा राखिएको छ।

विगत वैशाख १६ गते कलकत्ताबाट एउटा बसमा २९ डाक्टरहरू सिलगढी आएकामध्ये एक जनालाई कोरोना संक्रमणको पुष्टि भएपछि डा. खानलाई पनि क्वारेन्टाइनमा पठाइएको हो।

खरसाङ महकुमा अस्पतालका डा. खान पनि त्यसै बसमा आएका थिए। कलकत्ताबाट आएको उक्त बसमा एकजना संक्रमित व्यक्ति पनि फेला परेका थिए।

खरसाङका डा. खान वैशाख १९ गते संक्रमणको आशंकापछि क्वारेन्टाइनमा बसेका छन्। ‘असहज महसुस भयो, कोरोनाको संक्रमण भएको आशंकाले क्वारेन्टाइनमा बसेको हुँ,’ खानले भने।

यस विषयमा जिटिए प्रमुख अनित थापालाई जानकारी दिइएको छ। उनले खरसाङमा दुई वटा निजी औषधि केन्द्रहरू हनुतराम मेडिकल स्टोर र कृष्ण मेडिकल स्टोरमा रोगीहरू जाँच गरेका थिए।

ती दुवै औषधि केन्द्रका कर्मचारीहरूलाई होम क्वारेन्टाइनमा बस्ने सल्लाह दिँदै वैशाख २० गतेदेखि जिटिए प्रमुख थापाले दुई वटै औषधि केन्द्र बन्द गराएका छन्।

यसरी नै डा. खानले जाँचेका बिरामीहरूलाई पनि सम्पर्क गरी होम क्वारेन्टाइनमा बस्ने सल्लाह दिएका छन्।

डा. खानलाई नै संक्रमणको आशंकापछि खरसाङका बासिन्दाहरू आतङ्कित भएका छन्। यद्यपि, जिटिए प्रमुख थापाले मानिसहरू आतङ्कित नहुने सल्लाह दिएका छन्।

स्वास्थ्यकर्मीलाई बिदा नदिन दवाव

यसै क्रममा वैशाख २१ गते गोर्खा जनमुक्ति मोर्चा खरसाङ टाउन कमिटिले खरसाङ अस्पतालका डाक्टर नर्स र कर्मचारीलाई बिदा दिनु हुँदैन भन्ने दवाब दिएको छ।

गोजमुमो टाउन कमिटीका अध्यक्ष राजु शर्माले नेतृत्व गरेको एउटा टोलीले खरसाङ अस्पतालका महकुमा स्वास्थ्य अधिकारी रुमी मण्डलसँग भेट गरी स्वास्थ्यकर्मीलाई बिदा नदिन दवाव दिएको हो।

डा. खानको यस्तो मामिलालाई हेर्दै डाक्टर नर्स र अरू कर्मचारीहरू बाहिर गए कोरोनाको संक्रमण हुन सक्ने आशंका गर्दै टोलीले बाहिर कसैलाई बिदा नदिन आग्रह गरेका छन्।

यसैगरी, खरसाङ नगरपालिका बोर्डका पार्षदरूको टोलीले पनि बैठक गरी पार्षदहरूको एउटा टोलीले पनि महकुमा स्वास्थ्य अधिकारी रुमी मण्डलसित भेटघाट गरी यही माग गरेको छ।

खरसाङ अस्पतालका महकुमा स्वास्थ्य अधिकारी रुमी मण्डलले स्वास्थ्यकर्मीको बिदाको विषयमा अहिले निर्णय नदिइने बताएको जानकारी एक सदस्यले दिए।

वैशाख १४ गते पश्चिम बङ्गालको अलिपुरद्वार जिल्लामा चारजना संक्रमित फेला परेका थिए।

कालेबुङमा क्वारेन्टाइनमा रहेका सबै घर फर्किसकेका छन्। दार्जीलिङ खरसाङमा पनि त्यस्तो कुनै मामिला नभएकाले यी क्षेत्रलाई वैशाख १६ गतेदेखि केन्द्र सरकारले ग्रीनजोन अर्थात् संक्रमणमुक्त क्षेत्र भनी घोषणा गरेको थियो।

तर, केन्द्र सरकारको मन्त्रिस्तरीय स्थलगत सर्वेक्षण टोली दिल्ली फर्केपछि वैशाख १८ गते यी क्षेत्रलाई फेरि ग्रीनजोनबाट रेड जोन भनी घोषणा गरेको थियो।

यस घोषणाको विरोधमा आफूहरू अलमल्ल परेको प्रतिक्रिया गोर्खा जनमुक्ति मोर्चा प्रमुख विनय तामाङले दिएका थिए। लगत्तै खरसाङमा यस्तो घटनापछि अहिले तामाङ पनि मौन रहेका छन्।

संकटमा श्रमिक

लकडाउनमा घर बसेका चिया श्रमिकहरूले आफ्नो दैनिक हाजिरा पाएका छैनन्। चिया श्रमिकहरूलाई केन्द्र गरेर गठित जिटिए अध्यक्ष फन्डबाट रकम दिइने घोषणा अध्यक्ष अनित थापाले गरेका थिए।

तापनि अहिलेसम्म चिया श्रमिकहरूले त्यो रकम पाएका छैनन्। अर्कोतिर यसबेलाको चियाले विश्वमा नै राम्रो भाव पाउने थियो।

तर, लकडाउनले ठूलो क्षति पुगेको छ। यस कुरालाई ध्यानमा राखेर भारतीय चिया परिषदले उत्तर बङ्गालका चियाबारीहरूका लागि भारू सात करोड अनुदान दिने घोषणा गरेको छ।

यसले चिया श्रमिकहरूलाई कतिसम्म लाभ हुनेछ, त्यो हेर्न बाँकी नै छ। यस क्रममा तेस्रो चरणको लकडाउनको घोषणापछि चियाबारी मालिकहरूको सङ्गठन कन्सलटेटिभ कमिट अफ प्लान्टर्स एसोसिएसनले राज्यका मुख्य सचिवलाई सम्पूर्ण चियाबारीहरूमा श्रमिकहरूलाई कार्यमा लगाउने अनुमति प्रदान गरिनु पर्छ भन्ने माग राख्दै पत्राचार गरेका थिए।

कतै राहत, कतै विजाेक

लकडाउनमा घरमा बस्नु परेको अवस्थामा राहत सामग्री वितरणको प्रक्रिया पनि तीव्र गतिमा चलिरहेको छ।

केन्द्र सरकार, राज्य सरकार, गैरसरकारी संस्थाहरूद्वारा अनि व्यक्तिगत रुपमा पनि चारैतिर राहत सामग्री वितरण भइरहेको छ।

तर, कुनै ठाउँमा पाउनु पर्ने मानिसहरूले पाएका छैनन्। आफ्नो क्षमताले नै परिवार धान्न सक्ने मानिसहरूमा पनि राहत सामग्री वितरण भइरहेको छ।

वैशाख १९ गते नदिया जिल्लाको हबिबपुरको श्रीकृष्ण राइस मिलमा केन्द्र सरकारको छाप भएको हजारौँ बोरा चालम साधारण बोरामा खन्याउँदै गरेको फेला परेको थियो।

त्यसैले राहतमा अनियमितता भएको आशंका गरिएको थियो।

लकडाउनको सुरूआतदेखि नै विभिन्न राज्यहरूमा यस क्षेत्रका विद्यार्थीहरू, कर्मचारीहरू अब अरू मानिसहरू थुनिएका छन्।

यसैबीच, सिक्किममा कोरोना र लकडाउन पालनको सन्दर्भमा राज्य सरकारले उच्च सतर्कता अप्नाइरहेको छ।

वैशाख १९ गते मुख्यमन्त्री प्रेमसिंह तामाङले उच्चस्तरीय बैठक आह्वान गरी राज्यमा कोरोना र लकडाउन पालनको स्थितिको बारेमा जानकारी लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय