भारतमा ७ लाख नेपाली संकटमा, भोकभोकै छन् ५० हजार श्रमिक र विद्यार्थी

सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ का आर्थिक विपन्न नागरिकको पहिलो रोजगारीको गन्तव्य भारत नै हो।

हिमाली क्षेत्रमा संकलित जडिबुटीको व्यापार गर्नेदेखि भारतीय सहरमा प्रसिद्ध चिनियाँ फास्टफुडको व्यवसाय चलाएर दैनिकी धान्नेको संख्या लाखौँमा छ।

र, ती श्रमिकमा आश्रित परिवारको संख्या झण्डै तीन गुणा बढी छ। कोरोना महामारीबाट उत्पन्न परिस्थिति र लकडाउनपछि उनीहरूको रोजगारी गुमेको छ। भोकमरी सिर्जना भएपछि ज्यान गुमाउन नै समस्या भएको उनीहरूले बताएका छन्।

‘काम गर्न नपाएको डेढ महिना भयो, अहिले चुल्हो बाल्ने कुरा नगर्नुस्, आफ्नै ज्यान जोगाएर फर्किन पायौँ भने भाग्य,’ दिल्लीमा फास्टफुडको व्यापार गर्ने अर्घाखाँचीका गुमानसिंह मगरले एक शब्दमा भने।

दिल्लीको सिर्जनानगरमा मगर फास्टफुड चलाउँछन्। उनले परिवारको ५ जना सदस्यसहित १४ जनालाई रोजगारी दिएका छन्। तर, लकडाउनले व्यापार बन्द भएपछि उनको आम्दानी शून्य छ।

‘त्यतिबै जाओ भन्न पनि मिलेन, १४ जनालाई डेढ महिना खाने व्यवस्था गर्न निकै गाह्रो छ, अब चै सरकारले राहत दिएन भने ज्यान जोगाउन मुश्किल छ,’ मगरले भने।

भारतमा ७ लाख नेपाली बेरोजगार

रोजगारीको राम्रै गन्तव्य भारतमा रहेका नेपालको रोजगारी गुमेको छ। सुरक्षागार्डमा काम गर्ने केही बाहेक अरू पेसा व्यवसायमा संलग्न सबैको काम बन्द छ।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेका अनुसार भारतमा झण्डै ७ लाख नेपाली बेरोजगारी र भोकमरीको संकटमा छन्।

‘हामीले गरिएको अध्ययनमा ५० हजार नेपालीको अवस्था संकटपूर्ण छ, त्यसमा धेरैजसो विद्यार्थी र श्रमिक–मजदुर छन्,’ पाण्डेले भने, ‘कतिपयले अहिलेसम्म ऋण गरेर जीवन चलाइरहेका छन्, अब त त्यो पनि नहुने अवस्था भइसकेको छ।’

दिल्लीमा मात्रै १५ हजार विद्यार्थी अध्ययन गर्छन्। त्यसमध्ये झण्डै १० हजार विद्यार्थी संकटको सामना गर्न बाध्य भएको उनले बताए।

श्रम गरिखाने, होटल, रेस्टुराँ तथा व्यापारिक प्रतिष्ठानमा काम गर्ने मजदुरहरू धेरै रहेकाले पनि भारतमा काम गर्ने नेपाली समुदायमा समस्या जटिल रहेको पाण्डेको भनाइ छ।

‘थोरै तलबमा काम गर्नुपर्ने, अरू सेवासुविधा पनि केही नपाउने भएकाले पनि नेपाली कामदार समस्यामा छन्, मौसमी व्यापार गर्न आउनेको अवस्था पनि उस्तै नै छ,’ पाण्डेले भने।

जसरी हुन्छ नेपाल फर्किने मनस्थितिमा नेपालीहरू रहेको बताउँदै पाण्डेले सरकारले आवश्यक पहल गरेमा क्वारेन्टाइन पूरा गरेर घर जान सबै तयार रहेको जानकारी दिए।

‘राजदूत स्वामीका दास मात्रै भए’

जनसम्पर्क समितिका अध्यक्ष पाण्डेले नेपाल फर्किन नसके पनि भारतका विभिन्न सहरमा अलपत्र नेपालीलाई तत् तत् ठाउँमै खाने बस्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको बताए।

नेपाली दूताबास र राजदूत निलाम्बर आचार्यले पनि नेपाली समुदायमा उत्पन्न समस्या समाधानमा ध्यान नदिएको गुनासो पाण्डेले गरेका छन्।

‘राजदूत स्वामीका दास मात्रै भए, नेपालीको पीडा बुझेनन्, उद्दार र राहत त सम्झिने मात्रै भयो, अलपत्र परेका नेपालीहरूलाई सामाजिक संस्था खोजेर जिम्मा लगाउने र दायित्वबाट पन्छिने काम दूताबासले गर्न सुहाएन,’ उनले भने।

अलपत्र नेपालीलाई कूटनीतिक पहलमार्फत खाने र बस्ने व्यवस्था गर्न माग गरेका पाण्डेले तीर्थयात्राका क्रममा अलपत्र परेका र विद्यार्थीहरूलाई उच्च प्राथमिकतामा राखेर राहत दिन सरकारसँग आग्रह गरेका छन्।

२० हजार नेपालीलाई राहत

सरकारले पहल नगरे पनि भारतमा सक्रिय सामाजिक संघसंस्थाले राहत वितरण गरिरहेका छन्। दिल्ली, गाजियावाद, पञ्जावको लुधियाना, गुजरात, बैङ्लोरदेखि कलकत्तासम्म राहत वितरण गरिँदैछ।

लकडाउन सुरू भएपछि शनिबारसम्ममा २० हजार नेपालीलाई राहत वितरण गरिसकेको जानकारी पाण्डेले दिएका छन्।

‘नेपाली जनसम्पर्क समितिसहित विभिन्न सामाजिक संघसंस्थाहरू अहिले पनि राहत कार्यमा लागेका छन्,’ पाण्डेले भने, ‘विभिन्न क्षेत्रका अगुवासँगको समन्वयमा राहत वितरण गरेर नेपालीहरूको दैनिकी सहज बनाउने प्रयत्नमा हामी छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय