कोरोनाको प्रकोपमा पनि निजी क्षेत्रले जिम्मेवारीबोध गरेनन्: पूर्वस्वास्थ्य मन्त्री अधिकारी

पूर्वस्वास्थ्य मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज अधिकारीले कोरोना भाइरसको महामारीका बेला निजी क्षेत्रले जिम्मेवारीबोध गर्न नसकेको बताएका छन्।

विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकताका सम्बन्धमा संसदमा भएको छलफलमा अधिकारीले प्रकोपका बेला निजी क्षेत्रले संवेदनशील नभएकाले सरकारी स्वास्थ्य क्षेत्रलाई अझै सशक्त बनाउनुपर्ने प्रष्ट भएको बताएका हुन्।

‘नवउदारवादले शिक्षा र स्वास्थ्यलाई राज्यका दायित्वबाट पन्छाउँदै निजी क्षेत्रमा पुर्‍यायो, तर, कोरोना भाइरसको प्रकोप हुँदा निजी क्षेत्रले अस्पताल खोलेनन्,’ उनले भने, ‘सुशील कोइराला प्रधानमन्त्री हुँदा म स्वास्थ्यमन्त्री थिएँ, त्यतिबेला सरकारी अस्पतालमै सबैलाई निःशुल्क उपचारको व्यवस्था गर्‍यौँ, अहिले पनि स्वास्थ्य क्षेत्र सरकारीलाई नै प्राथमिकता दिनुपर्छ भन्ने जोड दियो।’

पूर्वस्वास्थ्यमन्त्री अधिकारीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले पनि सरकारी स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको बताए।

सरकारको नीतिकै कारण नेपाल तीव्र आर्थिक वृद्धिदर हासिल गर्ने देशका रूपमा अगाडि आएको अधिकारीको तर्क थियो।

‘सबै सूचकांकहरू सकारात्मक छन्, यही बेलामा कोरोना भाइरसको महामारी आयो, अनि यहाँ ६ महिनाअघि सरकार नकारात्मक थियो भनिरहेका छौँ, यो सत्य कुरा होइन,’ उनले भने।

सरकारी, सहकारी र निजीक्षेत्रलाई समावेश गरी नयाँ मोडालिटी तयार गरेर बजेट निर्माण गरेमा महामारी र संकटलाई सजिलै जित्न सकिने धारणा अधिकारीले व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय