आगामी आर्थिक वर्षको बजेट कोरोना महामारी नियन्त्रणमै केन्द्रित हुनुपर्छ: जनार्दन शर्मा

नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट तत्काल काम गर्नका लागि केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन्।

संसदमा विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकतामाथि टिप्पणी गर्दै शर्माले कोरोनाको विश्वव्यापी महामारीलाई दृष्टिगत गरेर बजेट नल्याए त्यसबाट नयाँ ढङ्गको संकट उत्पन्न हुन सक्ने बताएका हुन्।

अहिले कोरोना भाइरसको महामारीमा बजेट केन्द्रित गर्नुपर्नेमा शर्माको जोड छ। ‘बजेट त्यतिबेला मात्रै वस्तुवादी हुने छ, जतिबेला महामारीको मूल्याङ्कन गर्ने छौँ, र अगाडि बढ्ने छौँ,’ पूर्वमन्त्री शर्माले भने।

सरकार, सरोकारवाला र निजीक्षेत्रको बृहत अन्तरक्रियाबाट बजेट निर्माण गर्न पनि शर्माले सरकारको ध्यानाकर्षण गराएका छन्।

विदेशमा रहेका नेपाली स्वदेश फिर्तीको तयारीमा रहँदा अब उनीहरूलाई कसरी रोजगारी दिने भन्ने सम्बन्धमा गम्भीर बन्न पनि शर्माले सुझाव दिए।

विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त गोलमटोल रूपमा आएको टिप्पणी शर्माले गरे। ‘विनियोजन विधेयक परम्परागत बजेटकै हिसाबले आएको छ, अहिले कोरोनाको समग्र प्रभावलाई केन्द्रितभन्दा पनि सबै कुरा आएको छ,’ उनले भने।

अर्थ मन्त्रालय उदार अर्थतन्त्र र उदार पूँजीवादले भरिएको आरोप लगाउँदै नेता शर्माले व्यवहारमा दलाल पूँजीवाद र नोकरशाही हुर्किएको भएपनि सिद्धान्तमा समाजवाद भनेर मुर्ख बनाइएको बताए।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण उदार अर्थतन्त्र विश्वव्यापी रूपमा असफल भइसकेको बहस भइरहेको उनको तर्क थियो।

‘महामारीसँगै विश्वकै अर्थतन्त्रमा पुनर्संरचनाको कुरा ठूलो बहस भएको छ, यस्तो बेलामा श्रमिक, मजदुर, निम्नआय भएका जनताको प्रत्यक्ष सहभागिता गराउने कार्यक्रममा सरकारको बृहत लगानी हुनुपर्छ,’ शर्माले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय