कोरोनाले कठिनाइ छ, तर सबै नेपाली निराश छैनन्

कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिन लागू भएको बन्दाबन्दीका कारण मध्यपूर्व तथा भारतमा कार्यरत् नेपाली कामदारहरूले आफूमाथि परेको प्रभावबारे भिन्दा–भिन्दै कथाहरू बताएका छन्।

कुराकानी समेटिएका आप्रवासी मजदुरहरूको कथाले पूर्ण यथार्थ परिस्थितिको चित्रण भने गर्दैन।

दशाैं लाख नेपाली नागरिक विभिन्न खाडी मुलुक, एसियाली उपद्वीप, मलेसिया, इन्डोनेसिया तथा दक्षिण कोरियालगायतका ठाउँमा कार्यरत छन्। जसमध्ये कयाैं कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सिकार बनेका छन्। यस्ता संक्रमितमध्ये कति विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा त कति स्थानीय सरकारद्वारा स्थापित क्वारेन्टाइन सिविरमा छन्। विभिन्न सञ्चारमाध्यममा आएका समाचारअनुसार भारतमा कार्यरत् ठूलो संख्याका नेपाली नागरिकहरू रक्सौलको बाटो हुँदै वीरगन्जलगायत दुई देशबीचका अन्य प्रवेशमार्गबाट नेपालतर्फ प्रवेश गरिरहेका छन्।

तेजी लाल

माथि उल्लेखित राष्ट्रका सरकारले आप्रवासी नेपाली कामदारको हकमा जनाउने प्रतिक्रियाले उनीहरूको भाग्य वा दुर्भाग्यको निर्धारण गर्नेछ। सरकारका निर्णय तथा उचित स्वास्थ्यसेवाले उनीहरूको रोजगारी सुनिश्चित हुने गुन्जाइस रहन्छ । तर प्रतिकूल निर्णयका कारण थप आप्रवासी नेपाली कामदार संक्रमणको जोखिममा पर्ने, रोजगारी गुमाउने तथा नेपाल फर्कन बाध्य हुनुपर्नेसम्मको परिस्थिति निम्तिन सक्छ।

हाल दुबईमा कार्यरत् जनकपुरका ३७ वर्षे तेजी लाल त्यहाँको सरकारले आप्रवासी कामदारको खाद्यान्न तथा अत्यावश्यक सामग्रीको सहज खरिद सुनिश्चित गरेको जानकारी दिन्छन्। उनी विगत १२ वर्षदेखि दुबईमा कार्यरत् छन्। सवारीसाधनमा रंग लगाउने काम गरिरहेका उनी आफ्नो रोजगारदाता २४ अल अरेयिबा अटो सर्भिससँग खुसी र सन्तुष्ट छन्।

‘कम्पनीले महामारीका कारण कर्मचारीहरूको काम गर्ने समय हेरफेर गरेको छ। हामी आजकल एकदिन काम गर्ने र अर्को दिन बिदामा बस्ने तालिका पछ्याइरहेका छाैं,’ उनले जानकारी दिए, ‘हामीले कम्पनीबाट मास्क, पन्जा र सुरक्षावस्त्रलगायतका सुरक्षा सामग्री पाएका छाैं भने ग्राहकसँग व्यवहार गर्दा दुई मिटरको दूरी कायम गर्छौं।’

रवि दानवाडे

यूएईमै दुई दशकदेखि कार्यरत् भारत महाराष्ट्रका रवि दानवाडेले कोरोना भाइरसको संक्रमण रोक्न दुबईको सरकारले कडा सावर्जनिक आदेश जारी गरेको बताए।

उनका अनुसार उक्त आदेशको अवज्ञा गर्ने जो कसैलाई पनि एक हजारदेखि ५० हजार यूएई दिरामसम्म जरिवाना घोषणा गरिएको छ भने क्वारेन्टाइन उल्लंघन गर्ने, अस्पताल भर्ना नहुने वा औषधी सेवन नगर्ने तथा सपिङ मल, बजार, सिनेमा हल, क्लब तथा रेष्टुराँजस्ता सार्वजनिक स्थलमाथिको बन्देज पालना नगर्नेले ५० हजार यूएई दिरामसम्म जरिवाना तिनुपर्छ।

दुबई सरकारले कोभिड–१९ विरुद्ध अवलम्बन गरेको कडा सुरक्षा प्रावधानले त्यहाँका स्थानीय नागरिकका साथै असंख्य आप्रवासी कामदारलाई पनि लाभ पुर्‌याइरहेको छ। नेपाली कामदारको हकमा पनि समान अवस्था छ।

शंकर बोहोरा

उता भारतको टेक्सटाइल तथा हीराको ‘हब’ मानिने गुजरातमा रेष्टुराँमा ‘सेफ’ को रूपमा कार्यरत् शंकर बोहोरा लकडाउनको कारण दु:खी छन्। बन्दाबन्दीका कारण आम्दानीविहीन बन्नुपरेकाले उनलाई आफ्नो जीवन नै रोकिएजस्तो महसुस भइरहेको छ।

‘कोभिड–१९ ले नेपालीमात्र हैन सबैका लागि अदृश्य सुनामी निम्त्याएको छ,’ उनी भन्छन्, ‘दुई महिना अघिसम्म म जस्तो सामान्य कामदार त के कसैले पनि यस्तो प्रकोप सामना गर्नुपर्छ होला भनेर सोचेका थिएनन्। यो प्रकोपले सबैलाई कष्ट दिएको छ। तर, गरिब नागरिक झन् बढी प्रताडित बनेका छन्।’

फेबु्रअरीसम्म उनीलगायत केही नेपाली आप्रवासी कामदारहरू सुरतको भाथा गाउँबाट ४०० मिटर पर रहेको मध्यमस्तरको ब्ल्याक चिल्ली रेष्टुराँमा रोजगारी गर्दथे। अझ सन् २०१९ सम्म त उनीलगायत अन्य कर्मचारीको जीवन सुन्दर र आशावादी देखिन्थ्यो।

३१ वर्षे शंकरका अभिभावक, तीनजना दाजुभाइ र एक बहिनीसहितको परिवार नेपालको सुदूरपश्चिमस्थित धनगढीमा बसोबास गर्छन्।

आश्रित परिवारजनलाई यथासम्भव पालनपोषणनिम्ति शंकरजस्ता लाखाैं नेपाली भारतको विभिन्न सहरमा कठिन श्रम गर्दछन्। तर २०१९ को अन्त्यतिर ब्ल्याक चिल्ली रेष्टुरेन्टको मालिक निहाल बाबरियाले गिर्दो व्यवसायका कारण आफ्नो रेष्टुराँ बेच्ने निर्णय गरेपछि उनीलगायत सहकर्मीको आयमा अनिश्चितता छाउन थाल्यो।

बाबरियाको रेष्टुराँ बेच्ने ५ महिनादेखिको चाहना अन्ततः गत फेव्रुअरीमा पूरा भयो । यतिबेलासम्म भारतमा कोरोना भाइरसले ठूलो विपत्तिको सिर्जना गरिसकेको थिएन। उनले आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई कामबाट बिदा दिए। तर कर्मचारीहरूलाई कामविहीन हुन नदिने आफ्नो वाचा पूरा गर्दै उनले शंकरसहित अन्य सम्पूर्ण कामदार सदस्यलाई सुरतस्थित आफ्नो एउटा साथीको रेष्टुराँमा रोजगारी दिलाइदिएका थिए।

‘मैले पूर्व कर्मचारीहरूलाई अन्य रेष्टुरेन्टमा काम दिलाइदिनुपर्ने कर्तव्यबोध गरें। भारतको उत्तराखण्ड तथा नेपालबाट आएका कर्मचारीमध्ये केही घर फर्के भने बाँकीले नयाँ रोजगारी पाए,’ बाबरिया भन्छन्, ‘कामविहीन हुँदा उनीहरूको हालत यति दयनीय थियो कि आफ्नो परिवारसँग कुरा गर्न समेत उनीहरूको फोनमा ब्यालेन्स थिएन। मैले नै उनीहरूको मोबाइलमा रिचार्ज गरिदिने गरेको थिएँ ।’

तर शंकरको पीडाको अध्याय पूरा भइसकेको छैन।

नयाँ जागिर पाएता पनि हालसम्म पारिश्रमिक भने नपाएको उनको दुखेसो छ। ‘रोजगारदाताप्रति मेरो कुनै गुनासो छैन। हालको बन्दाबन्दीको कारण रेष्टुराँको व्यवसाय नै शून्य छ। उनीहरूले कम्तीमा हामीलाई हरेक दिन खाना उपलब्ध गराइरहेका छन्,’ उनी थप्छन्।

सुरेश पोखरेल

सबै आप्रवासी कामदारको कथा शंकरको जस्तो निराशाजनक भने छैन । सुरेश पोखरेलजस्ता भाग्यमानी कामदार पनि भारतमा काम गरिरहेका छन् । करिब एक वर्षअघि यहाँ आएका ललितपुर पुल्चोकका सुरेश केरलाको कोचीस्थित एक निजी कम्पनीमा काम गर्छन्।

हाल लकडाउनको कारण आफू थोरै प्रभावित भएको उनी बताउँछन्। अन्य साथीहरूसँगै मिलेर कार्यालयको कम्पाउन्डभित्र काम गर्ने तथा खाना खाने गरेका उनलाई हालको परिस्थितिप्रति धेरै गुनासो छैन। ‘बाहिरको सपिङ मल तथा अन्य सार्वजनिकस्थलतिर जान नपाए पनि हालको समयलाई मैले आफ्नो अध्ययनमा उपयोग गरिरहेको छु,’ उनी सुनाउँछन्।

स्थानीय निकायले पर्याप्त स्वास्थ्यसुरक्षा उपायहरू अपनाएकोप्रति उनी आभारी छन् ।

भारत सरकार, गैरसरकारी संस्था तथा धार्मिक संगठनहरूले सञ्चालन गरेको स्थानीय सामुदायिक सेवाका कारण सुरेशजस्ता अन्य धेरै नेपाली कामदारले ढुक्कका साथ आफ्नो दैनिक जीवनलाई अगाडि बढाइरहेका छन्।

उदाहरणकै लागि, सुरत म्युनिसिपल कर्पोरेसनले आप्रवासी कामदार सहित साँढे ५ लाख असहाय मानिसका लागि हरेक दिन खाना उपलब्ध गराइरहेको छ। यसैगरी बीएपीएस स्वामी नारायण संस्थाले आप्रवासी कामदारबाहेक अन्य युवा, अविवाहित मानिस तथा वृद्धवृद्धालाई दिनको करिब एक लाख पाकेट खाना वितरण गरिरहेको छ।

अस्थायी समयका लागि विभिन्न संस्थाहरूले आप्रवासी कामदार तथा अन्य असहाय व्यक्तिहरूका लागि राहत सामग्री तथा खाद्यान्न वितरण गरिरहे पनि दुई महिनादेखि ‘कोमा’ मा रहेको अर्थतन्त्रलाई कसरी पुनर्जीवन दिने र यस कोरोना भाइरसलाई कसरी निर्मुल गर्ने भन्ने प्रश्नको जवाफ भने कसैसँग पनि छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय