आगामी बजेटमा कोरोनाबाट नागरिकको जीवनरक्षा तथा सर्वसुलभ स्वास्थ्यसेवा सुनिश्चित गरिनेछ: अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले कोरोनाको महामारीबाट नागरिकको जीवन रक्षा गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्यसेवा सुनिश्चित गरिने बताएका छन्।

संघीय संसदको आइतबारको बैठकमा ‘आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्दै खतिवडाले उक्त जानकारी दिएका हुन्।

‘गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्यसेवा सुनिश्चित गरी लोककल्याणकारी राज्यको दायित्व निर्वाह गर्ने दृष्टिकोणबाट आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने छ,’ खतिवडाले भने।

भविष्यमा आउने विपद र पूर्वतयारी व्यवस्थापनतर्फ आगामी वर्षको बजेटले पर्याप्त ध्यान दिने जानकारी पनि खतिवडाले दिएका छन्।

कोरोना महामारीको संक्रमणबाट जोखिम नियन्त्रण गर्न चालिएका कदमहरूबाट अर्थतन्त्रमा देखिएको शिथिलताको अन्त्य गर्दै आर्थिक गतिविधिलाई नयाँ विश्वास जागरण, क्रियाशीलता र द्रूत गतिमा अघि बढाउने गरी बजेट आउने उनले बताए।

‘र, स्थायित्वसहितको उच्च आर्थिक वृद्धिदरको चरणमा शीघ्र प्रवेश गर्नेगरी अर्थतन्त्रलाई थप गतिशील बनाउने गरी बजेट केन्द्रित हुने छ,’ खतिवडाले भने।

कोरोना र यस प्रकारका महामारीविरुद्ध लड्न स्वास्थ्य प्रणालीलाई सवल र सुदृढ तुल्याइने खतिवडाले बताएका छन्।

संघीय सरकार, प्रदेश र स्थानीय तहको सहलगानीमा पूर्वाधार विकास, जनशक्तिको क्षमता अभिवृद्धि र स्वास्थ्य बिमाको विस्तारमार्फत स्वास्थ्य प्रणालीलाई उत्थानशील बनाइने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय