अत्यावश्यक काममा हिँडेकालाई केही समूहले दु:ख दिँदै

झापामा अत्यावश्यक काम र कार्यालय हिँडेका मानिसलाई चोकचोकमा समूह बनाएर बसेका केही व्यक्तिले अनावश्यक दु:ख दिन थालेका छन्। लकडाउनको अवज्ञा गरेर केही समूहले आवागमनमा अवरोध गर्नेगरेको पीडितहरू गुनासो छ।

स्पष्ट परिचय खुल्ने कागजात बोकेर कार्यालय हिँडेका व्यक्तिलाई समेत त्यस्ता समूहले रोक्ने गरेको सतासी सहकारीका सञ्चालक सन्तोषकुमार श्रेष्ठले बताए।

उनले अत्यावश्यक काम र वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई अवरोध नगर्न आग्रह गरे। बिर्तामोडमा केही सहकारीहरू र वित्तीय संस्थाहरूले निश्चित समय तोकेर सेवा प्रवाह गरिरहेका छन्। कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीले समेत आवागमनमा अवरोध गर्नेलाई नै सहयोग गर्ने गरेको स्थानीयको गुनासो छ।

त्यसरी बाटो अवरोध गर्नेहरूले जनप्रतिनिधिको सल्लाह र समन्वयमा त्यस्तो काम गर्दै आएको दावी गर्ने गरेका छन्। तर, जनप्रतिनिधिहरूले त्यस्तो कार्य गर्न कसैलाई निर्देशन नदिएको बताएका आएका छन्।

बिर्तामोडमा यसअघि स्थानीयले मनखुशी ढाट तेर्साएर आवागमनमा अवरोध गरेका थिए। ती ढाट जनप्रतिनिधिको आग्रहमा प्रहरीले हटाएपछि ठाउँठाउँमा समूह बनाएर बाटो अवरोध गर्न थालिएको छ।

बिर्तामोडको कृषि थोकरोड, कन्काइरोड, अग्रसेन भवन पश्चिम, परिचय आवास क्षेत्र दक्षिण, पुरानो भद्रपुररोड पूर्वमा यस्ता समूहको हावी रहेको छ।

बिर्तामोड- ४ मुनालटोलका स्थानीय केशव खतिवडाले बजारका मुख्यचोकमा खटिएका सुरक्षाकर्मीले समेत सर्वसाधारणलाई हप्काउने गरेको गुनासो गरे।

‘म हिजो (शनिबार) वुवाको श्राद्धको सामान किनेर फर्कदै थिएँ। सत्य कुरा बताउँदा पनि प्रहरीले सुनेन। मोटरसाइकलको चावी खोसेर थन्क्याइदिने धम्की दिँदै केहीबेर मुक्तिचोकबाट अगाडि बढ्नै दिएन।’

बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डे भने त्यस्तो नभएको दावी गर्छन्। उनी लकडाउनमा कसैले पनि बाहिर ननिस्केको राम्रो भएको बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय