दक्षिणी झापामा अपरिचित व्यापारीलाई गाउँ प्रवेशमा रोक

निर्धारित दायरा तोड्ने सब्जी व्यापारीलाई दक्षिणी झापाका गृहिणीहरूले जताबाट आयो त्यतै फर्काइदिन थालेका छन्।

एक गाउँबाट अर्को गाउँ नजान प्रहरीले दिएको निर्देशन सब्जी व्यापारीले उल्लंघन गर्न थालेपछि गृहिणीले त्यस्तो कदम चालेका हुन्।

दक्षिणी सीमावर्ती गाउँपालिका गौरीगञ्ज–२ की निर्मला भट्टराईले पछिल्ला दिनमा अपरिचितका सब्जी व्यापारी गाउँगाउँमा आउन थालेपछि बाध्य भएर उनीहरुलाई फर्काउनु परेको बताएकी हुन्।

अपरिचितका व्यक्तिलाई गाउँमा निर्वाद घुम्न दिँदा कोरोनाको संक्रमण हुने त्रास बढेकाले उनीहरुलाई गाउँमा नछिरिदिन भनेको भट्टराई बताइन्।

सबैलाई खुल्ला छोड्दा गाउँमा भारतीय व्यापारी पनि छिर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर त्यस्तो गरिएको स्थानीयको भनाइ छ।

मीठो खाने भन्दा पनि बाच्नु ठूलो कुरा भएकाले टाढाका र अपरिचितका सब्जी व्यापारीलाई गाउँ प्रवेशमा रोक लगाइएको उनीहरू बताउँछन्।

जसोतसो घरकै उत्पादन खाएर गुजारा टार्ने पक्षमा आफूहरु रहेको गौरादह–९ की पवित्रा गुरागाईले बताइन्। उनले यस्तो बेला सबैले सचेत हुनुपर्ने बताइन्।

‘कसैको उत्पादन खेर जानु हुँदैन, सबैले व्यापार र उपभोग गर्न पाउनु पर्छ,’ उनले भनिन्, ‘तर, कोरोना संत्रासको यो बेला आफ्नै गाउँमा सुफत मूल्यमा बिक्री गर्नु हरदृष्टिले राम्रो हो।’

खुल्ला सीमा भएका कारण लिकीछिपी भारतीय व्यापारी पनि गाउँ पस्ने भयले गाउँमा रोक लगाइएको हो।

स्थानीय व्यापारीलाई निर्वाद अल्लो गाउँ पल्लो गाउँ गर्न दिँदा थप समस्या सिर्जना हुने गृहणीहरु बताउँछन्।

सीमा प्रहरी चौकी कुञ्जीबारीका असई दीपक कँडेलले ठेला लिएर हिँड्ने व्यापारीको निगरानी बढाइएको बताए। ‘लकडाउन सुरु भएदेखि नै अपरिचितका र टाढाका व्यापारीलाई जनप्रतिनिधिसँगको समन्वयमा गाउँ पस्न रोकिएको छ,’ उनले भने।

स्थानीय व्यापारीलाई पनि आफ्नो टोल गाउँबाट अन्यत्र नजान निर्देशन दिइएको प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय