‘कोरोनाको उपचार गर्न प्रदेश २ मा अरु अस्पताल पनि तयार गरौं’

नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १ सय १० जना संक्रमित भइसकेका छन्। संक्रमितको उपचार गराउन सरकारले मुख्य सहरहरूमा कोभिड अस्पताल छुट्याएको छ। प्रदेश २ मा रहेका ३१ जना संक्रमितलाई नारायणी अस्पतालले उपचार गराइरहेको छ। संक्रमण बढ्दै जाँदा प्रदेश २ मा रहेका अन्य अस्पतालको तयारी भने सुस्त देखिन्छ। हाल संक्रमित र संक्रमित बढ्दै गएमा अस्पतालले के कस्तो व्यवस्थापनको योजना गरेको छ। अस्पतालको जनशक्ति, पूर्वाधार तथा प्रदेश २ को संक्रमणको जोखिमका विषयमा केन्द्रित रही नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायसँग हेल्थपोस्ट नेपालकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीः

कोरोना संक्रमणको पछिल्लो अवस्था र जोखिम कस्तो छ प्रदेश २ मा?

हालसम्म ‘कोभिड–१९’ पोजेटिभ भएका ३१ जना बिरामी छन्। कुनै पनि बिरामीमा जटिल खालका र लक्षणहरू देखा परेका छैनन्। सबै जना बिनालक्षणका बिरामी छन् । केही पोजेटिभ बिरामीमा पुराना दीर्घरोग, मुटुको समस्या, मधुमेहको समस्या छ। उहाँहरूलाई हामीले प्रत्येक ४८ घण्टाभित्र थ्रोट स्वाब लिएर परीक्षण गर्ने तथा एक्स–रे आवश्यकताअनुसार गर्ने गरेका छौं।

परीक्षणमा थ्रोट स्वाब पोजेटिभबाहेक अन्य चिन्ता गर्नेखाले रिपोर्ट आएको छैन। त्यसैले गर्दा अहिलेको अवस्था सामान्य नै छ।

सबै बिरामीहरू २४ घण्टा नै सिसिटिभीको निगरानी हुनुहुन्छ। आवश्यकताअनुसार औषधीको व्यवस्थापन गर्ने गरेका छौं। बिरामीको अवस्थाअनुसार चिकित्सक तथा नर्सले चेकजाँच गर्दै आउनुभएको छ।

संक्रमित बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीको व्यवस्थापन कसरी भइरहेको छ ?

चैत ६ देखि आइसोलेसन वार्डमा बिरामी भर्ना गरेर उपचार गर्न थालेका हौं । सुरुमा ५ बेडको मात्र आइसोलेसन कक्ष निमार्ण गरिएको थियो। बिरामी राख्नुभन्दा अगाडिदेखि नै नेपाल सरकार निर्णयअनुसार ज्वरो क्लिनिक सञ्चालन गरेका हौं। अहिले पनि नारायणी अस्पताललाई ‘कोभिड अस्पताल’ भनी निर्णय गरिए पनि सर्पदंश, मेडिकल र आकस्मिक केसहरूको सेवा यथावत् रूपमा दिइरहका छौं।

चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सरसफाइ कामको रुटिन एक साताका लागि बनाएका छौं। प्रत्येक सातामा ड्युटी चेन्ज हुने गरेको छ। एक साताका लागि भएको जनशक्तिले आइसोलेसन वार्ड, आकस्मिक कक्षमा भएका बिरामी, अन्यलाई सेवा दिँदै आएको छ। यसमा एक टिममा २० देखि २५ जनासम्मको जनशक्ति छ। साताभर ड्युटीबाहेकको समय क्वारेन्टाइन होटलमा आराम गर्ने गरेका छन्। त्यसपछि सबै जनाको थ्रोट स्वाब लिने गरेका छौं। रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनामा जाने गरेका छन्। होम क्वारेन्टाइन तीन साताको हुन्छ।

अहिलेसम्म हामीसँग भएको जनशक्तिमा पाचौं ग्रुपले काम गरिरहेको छ। अब पहिलो ग्रुपका जनशक्ति आउने क्रममा छ। अहिले हामीसँग सीमित जनशक्ति भएको हुनाले पनि हामीले महिनौं दिनमा अर्को गु्रपलाई प्रयोग गर्नुपर्ने भएको छ।

विज्ञ चिकित्सक र परीक्षण गर्न आवश्यक पर्ने सामग्री पर्याप्त छन् त?

अभाव नै नहुने कुरा त भएन। विज्ञ चिकित्सकको टोली छुट्टै भएको भए त रोटेसनमा जानुपर्ने नै थिएन। दरबन्दी र सीमित सबै विज्ञ चिकित्सक समावेश गराएका छौं। हामीले अहिले पीसीआर ल्याब सञ्चालनमा ल्याएका छांै। अहिले १ सय जनासम्मको टेस्ट गर्नका लागि रिएजेन्ट किट छ। केही मात्रामा भिटिएम पनि छ। चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सुरक्षासामग्री केही मात्रा मौज्दात छ। त्यसकारण आईसियूमा बिरामी पु¥याउन नपरोस् भन्ने चाहना हो।

संक्रमित व्यक्तिको हेरचाह गर्न कस्ता उपायहरू अवलम्बन गर्नुभएको छ त?

सबै बिरामीहरू २४ घण्टा नै सिसिटिभीको निगरानी हुनुहुन्छ। आवश्यकताअनुसार औषधीको व्यवस्थापन गर्ने गरेका छौं। बिरामीको अवस्थाअनुसार चिकित्सक तथा नर्सले चेकजाँच गर्दै आउनुभएको छ।

अस्पतालले केही प्रोटोकल तय गरेको छ। आइसोलेसन वार्डमा बिरामीलाई राख्नका लागि आल्मोनियमले पाटेसन गरेका छौं। सामान्य बिरामी जाँच गर्ने स्टेथस्कोप चाहिन्छ। बिरामीको श्वासप्रश्वास तथा मुटुको धड्कन जाँच्नका लागि हामीले त्यही पाटेसनको बाहिरबाट स्टेथस्कोपको व्यवस्थापन गरेका छौं।

चिकित्सक तथा नर्स बाहिरबाट एयरपिस राखेर भित्र रहेका बिरामीलाई माइकको आधारमा स्टेथस्कोप कहाँ राख्ने भनेर बुझाउँछौं भने चेकजाँच गर्छौं। यस्तो प्रविधिको कारणले बिरामीको स्वास्थ्यजाँच पनि सहज रूपमा भयो भने बिरामीसँग दूरी पनि कायम रहन सक्छ।

सबै बिरामीलाई डिजिटल फारम दिएका छौं। त्यसमा बिरामीले दैनिक ज्वरोमापन विवरण भर्ने गरेका छन्। बिरामीहरू पनि फोनको माध्यमबाट स्वास्थ्यकर्मीसँग सम्पर्क भइरहन्छन्। त्यसैगरी माइकको व्यवस्थापन गरिएको छ। बाहिरबाट हामी सम्पर्क गर्छौं। भित्रबाट उहाँहरूले जानकारी दिनुहुन्छ।

कोरोनामा सम्पर्क दूरी जतिसक्दो कम गर्न पायौं त्यति नै राम्रो हुन्छ। एकमात्र स्वास्थ्यकर्मीमा पोजेटिभ केस देखियो भने हामीले पूरै अस्पताललाई बन्द गर्नुपर्ने अवस्था आउन सक्छ। बिरामीको हेर्ने चिकित्सकका लागि सुरक्षाकवज व्यवस्था गरेका हौं।

चिकित्सकीय सामग्री पर्याप्त छ त?

सबैभन्दा बढी प्रयोग हुने भनेको पर्सनल पोटेक्टिभ इक्युपमेन्ट (पिपिई) हो। यसमा केन्द्र र प्रदेश सरकारबाट सहयोग भइरहेको छ। स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षासामग्री अस्पतालले नै खरिद गरेर पिपिईको जोहो गरेको छ। सेनिटाइजरदेखि लिएर पन्जा, माक्स, सर्जरी क्याप व्यवस्थापन गरिरहेका छौं। अहिलेसम्म निरन्तर नै छ। यही रूपमा निरन्तर भइरह्यो भने संक्रमित बिरामीको व्यवस्थापन गर्न केही अप्ठ्यारो पर्दैन। भोलिका दिनमा केन्द्र तथा प्रदेश सरकारबाट सामान आएन भने उपचारमा जटिलता आउने देखिन्छ।

ल्याबका लागि चाहिने जनशक्तिको अवस्था के छ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीले पिसिआरको ल्याब सेटअफ गर्नुभयो । उहाँहरूले यहाँ रहेको ५ प्याथोलोजिस्टलगायत ल्याबका कर्मचारीलाई ७ दिन तालिम पनि दिनुभयो। पीसीआरबाट परीक्षण जटिल नै हुने गरेको छ। त्यसकारण यहाँ परीक्षण भएपछि पुनः परीक्षणको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै पठाउने गरेका छांै। जुन बितेका दिनमा गलत रिपोर्ट आयो भन्ने छ, त्यसलाई मिनिमाइज गर्न (केन्द्र) काठमाडौं पठाउने गरेका हौं।

संक्रमित संख्या बढ्दै गएको अवस्थामा अस्पतालमा पूर्वाधारले धान्न सक्ने अवस्था छ?

अस्पतालमा ७ भेन्टिलेटरसहित आईसियू रहेको छ । सुरुमा आइसोलेसन ५ वटा थियो, त्यसमा थप बिरामी आउन थालेपछि २५ वटा पु¥याएका थियौं। अहिले हामीसँग ५० आइसोलेसन बेड तयारी पारेका छाैं। सबै बिरामीलाई देखिनेगरी सिसिटिभी कभरेज, इन्टरनेटको व्यवस्था, टिभीको व्यवस्था, हरेक कोठामा खानेपानीको धारा व्यवस्थापन गरेर तयारी अवस्थामा राखेका छौं। संक्रमित बढ्दै गएमा अस्पतालको पूर्वाधारले पुगेसम्म व्यवस्थापनमा जुटिरहेका छौं ।

प्रदेश २ को कोरोना संक्रमितको भार नारायणी अस्पतालले लिएको छ। कति बिरामी राख्ने क्षमता अस्पतालसँग छ? अन्य अस्पतालले किन कोरोना संक्रमित राख्न चाहिरहेको छैन ?

यो अवस्था आउनु दुर्भाग्य हो । प्रदेश २ मा ‘कोभिड–१९’ पोजेटिभ राख्ने बिरामी नारायणी अस्पतालमात्र रहेको छ। चार जिल्लाका बिरामीलाई भर्ना गरेर सेवा दिइरहेका छौं। यो दुर्भाग्य कसरी आयो भने कुनै पनि अस्पतालहरूले हिजोका दिनमा ज्वरो क्लिनिक सञ्चालन गरेनन्। आइसोलेसन बेडका लागि व्यवस्थापन गरेका छौं भनेर पत्रपत्रिकामा आयो। तर, ती अस्पतालहरूले परेको बेलामा पनि बिरामी भर्ना गरेर राखिदिएन। जसले गर्दा आइसोलेसन वार्ड नारायणी अस्पतालले नै सञ्चालन गर्नुपर्ने भयो।

केही अस्पतालले सुरुदेखि नै बहाना गरेर आफ्नो जिम्मेवारी बहन नगरेको देखियो। सुरक्षा सामग्री छैन भनेर ज्वरो क्लिनिक नचालउने र बिरामी भर्ना गर्नुप¥यो भने पनि कोभिड हुनसक्छ भनेर रेफर गर्ने प्रवृत्ति देखियो।

प्रदेश सरकारले कलैया, जलेश्वर, जनकपुर अस्पताललाई कोभिडको बिरामी राख्नका लागि बजेट व्यवस्थापनसमेत ग¥यो। तर, ती अस्पतालहरू तयार रहेनन् । जसले गर्दा दुःख पनि लाग्छ । कोभिडको महामारीमा सबै तयार रहनुपर्छ।

हामीले पनि कुनै त्यस्तो ठूलो तयारी गरेर बसेका थिएनौं। सुरुमा हामी ५ वेडबाट सेवा सञ्चालन ग¥यौं र अहिले ५० जनाभन्दा बढी बिरामी राख्न सक्षम भएका छौं ।तर, बिरामी यसैगरी बढ्दै गएमा एउटै अस्पतालले मात्र धान्न गाह्रो हुन्छ । त्यसका लागि अन्य वैकल्पिक अस्पताल तयार भएनन् भने हामीले ठूलो महामारीको सामना गर्नुपर्ने हुन्छ। किनभने हामीले तयारी गर्न खोज्दाखोज्दै पनि सफल सक्दैनौं। संक्रमण बढ्दै गएको अवस्था तत्काल नै अन्य अस्पताल तयारी अवस्थामा रहन जरुरी छ।

‘-‌यान्डम कलेक्सन’ गर्न सक्छौं। यसरी ३ तथा ५ वटा घर छोडेर हामी स्वाब कलेक्सन ग¥यौं भने पनि केही हदसम्म कति पोजेटिभ केस छन् पत्ता लगाउन सक्छौं।

केन्द्र तथा प्रदेश सरकारसँग तपाईहरूको समन्वय कस्तो छ ?

केन्द्र तथा प्रदेश सरकारसँग सम्पर्कमा रहेका छौं। केही सुरक्षा सामग्रीको सहयोग पाइरहेका छौं। सबैतिरबाट सहयोग भइरहँदा पनि सरोकारवाला आफ्नो जिम्मेवारी बहन गर्न नसकेको, समन्वय अलि फितलो भएको हो कि भन्ने लागिरहेछ। आशा छ, आगामी दिनमा समन्वय एकदमै राम्रो हुनेछ र अझै सेवा–विस्तार गर्दै जानेछौं।

कोरोना परीक्षणको दायरा बढाउन के रणनीति अपाउनुभएको छ ?

परीक्षण बढाउन सरोकारवालाको जिम्मेवारी हो । प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय, महानगरपालिकाले परीक्षणको जिम्मेवारी लिनुपर्ने हो। परीक्षण गर्नमा अस्पताल लाग्नुपर्ने होइन। तर, यहाँ के देखियो भने जुन सरोकारवाला जिम्मेवारी भएर काम गर्नुपर्नेमा अलि पछि परेको हो कि भन्ने महसुस गरेका छौं। जसले गर्दा परीक्षणको दायरा बढाउन पनि नेतृत्व गर्नुपर्ने बाध्यकारी अवस्था आयो। अस्पतालको कर्मचारीलाई फिल्डमा पठाएर स्वाबको नमूना लिने तथा परीक्षण गर्ने काम गरिरहेका छौं।

प्रदेश २ का कुन–कुन ठाउँ बढी जोखिममा छन्। कोरोना पोजेटिभ पत्ता लगाउन कसरी काम गर्नुपर्छ जस्तो लाग्छ?

परीक्षणको दायरा बढाउनैपर्छ। अहिलेसम्म जति परीक्षण गरेका छाैं, त्यही परीक्षणको आधारमा पोजेटिभ वा नेगेटिभ पत्ता लगाएका छौं। सुरुमा ३ वटा केस देखिएको भारतीय स्क्रिनिङ गरेको भरमा पत्ता लगाएका हौं। त्यसपछि हामीकहाँ जति पनि केस देखिए सबै स्क्रिनिङमा आएका हुन्। त्यसकारण हामीले परीक्षणको दायरा बढाएनौं भने पोजेटिभ केसलाई पत्ता लगाउन सक्दैनौं। बिनालक्षण केस भएका कारण लुकेर बसेका केसलाई बाहिर निकाल्न परीक्षणको दायरा बढाउनैपर्छ।

महानगरपालिकाको वडा नम्बर ३ मा बढी केस देखिएको छ । त्यसकारण हामीले १, २, ३ वडामा र्‌यापिट टेस्टसहित पिसिआर परीक्षण गर्दै आएका छौं। कन्ट्र्याक टे«सिङ गर्दा जसको पोजेटिभ आउँछ, ती संक्रमितसँग सम्पर्कमा रहेका सबैलाई निगरानीमा राखेका छौं। शनिबार बारा, रौतहट र पर्साका सबै क्वारेन्टाइनमा रहेका र स्थानीयको स्वाब संकलन गरेका छौं। ६ सयभन्दा बढी स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला पठाएका छौं। ती सबै स्वाबको रिपोर्ट आएपछि पर्सामा यस्तो रणनीति अपाउनुपर्छ भन्ने यकिन हुनसक्छ।

त्यसैगरी, ‘-‌यान्डम कलेक्सन’ गर्न सक्छौं। यसरी ३ तथा ५ वटा घर छोडेर हामी स्वाब कलेक्सन ग¥यौं भने पनि केही हदसम्म कति पोजेटिभ केस छन् पत्ता लगाउन सक्छौं।

संक्रमण बढ्दै जाँदा जतिबेलाको चुनौती हामीलाई बिरामी राख्ने ठाउँ हुँदैन। प्रदेश २ मा अहिले एउटा अस्पताल त्यही पनि पोजेटिभ केस राखिरहेका छौं। अन्य कुनै अस्पताल तयारी अवस्थामा रहेका छैनन्। बिनालक्षणको केसले अस्पताल भरिन्छ । लक्षण भएका बिरामी जब आउन थाल्छन् हामीले उपचार दिन सक्दैनौं। त्यसकारण, बिनालक्षणको केसमात्र व्यवस्थापन गर्ने भनेर केन्द्रले नै निर्देशन आएन भने गाह्रो हुन्छ ।

अन्त्यमा केही भन्नुहुन्छ ?

अस्पतालमा भएका कोभिड बिरामीलाई सकेसम्म स्रोतसाधनले पुगेसम्म व्यवस्थापन गरिरहेका छौं। बिरामीलाई एक्लोपन नहोस् भनेर फ्रि वाइफाई, टिभी र स–साना बालबालिकाका लागि खेलौना व्यवस्था गरेका छौं। खाजा तथा खानाको व्यवस्थापन गरेका छौं। उहाँहरूलाई अस्पताल बस्दा अप्ठ्यारो महसुस नहोस् भनेर विभिन्न किसिमले व्यवस्थापन गर्न खोजेका छौं। अझै हामीबाट केही कमीकमजोरी भएको हुनसक्छ, त्यसलाई मनन गरेर सुधार गर्दै जानेछौं।

जति पनि अहिले देखिएका बिरामीहरू बिनालक्षणका छन्। कुनै व्यक्तिलाई शंका लाग्छ भने चेक गराउनुहोला। भारत वा अन्य कुनै मुलुकबाट आउनुभएको छ वा संक्रमित व्यक्तिसँग सम्पर्कमा रहनुहुन्थ्यो भने कुनै संकोच नमानी नमूना परीक्षण गराउनुहोस्। जसले गर्दा समाजमा फैलिने रोगलाई कम गर्न सक्छौं। आफू पनि बचौं, अरुलाई पनि बचाऔं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय