लकडाउन प्रभाव : डुब्नै लाग्यो सार्वजनिक यातायात, लाखौंको रोजगारी संकटमा, डेढ महिनामा ३० अर्ब घाटा

डेढ महिना बितिसक्यो, उनले ग्यारेजमा गाडी थन्काएको। भएको जग्गा बैंकमा धितो राखेर ‘नाइट बस’ किनेका उनले अझैं किस्ता तिरिसकेका छैनन्।

ग्यारेजमा थन्किएको बसका इन्जिन खियाले खान थालिसक्यो। पार्टपूर्जाहरु पनि बिग्रिन लागिसकेका छन्। बैंकको ३० लाख ऋण चुक्ता गर्ने साधन त्यही थियो। उनको परिवार पाल्ने, रोजीरोटीको साधन पनि त्यही हो।

दाङ तुलसीपुरका राजु पाण्डेको एउटा बस छ। त्यो बस उनी आफैं चलाउँछन्।

‘यस्तो महामारी आउला भन्ने कसले पो सोचेको थियो? यो लकडाउनले हामीजस्ता गरिखानेलाई घर न घाटको बनायो’, पाण्डे भन्छन् ‘म मात्रै होइन, धेरैले जग्गा धितो राखेर बस किनेका छन्। ऋण तिर्न नसके के हाल होला?’

उनीमात्रै होइन, सार्वजनिक यातायातको खर्बाैं लगानी यतिबेला डुब्ने अवस्थामा छ। सरकारले अत्यावश्यक क्षेत्रमा लकडाउन केही खुकुलो बनाएपछि सार्वजनिक यातायात भने कहिले खुल्ने भन्ने टुङ्गो छैन। लामो समयदेखि सार्वजनिक यातायातका साधन ग्यारेज तथा घरमा थन्किएका छन्।

सार्वजनिक यातायातको क्षेत्रमा आश्रित भई गुजरा चलाउनेहरू लामो समय सवारी नचल्दा समस्यामा परेका छन्। लकडाउन लम्बिदैँ गएपछि उनीहरूको रोजीरोटी नै गुम्न सक्ने अवस्था छ।

‘एकडेढ महिनादेखि सार्वजनिक यातायात बन्द हुँदा घर खर्च चलाउन समस्या भएको छ। लामो समय गाडी ग्यारेजमा थन्किएका कारण बिग्रिन थालेका छन्’, पाण्डे भन्छन्, ‘घरजग्गा धितो राखेर गाडी किनेको थिएँ। लकडाउनले बैंकको किस्ता तिर्न समस्या भयो।’

पाण्डेले घरजग्गा धितो राखि बैंकबाट ३० लाख ऋण लिएका छन्। लकडाउउनले गाडि घरमै थन्किएपछि उनले गाडिको किस्ता तिर्न सकिरहेका छैनन्।

गाडी ग्यारेजमा थन्किएको हुनाले इन्जिन बिग्रेर झन खर्च बढिरहेको छ। लामो समयदेखि ग्यारेजमा थन्किएकाले सवारीमा खिया लाग्ने, इन्जिन बिग्रिने टायर कुहिने गर्दा खर्च बढेको उनले गुनासो गरे।

बैंकमा किस्ता तिर्ने पैसा समेत नहुँदा उनलाई कहिले गाडि बेचौं भनएको छ। तर, लकडाउनमा उनले गाडि बेच्न सक्ने अवस्था पनि त छैन। त्यसैले उनी पीरोलिएर बसिरहेका छन्। आफ्ने देशमा केही गर्छु भनेर गाडि किनेका उनका लागि त्यही गाडि नै यतिबेला घाटो बनिदिएको छ।

‘भएको खेतबारी बेचेर गाडि किनीयो। अब न खेतवारी बच्यो, न गाडि नै बच्ने अवस्था छ’, पाण्डेले भने। गाडि चल्न बन्द भएसँगै गाडि मालिकको मात्र नभएर चालक र सहचालकको पनि बिचल्ली भएको छ। उनीहरूको पनि रोजीरोटी गुमेको छ। लामोसमयदेखि गाडि बन्द हुँदा चालक र सहचालक निकै मारमा परेका छन्।

ऋण तिर्न समस्या भइरहेको बताउँदै उनले किस्तामा सहुलियत तथा व्याज मिनाहाका लागि सबै व्यवसायीले सरकारसँग पहल गर्नुपर्ने बताए। लकडाउनको सबैभन्दा बढी प्रभाव सार्वजनिक यातायातमाम परेको भन्दै नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले सार्वजनिक यातायातको लागि राहात प्याकेज ल्याउनु पर्ने बताए।

‘सार्वजिक यातायातका साधनको वार्षिक कर, रुट प्रमिट, नवीकरण, जाचँपासको अवधि लकडाउन खुलेपछि स्वतः थप गर्न तथा चालक अनुमतिपत्र नवीकरण गर्दा लकडाउन खुलेको तीन महिनासम्म जरिवाना नलाग्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छौं’, महासचिव सिटौलाले भने, ‘देशको अर्थतन्त्रमा वार्षिक १० खर्बको योगदान दिने यातायात क्षेत्रलाई सरकारले सहयोग नगरे ठूलो घाटा लाग्ने छ।’

सार्वजनिक यातायात क्षेत्रसँग करिब १० लाख मानिस प्रत्यक्ष–अप्रत्यक्ष जोडिएका छन्।

सार्वजनिक यातायात डुब्दा बैंक तथा बित्तीय संस्था पनि डुब्ने र सरकारलाई समेत ठूलो धक्का लाग्ने भन्दै उनले सरकारले सार्वजनिक यातायातका ग्राहकलाई राहात प्ययाकेजको व्यवस्था गर्नुपर्ने बताए।

लकडाउनको डेढ महिनाको अवधिमा सवार्वजनिक यातायातको क्षेत्रले करिब ३० अर्बको घाटा व्यहोरेको भन्दै महासचिव सिटौलाले यातायात क्षेत्र टाट पल्टिन तथा धरासायी हुनबाट बचाउन सरकाले बेलैमा ध्यान दिनुपर्ने बताए।

‘लकडाउनका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र सार्वजनिक यातायात हो सरकारले किस्ताको अवधिमा सहुलियत तथा ब्याज मिनाह गरी सार्वजनिक यातायातलाई बचाउनुपर्छ’, महासचिव सिटौलाले भने।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय