जुम्ल्याहा जन्माएकी महिलाको ज्यान जोगाउँदा…

वसन्त आचार्य/तुलसीपुर
प्रकाशित
२०७७ वैशाख २७ गते १६:३२

शुक्रबार साँझ ७ बजे तुलसीपुर उपमहानगरपालिका कोरोना विपद् व्यवस्थापन समितिका फोकल पर्सन विमल केसीबाट तारन्तार फोन आएको थियो। ‘क्वारेन्टाइनमा रहेकी महिलाको तत्काल उद्दार गर्नुपर्ने भयो। नगरप्रमुख सचिवालयको तर्फबाट तपाईले केही सहयोग गर्नुप-यो’ हतासपूर्ण आवाज सुनेपछि केही ठूलो संकट आँकलन गरेर म हतार–हतार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुगें।

अघिल्लो दिन क्वारेन्टाइनमा आएकी तुलसीपुर उपमहानगर वडा १३ फुलबारीकी अनिता यादवलाई सुत्केरी व्यथाले च्यापेपछि मध्यान्ह १२ बजे क्वारेन्टाइनबाट अस्पताल ल्याइएको रहेछ। शरीरमा रगतको मात्रा कम भएको र अप्रेसन गरेर बच्चा निकाल्नुपर्ने भएपछि तत्काल नेपालगन्ज लैजान चिकित्सकले सुझाएका रहेछन् । नेपालगन्ज लैजाने भनेपछि सबै हतास देखिन्थे। किनभने ती महिलाको आफन्त जो भने पनि उपमहानगरपालिकाबाट खटिएका कर्मचारीमात्रै थिए। १२ बजे अस्पताल ल्याइएकी ती महिलाको आफन्तलाई खबर गर्दा कोही नआएपछि कर्मचारीले मात्रै कसरी नेपालगन्ज लैजाने सबै चिन्तामा थियौं। उनको अप्रेसन गर्दा हस्ताक्षर गर्ने आफ्नो मान्छेसमेत थिएनन्।

अन्ततः नेपालगन्ज नै लैजाने भनेपछि मैले विपद् व्यवस्थापनको नेतृत्व गर्नुभएका शाखा अधिकृत भीमप्रकाश खत्रीलाई मैले वडाका जनप्रतिनिधिलाई खबर गर्न आग्रह गरें। अध्यक्षको फोन लागेन। वडा सदस्य विनोद पाण्डेले फोन उठाए। उनले नेपालगन्ज जानका लागि तयार रहेको जानकारी दिए। तर फोन राखेको आधा मिनेटमै उनको श्रीमतीको फोनबाट आयो, ‘उहाँ जान सक्नुहुन्न आफैं मिलाउनु, नेकपाका नेता मोहन पौडेललाई भन्नुस्।’ वडा सदस्य पाण्डेले पनि ‘हो’ मा ‘हो’ मिलाए।

त्यो दिन, जनस्वास्थ्य निरीक्षक विमल केसीको छोराको जन्मदिन परेको थियो। त्यही अवसर छोपेर उनले दुई नानी र सुत्केरी आमालाई कपडा किनिदिए। विपद् व्यवस्थापन शाखाका अधिकृत भीमप्रकाश खत्रीले व्यक्तिगत पहलमा सबैलाई खानाको व्यवस्था गरिदिए।

कर्मचारीभन्दा पनि वडामा जानेको बुझेको एकजना मानिस लैजानलाई मैले सल्लाह दिएँ। सोहीअनुसार गर्भवती महिलाकी छोरी, श्रीमान र मोहन पौडेललाई लिन पुनः गाडी पठाइयो (पहिलो पटक गाडी पठाउँदा उनी आउन मानेनन्) । गाडी लिन जानेबित्तिकै यता नगरप्रमुख घनश्याम पाण्डे र चिकित्सकसँगको परामर्शपछि स्त्रीरोग विशेषज्ञ डाक्टर विनोद सिंह प्रादेशिक अस्पतालमै सुत्केरी गराउन राजी भए। यसमा मेडिकल सुपेरिटेन्डेन्ट डा. सर्वेेश शर्माले विशेष भूमिका खेलेका थिए।

अप्रेसन त गराउने तर गर्भवती महिलामा रगत कमी भएका कारण तत्काल ओ पोजेटिभको दुई पिन्ट ब्लड चाहिने भयो। आधा घण्टाभित्र कसरी ताजा ब्लड उपलब्ध गराउनु ? हामीलाई अर्को आपत् थियो । स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपाने, महिला शाखाकी माया श्रेष्ठ, महिला अधिकारकर्मी दीपा धिताललगायतको समूहलाई अर्को चिन्ता थपियो। हामी कसैको पनि ब्लड ग्रुप मिलेन । स्वास्थ्य कर्मचारी विष्णु गिरीको ब्लड ग्रुप मिलेकाले उनले तत्काल एक पिन्ट दिए । अर्को पिन्टका लागि मैले फेसबुकमा सहयोगको याचना गरेर स्टाटस पोस्ट राखें । तुलसीपुर नगर जेसिजका कार्यक्रम निर्देशक दामोदर न्यौपानले अर्को पिन्ट रगत दिए । तथापि फेसबुकमा राख्नेबित्तिकै दर्जनौं रक्तदाता आफू रगत दिन तयार रहेको भनेर सम्पर्कमा आएका थिए।

ती महिलाका श्रीमान ९ बजेतिर अस्पताल आइपुगे। उनको आफ्नो भन्ने श्रीमान र बच्चाहरूमात्रै रहेछन्। यसभन्दा अगाडि उनका २ छोरा र २ छोरी रहेछन्। अलि ठूली भनेकी जेठी छोरी कामका लागि भारतमा गएकी रहिछे भने अरु सबै १० वर्षमुनिका छन्। तर श्रीमानको अवस्था निकै नाजुक थियो । श्रीमतीलाई सहारा दिन बोलाइएका श्रीमानलाई हामीले सहारा दिएर बसाउनुपर्ने अवस्था थियो। मादक पदार्थ सेवन गरेर उनी केही थाहा नपाउने अवस्थामा थिए। उनलाई श्रीमतीको चासो र चिन्ता केही थिएन ।

सुत्केरी भएको अवस्थामा साथ दिने एक्लो मान्छे पनि अनिताको साथमा थिएन। निकै कारुणिक दृश्य थियो त्यो । तर युवा नेता मोहन पौडेलले सबै सम्हाल्ने आश्वासन दिएका थिए। गर्भवती महिलालाई रगत चढाउने तयारी गर्दागर्दै ‘नर्मल’ अवस्थामै उनको बच्चा जन्मियो। उनले जुम्ल्याहा नानीलाई जन्म दिइन्। सबैको अनुहारमा खुसी आयो। साँच्चै समयमै उद्दार गरेर अस्पताल ल्याउन सकिएकाले एउटी आमाको ज्यान बचेको थियो। बच्चा जन्मनेबित्तिकै कयौं दिनदेखि भोकप्यास मेटेर हिँड्दै आएकी अनिताको अनुहार एक्कासि उज्यालो छायो।

त्यो दिन, जनस्वास्थ्य निरीक्षक विमल केसीको छोराको जन्मदिन परेको थियो। त्यही अवसर छोपेर उनले दुई नानी र सुत्केरी आमालाई कपडा किनिदिए। विपद् व्यवस्थापन शाखाका अधिकृत भीमप्रकाश खत्रीले व्यक्तिगत पहलमा सबैलाई खानाको व्यवस्था गरिदिए।

यसरी क्वारेन्टाइनमा ल्याइएको गर्भवती अनिता चार महिनाअगाडि भारतको बिलौनी माइतीमा काम गर्न गएकी थिइन् । जँड्याहा श्रीमानले साह्रै दुःख दिन थालेपछि उनी त्यहाँ गएकी रहिछिन् । ‘रातदिन मारेपछि (कुटपिट गरेपछि) के गर्नु र ?’ उनले दुखेसो सुनाएकी थिइन् ।

‘घरमा बस्ने ठाउँ छैन, श्रीमानको अवस्था यस्तो छ, कसरी पाल्ने यिनीहरूलाई ?’ उनले निकै उदास भएर सुनाइन्। एकातिर अभावको पीडासँगै अर्कातिर गाउँलेको अपमान पनि अनिताले सहनुपर्नेछ । ‘श्रीमती इन्डियाबाट आएको हो भनेपछि सबै गाउँलेले हामीलाई गाली गर्न र हेप्न थालेका छन्’ तिलकरामको पनि गुनासो छ।

तर सुत्केरी हुने अन्तिम महिना चल्दै गर्दा त्यहाँबाट उनलाई घर फर्काइदिएको थियो । तागत हुँदासम्म जसको घरमा काम गरिन् । जहाँ गइन्, उसैले नै जानू भन्दै हेला गर्ने, पिट्ने र खान नदिने भएपछि आफ्नो घर सम्झनुबाहेक उनीसँग के नै विकल्प थियो र ?

लकडाउनको समय घर आउने कसरी ? नेपालगन्जमा निकै कडाइ गरिएको थियो। उनी गाउँतिरको बाटो हुँदै हिँडेर दुई दिनमा घरमा आइपुगिन्। उनी आएको गाउँलेले खबर गरे। ‘घरभित्र पनि पस्नेबित्तिकै स्वास्थ्य शाखालाई भारतबाट आएको महिला भनेर थिइन्’ उनका श्रीमान तिलकराम यादवले सुनाए।

स्वास्थ्य शाखाका कर्मचारीले बिहीबार राति नै उनलाई क्वारेन्टाइनमा राखेका थिए । शुक्रबार बिहान व्यथाले च्याप्न थालेपछि उनलाई प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।

अबको चिन्ता

अनिताका श्रीमानलाई काम गरेको पैसाले उनी आफैंलाई पनि खान पुग्दैन । उनी हरेक समय नसामा डुबेका हुन्छन् । २ छोरा र १ छोरी घरमा छन् । ठूलो छोरी काम गर्न भारतमा गएकी छिन्। घरमा खानका लागि केही पनि छैन। बच्चाहरू साना भएकाले स्याहार्ने पनि कोही छैन। दाङमा बस्न थालेको १५ वर्ष जति भएपछि उनीहरूका यहाँ आफन्त छैनन्।

‘के गरेर हुर्काउने हो ? एकैपटक दुईटा जन्मिए’ अनिताको अनुहारमा उदासी दौडिरहेको छ। बच्चा जन्मने बेला भएपछि उनलाई बन्दको अवस्थामा पनि घर पठाउने माइतीले सहयोग गर्लान् भन्ने कत्ति पनि आशा छैन। ‘घरमा बस्ने ठाउँ छैन, श्रीमानको अवस्था यस्तो छ, कसरी पाल्ने यिनीहरूलाई ?’ उनले निकै उदास भएर सुनाइन्। एकातिर अभावको पीडासँगै अर्कातिर गाउँलेको अपमान पनि अनिताले सहनुपर्नेछ । ‘श्रीमती इन्डियाबाट आएको हो भनेपछि सबै गाउँलेले हामीलाई गाली गर्न र हेप्न थालेका छन्’ तिलकरामको पनि गुनासो छ।

डा. किशोरको सहारा

जन्मिएका दुवै नानीको तौल निकै कम भएपछि उनीहरूलाई एनआईसीयूमा राखेर उपचार गर्ने भयो । स्वास्थ्य शाखाबाट सुत्केरीकाे अवस्थाबारे जानकारी हुनेबित्तिकै डा. किशोर खत्री सहयोगका लागि राजी भए। ‘ल्याउनुहोस् सबै उपचार मैले गर्दछु,’ डा. खत्रीले भनेका थिए । उनकै पहलमा अहिले आमा र दुई छोरीको उपचार भइरहेको छ । ‘धन्न, क्वारेन्टाइन भनेर अस्पताल ल्याएका कारण बाँचियो नत्र गाउँमै ज्यान जाने रहेछ’ अनिताले झनै डरलाग्दो कुरा भनिन्, ‘जंगलमै हिँड्दाहिँड्दै बच्चा जन्मेको भए म कुन अवस्थामा पुग्थें हुँला ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय