निद्रा नलागे के गर्ने?

प्रा.डा. सिपी सेढाईं
प्रकाशित
२०७७ वैशाख २९ गते १५:२३

निद्रामा देखिने रोचक समस्याहरू

मानिसहरूमा निद्रा कम लाग्ने समस्या प्रशस्त पाइन्छ। खासगरी बढ्दो उमेरका मानिसलाई यो समस्याले बढी सताउँछ। ओछ्यानमा गएपछि निदाउन धेरै समय लाग्ने, बारम्बार ब्युँझने, बिहान चाँडै निद्रा खुल्ने आदि समस्या रहन्छ।

हाम्रो शरीरको स्वास्थ्यका लागि निद्रा अति आवश्यक हुन्छ। निश्चित समयमा भोक लाग्ने भनेजस्तै हामीमा निश्चित समयमा निद्रा लाग्छ। साथै हामी निद्राबाट ब्युँझन्छौं। निद्रा पनि विभिन्न किसिमका हुन्छन् :

१. हल्का निद्रा (light Sleep)

२. गहिरो निद्रा, आरामदायी निद्रा (Deep Sleep)

३. आँखाको गेडी हल्लिने निद्रा (REM Sleep)

खासगरी यी विभिन्न निद्रा हामी सुतेको बेलामा एकपछि अर्को हुँदै चक्रीय रूपमा आइरहेका हुन्छन्। हल्का निद्रामा हामी कसैले बोलेको थाहा पाउँछौं झसङ्ग भएर उठ्न सक्छौं। त्यस्तै आँखाको गेडी हल्लिने निद्रामा पनि। तर जब गहिरो निद्रामा हामी हुन्छांै, त्यो बेला हामीलाई केही थाहा हुँदैन। यस्तो निद्रालाई भाते निद्रा भनिन्छ। हाम्रो मस्तिष्कको आरामलाई यो अति आवश्यक छ। हाम्रो शरीरको स्वास्थ्यका लागि करिब ६ घण्टा निद्रा आवश्यक पर्छ। बालक तथा बिरामी पर्दा बढी घण्टा निद्रा आवश्यक पर्छ। कहिलेकाहीं एक दिनको निद्रा बिथोलियो भने अर्को दिन यसले असर गर्दछ। त्यसैले भनिन्छ, एक दिनको निद्राले ७ दिन पिरोल्छ।

निद्रामा देखिने समस्या

प्रायः मानिसहरू निद्रा कम पर्ने गरेको गुनासो गर्छन्। कसैलाई ओछ्यानमा पुगेपछि निद्रा लाग्न घण्टौं कुर्नु, कोही निदाउने तर बीच बीचमा ब्युँझने गर्छन्। कोही निदाएर उठेपछि फेरि निदाउन गाह्रो हुन्छ। जसले गर्दा भोलिपल्टसम्म फूर्तिलो नदेखिने हुन्छन्। कोही बढी निदाउने गर्छन्। खासगरी दिउँसो बढी लाग्ने निद्राले गर्दा काम गर्न गाह्रो हुने, पढ्न नसक्ने, पटक–पटक निद्राले सताउने गर्दछ।

निद्रामा देखिने अन्य रोचक समस्या

– निदाएको बेलामा डराउने, आत्तिने, चिच्याउने (sleep Terror), नराम्रो सपना देख्ने भोलिपल्ट कुनै कुरा सम्झने, कुनै सम्झन नसक्ने।

– निदाएको बेलामा घरबाट बाहिर निस्कने र हिँड्ने (Sleep Walking) र धेरै हिँडिसकेपछि मात्र चेत आउने र फेरि घर फर्कने।

– निदाएको बेलामा पिसाब छुट्ने (Nocturnal enuresis) तर उपचार गरे यो समस्या निको हुन्छ।

– निदाएको वेलामा बोल्ने, दाँत चपाउने, निद्रामा घुर्ने, खुट्टा हल्लाउने आदि।

– निद्राबाट ब्युँझिँदा शरीर चलाउन नसक्ने (Sleep Paralysis) : यो यस्तो अवस्था हो, हामी अचानक निद्राबाट ब्युँझिन्छौं। प्रायः आत्तिदै सपना वा हामी डराइरहेका हुन्छौं। हामी शरीर चलाउन सक्दैनौं। बोल्न पनि सक्दैनौं। त्यसैले निस्सासिएजस्तो लाग्छ। केही मिनेटमा हामी बोल्न सक्छौं, हामी शरीर चलाउन सक्छौं। यो अवस्थालाई गाउँघरमा अहिले पनि बोक्सीले छल्न आएको भन्ने प्रचलन छ। वास्तवमा यो सही होइन। यो एक (Sleep Paralysis) हो। निद्राको अवस्थामा देखिने प्यारालाइसिस हो, जुन १–२ मिनेटमात्र रहन्छ।

धेरै मानिसमा उमेर ढल्कँदै जाँदा निद्रा कम पर्ने हुन्छ। राति निद्रा नपर्दा अत्यन्त पीडादायी हुन्छ। मनमा अनेकौं कुरा खेल्छन् दिमागले आराम पाउँदैन। छट्पटी हुन्छ। बारम्बार पिसाब फेर्नुपर्ने हुन्छ। डर लाग्छ, पेट पोल्छ, खानामा अरुचि हुन्छ, पसिना आउँछ, हाम्रो शरीरको मांसपेसी दुख्न थाल्छ। भोलिपल्ट मन कमजोर हुने, शरीर स्वस्थ नहुने पनि गर्दछ। मनोरोगका धेरै बिरामी आफ्नो निद्रा गडबड भएको बताउँछन् तथा अन्य शारीरिक रोगीहरू पनि निद्रा नपर्नाले आफूलाई सताएको भन्ने गर्छन्।

निद्रा राम्रोसँग लाग्न गर्ने घरेलु उपाय (Sleep Hygiene)

– सुत्ने कोठा शान्त र हल्ला नहुने खालको हुनुपर्छ।

– दैनिक रूपमा शरीरिक व्यायाम गर्नुपर्छ।

– दिउँसो भरसक नसुत्ने।

– सुत्ने समयअगाडि चिया, कफी नलिने र बढी खान नखाने वा कम खाना पनि नलिने। बेलुकाको खाना ठिक्क रूपमा लिने।

– जहिले पनि एउटै समयमा सुत्ने बानी बसाल्ने। चाँडै सुत्ने चाँडै उठ्ने बानी गर्ने।

– निद्रा लाग्ने बेलामा मात्र ओछ्यानमा जाने। धुम्रपान र मध्यपान सेवन नगर्ने।

– सुत्नुअघि मनतातो पानीले नुहाउनु पनि उत्तम हुन्छ।

सपनाको मनोवैज्ञानिक विश्लेषण

प्रसिद्ध मनोवैज्ञानिक सिगमन्ड (फ्रायड) का अनुसार निद्रामा देखिने सपना अनौठो रूपमा आएको हुन्छ। खासगरी हाम्रो मस्तिष्कमा रेकर्ड भएका कुरा एकअर्कामा जोल्टिएर आउने, हाम्रो मनमा रहेको इच्छा पूरा गर्ने, कहिलेकाहीं एकापसमा घुलमिल हुँदै अत्यन्तै पीडादायी डरलाग्दो रूपमा प्रस्तुत हुने, एउटा कुराको टाउको अर्को कुराको पुच्छरसँग जोडिएर चामत्कारिक सपना देखिने, कहिले राम्रो रूपमा आउने, कहिले नराम्रो रूपमा आउने हुन्छ। (Dream is formed by condensations, displacement and symbolic representation of recorded material for many years on brain).

नराम्रो सपना देखियो अब के हुन्छ भनेर मनमनै त्रासमा पर्नेहरू पनि हुन्छन् र तर यो भ्रममात्र हो। यो सोचाइ गलत हो। यसले मनमा अशान्ति पैदा गर्छ। सपना राम्रो देख्नाले मन खुसी पनि हुन्छ। त्यसैले सपना सुल्टो–उल्टो जे पनि हुनसक्छ। सपना नराम्रो देख्दा कुनै खतरा हुँदैन। तपाईले भेट्न नसकेको मानिस वा तपाईले मनमा सोच बनाउनुभएको मानिससँग पनि तपाईको भेट सपनामा हुन्छ। तपाईलाई क्षणिक आनन्दमात्र हुन्छ। अर्को शब्दमा भन्दा हाम्रो मस्तिष्क एउटा कम्प्युटर हो। उसमा रेकर्ड भएको कुराहरू तब हामी निद्रामा हुन्छौं, मस्तिष्कचाहिँ अर्धचेतनामा हुन्छ। त्यसबेला सपनामा यी वषौंदेखिका रेकर्डहरू फाइल टेपजस्तै गरेर एकअर्कामा घुलमिल भई प्रस्तुत हुन्छन्। कहिले यी आनन्दायी हुन्छ त कहिले पीडादायी। तर सपना नराम्रो देखियो अब के हुन्छ भनेर आत्तिनु चाहिँ मूर्खता मात्र हो। नराम्रो सपना देख्दा र चिन्ता लिँदा कति मानिस मनोरोगी भएका छन्। कहिलेकाहीं रातभर नै निद्रा पर्दैन जुन खतरनाक पनि हुनसक्छ। निद्रा नपर्नाले गर्दा रात अत्यन्तै लामो लाग्ने र पीडादायी महसुस हुन्छ।

डिप्रेसन रोगका बिरामी निद्रा गहिरो नभएको बताँउछन्। यसबाट भोलिपल्ट फूर्ति नआउने हुन्छ। डरलाग्दो सपना देख्ने गर्छन् र आत्तिन्छन्। मेनिया रोगमा निद्रा २ घण्टा सुते पनि पुग्छ। बिरामी राति पनि टिभी हेरिरहने, कराउने, यताउता हिँड्ने गर्छन्। सिर्जो र्फेनियाका बिरामी रातभर यताउता डुल्छन् र दिउँसो सुत्छन्। सन्तुलित भोजन, शारीरिक व्यायाम गर्ने मानिस रातमा राम्रोसँग निदाउँछन्। एकप्रकारको छारेरोग जुन निदाउँदा मात्र देखिन्छ। बिरामी अचानक ओछ्यानबाट खस्ने, शरीर कडा हुने, तन्किने, मुखबाट फिँज काढ्ने, १५ मिनेट पछि फेरि उठ्ने गर्छन्। एन्जाइटी डिसअर्डर (Anxiety Disorder) का बिरामी अँध्यारोमा डराउँछन्। ढोकाझ्याल लगाउँदा आफू निसासिएको जस्तो मान्छन्। एक्लै बस्न सक्दैनन्, मन आत्तिने अनि डराउने गर्छन्। पुरानो अन्धविश्वासले गर्दा राति छिप्पिँदै जाँदा भूत, बोक्सी आदि आउँछ भनेर डराउँछन् तर त्यस्तो भएको हुँदैन। कोही निद्रामा बेस्सरी घुर्ने हुन्छन्। मोटो शरीर, कम शारीरिक व्यायाम, रक्सी सेवनले गर्दा प्रायः यस्तो भएको हुन्छ। रात लामो हुँदा हाम्रो शरीरको मेलाटोनिन (Melatonin) भन्ने हर्मोन बढी प्रवाह हुँदा जाडो महिनामा कसैमा डिप्रेसन रोग देखिएको पनि छ। खासगरी धु्रवीय देश नर्वेमा यस्तो बढी पाएको बताइन्छ।

राति चिया कफी पिउनु निदाउनका लागि घातक हुन्छ। शरीरको अपरेसनपछि निद्रा राम्रो परेन भने घाउ निको हुन गाह्रो हुन्छ। यस्तो अवस्थामा निद्रा लाग्ने औषधी प्रयोग गरिन्छ। धेरै किसिमका निद्रा लाग्ने औषधीहरू पाइन्छन्। थोरै निद्रा नपर्दामा औषधी लिनु हुँदैन। बिनाऔषधी गरिने उपचार सफल नभएमात्र औषधी प्रयोग गर्नुपर्छ। राति सुत्दा पूरै झ्यालढोका बन्द गर्नुहुँदैन। जसले गर्दा अक्सिजन कम हुन पाउँदैन। जब हामी धेरै घण्टा सुत्छौं तब हल्का निद्रा (Light Sleep) को मात्र पनि बढ्दै जान्छ। बिहानीपख प्रायः हामी सपना देख्छौं, जुन हामी उठेपछि सम्झन सक्छौं। तर गहिरो निद्रामा देखिएको सपना हामी सम्झन सक्दैनौं। कहिलेकाहीँ हामी सुतेको १–२ घण्टामै अत्यन्तै डराउने, आत्तिने, चिच्याउने हुन्छ, मुटुमा ढुकढुकी बढ्छ। यसलाई Night Terror (नाइट टेरर) भनिन्छ। यो भोलिपल्ट सम्झना हुँदैन। राति आनन्दले सुत्दा शरीरमा आराम महसुस हुने, मांसपेसी हलुका हुने, शरीरको तौल बढ्ने र मानसिक तनाव कम हुने गर्छ।

निद्रामा देखिने समस्याको उपचार

– निद्रामा देखिने छारे रोगका बिरामीले छारे रोगको औषधी सेवन गर्नुपर्छ औषधी करिब ४ वर्ष लिनुपर्ने हुन्छ।

– निद्रा नपर्ने, निद्रामा ब्युँझिने बिरामीले सबैभन्दा पहिले घरेलु उपचार गर्नुपर्छ त्यसबाट निको नभए निद्रा पर्ने औषधीको प्रयोग गर्नुपर्ने हुन्छ।

– निदाएका बेला डराउने, नराम्रो सपना देख्ने मानिसलाई औषधीको प्रयोग तथा मनोवैज्ञानिक उपचारबाट फाइदा हुन्छ।

– निदाएका बेलामा हिँड्ने (Sleep Walking) का बिरामी औषधी प्रयोगबाट निको हुन्छ।

– निदाएका बेला पिसाब फेर्ने बिरामीले बेलुकी पख कम पानी पिउने, सुत्नु अगाडि पिसाब फेरेर मात्र सुत्ने गर्नुपर्छ। त्यसबाट पनि निको नभए राति कति बजे पिसाब छुट्छ, त्यो भन्दा ३–४ मिनेट पहिला उठाएर पिसाब फेराउनुपर्छ। त्यति गर्दा पनि निको नभए औषधी सेवन गर्नुपर्दछ।

– निद्राको बेला बोल्ने, दाँत चपाउने, निद्रामा खुट्टा हल्लाउने मानिसका लागि औषधि प्रयोग तथा मनोवैज्ञानिक उपचारबाट फाइदा हुन्छ।

– निद्रामा डराई ब्युँझिँदा शरीर चलाउन नसक्नु (Sleep Paralysis) का बिरामीलाई काउन्सिङ आवश्यक पर्छ। यो बोक्सी लागेको होइन, अन्धविश्वास हटाउनुपर्छ। यो बोक्सीले छलेको होइन अचानक ब्युँझिँदा शरीर चलाउन केही समय लागेको हो।

– दिउँसोमा बढी निद्रा लागेमा चिया कफीको प्रयोगबाट फाइदा हुन्छ।

– निद्रामा देखिने नराम्रो सपनालाई विश्वास गर्नुहँुदैन। सपनामा देखेको कुरा पछि मिल्छ भन्नु अन्धविश्वासमात्र हो। मन ढुक्क बनाउनु पर्दछ। सपना नराम्रो देखे पनि विपनामा केही हुँदैन।

मानसिक रुपमा कसरी स्वस्थ हुने?

– अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाइ नगर्ने।

– अर्काको उपलब्धि सजिलै ग्रहण गर्ने र खुसी हुने।

– पुराना रूढीवादीका कुरा जुन वर्तमानमा झुट्टा साबित भएका छन् तिनमा विश्वास नगर्ने।

– हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने।

– जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहिनेत गर्न नछाड्ने।

– लागूपदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकाले, यी वस्तुबाट टाढा रहने।

– दैनिक जीवनमा स्वास्थ्य प्रतिस्पर्धा गर्ने।

– समाजमा, घर परिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने।

– अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने।

– आफ्ना समस्या आफ्नो परिवार, साथीभाइलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ।

– मनलाई सधैं शान्त राख्ने।

(लेखक चितवन मेडिकल कलेजमा कार्यरत नसा तथा मनोरोग बिशेषज्ञ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय