६ महिना होटल बन्द हुँदा ११ लाख श्रमिकको हाल के होला?

कोरोना विश्व महामारीका कारण नेपालका होटल–रेष्टुँरामा कार्यरत् झण्डै ११ लाख श्रमिकको रोजिरोटी गुम्ने भएको छ। न्युनतम पारिश्रमिक दिने सीमित होटलबाहेक अधिकांशले कर्मचारी पाल्न नसक्ने घोषणा गरिसकेका छन्।

होटल–रेष्टुँरासम्वद्ध श्रमिक संगठनले सरकार र व्यवसायीलाई श्रमिकलाई आधारभूत आवश्यकताबाट विमुख नगर्न आग्रह गरेका छन्। तर त्यसको कार्यन्वयन पक्ष आशलाग्दो देखिन्न।

चैत ११ गते सुरू भएको लकडाउनका कारण होटल क्षेत्रको व्यापार शुन्य प्रायः भएको छ। वैशाखसम्मको तलब दिने, त्यसपछि ६ महिना होटल बन्द गर्ने होटल एसोसिएसन नेपाल (हान)को निर्णयले पनि श्रमिक संगठन तर्सिएका छन्।

‘मजदुरको अवस्था बिजोग छ,’ अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघका महासचिव मुक्ति दाहालले भने, ‘होटल र पर्यटन क्षेत्र सुचारू भए श्रमिकले काम पाउने हुन्, अहिले सबै क्षेत्र ठप्प छ।’

दाहालले श्रमिकलाई जीवन चलाउन पुग्ने गरी राहत प्रबन्ध गर्न सरकार र होटल सञ्चालकसँग संवाद भए पनि निष्कर्षमा नपुगेको बताए।

सामाजिक सुरक्षा कोषको आस

सरकारले गतवर्ष धुमधाम प्रचारसहित सुरू भएको सामाजिक सुरक्षा कोषबाट श्रमिकले राहत पाउने आशा महासचिव दाहालले व्यक्त गरे।

सबै होटल प्रतिष्ठान र श्रमिकहरू सामाजिक सुरक्षा कोषमा दर्ता नभएका कारण समस्या आउनसक्ने उनले बताए। ‘कोष पूर्ण रूपमा कार्यान्वयनमा आएको छैन, त्यसैले प्राविधिक रूपमा समस्या छ,’ उनले भने।

सरकारले दर्ता भइसकेकालाई पैसा दिने घोषणा गरेको छ। तर, दर्ता नगर्नेहरूको संख्या अत्यधिक छ।

श्रमिकलाई राहत दिन आर्थिक प्याकेज बनाउने विषयमा छलफल भइरहँदा होटल संघले गरेको ६ महिने बन्दको घोषणाले असर पारेको दाहालले बताए। गर्ने तयारी भइरहेको थियो।

संकटका बेला श्रमिकलाई बचाउन सरकारका विभिन्न तहसँग छलफल गरिरहेको दाहालको भनाइ छ। श्रममन्त्री र पर्यटन मन्त्रीलाई मागपत्र बुझाइएको र श्रम सल्लाहकार समितिमा छलफल भइरहेको उनले बताए।

‘आफू पनि बाँच्ने र अरूलाई पनि बचाउने अर्थात् महामारीमा व्यवसायीलाई पनि भार नपर्ने गरी मध्यमार्गी बाटोबाट अघि बढ्ने विषयमा हामी सल्लाह गर्दै छौँ, होटल प्रतिष्ठान वा कम्पनीहरू बन्द हुनुपर्छ र श्रमिकहरू मात्रै बाँच्नुपर्छ भन्ने कुरा होइन,’ उनले भने, ‘सरकार, व्यवसायी र श्रमिकको सहकार्यबाटै महामारीविरुद्धको लडाइँ जित्न सकिन्छ।’

होटल श्रमिकको अधिकारका लागि मुख्य रूपमा अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघसहित नेपाल स्वतन्त्र होटल, रेस्टुरेन्ट तथा क्यासिनो मजदुर यूनियन, नेपाल पर्यटन सम्बद्ध श्रमिक संघ लगायतका संगठन अहिले सक्रिय छन्।

सरकारले पहल गर्नुपर्छः होटल संघ

होटल व्यवसायीहरूले महामारी र संकटका बेला राज्य उत्तरदायी हुनुपर्ने बताएका छन्। सरकारका तर्फबाट सहयोग भएमा होटल बन्द गर्नुपर्ने अवस्था नआउने उनीहरूको तर्क छ।

होटल एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले रोजगार संरक्षण कोष निर्माण गरी होटल व्यवसायी र श्रमिकका समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।

‘हामीले दिएको पैसाबाट मात्रै परिवार पाल्न पुग्दैन, अपुग भएको पैसा चाहिँ रोजगारी संरक्षण कोषबाट परिपूर्ति होस्, ६ महिनाका लागि यसरी जाऔँ भनेको हो, कम्तिमा हाम्रा कर्मचारीको जीवनयापन भयो, बिहान–बेलुका खान समस्या हुनु भएन। ६ महिनाको समय प्राप्त भयो भने त्यसपछि के गर्न सकिन्छ भनेर योजना बनाउन सकिन्छ,’ शाहले भने।

२०७४ भदौदेखि सामाजिक सुरक्षा कोष सुरू भयो। तर, त्योभन्दा पहिल्यै २०७०–०७१ सालदेखि नै कर्मचारीको तलबबाट १ प्रतिशत काटेर सामाजिक सुरक्षा कोषमा पठाउने गरेको शाहले बताए। ‘त्यो पनि ठूलो धनराशी छ, त्यो पैसा रोजगारी संरक्षण कोषमा सदुपयोग गर्नुपर्‌यो भन्ने हाम्रो माग हो,’ उनले भने।

नेपाल पर्यटन बोर्डले तयार पारेको रिपोर्टमा ‘पर्यटन क्षेत्र बचाउन, सर्भाइभ गर्नका लागि २० अर्ब रूपैयाँको बजेट चाहिन्छ’ भनेर सिफारिस गरेको छ। त्यही २० अर्ब रूपैयाँबाट रोजगारी संरक्षण कोषमा केही पैसा राखिदिँदा यो समस्या समाधान हुने शाहले बताए।

‘हाम्रा कर्मचारीलाई चैत महिनासम्मको सबै तलब दिएका छौँ, वैशाखको अन्त्यतिर आइसक्यौँ, यो महिनाको पनि तलब दिनुपर्छ, जुन क्षमता हामीसँग छैन, व्यापार शून्य भएपछि तलब दिन सक्ने अवस्था छैन,’ वरिष्ठ उपाध्यक्ष शाहले भने, ‘सरकारले सहयोग गरेन भने हामी व्यवसाय बन्द गर्न बाध्य हुन्छौँ।’

One thought on “६ महिना होटल बन्द हुँदा ११ लाख श्रमिकको हाल के होला?

  1. Kina yesto garnu hunxa tapai haru sarkar le hamro rojiroti kina khosdaixaaaa..hamro laigi kasle sochne ta aabaaa 50% jati ta aru kunai rojgar ma hola tara 50% jati sabai hotel resturant line mai xan aba tni haru kasare jivan chalauna sakxan testo lagi ni ta k hi garnu paryo ….hotel resturamt kasare banda huna sakxaaa banda garna dna hudainaaa natra hami nepali lai garo hunxa yo kura khai kasle bujheko ….sarkar le hamro rojiroti kina khosdai xan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय