टुक्रे सुधारले सप्रिन्‍न हाम्रो स्वास्थ्य प्रणाली

नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न मुख्यतः तीन पक्ष अन्तरसम्बन्धित हुन्छन्ः नीति तथा कार्यक्रम, समग्र प्रणाली र प्रणालीगत क्षमता। एउटा बलियो भए अर्कोलाइ सहयोग पुग्न सक्छ भने कमजोर भए नकारात्मक प्रभाव पर्नसक्छ । कुनै मुलुकको स्वास्थ्य सेवा अवस्था के कस्तो छ भनेर हेर्न यो अन्तरसम्बन्धलाई विश्लेषण गर्दा पुग्छ।

हरेक मुलुकका आ–आफ्नै खाले स्वास्थ्य सेवा प्रणाली छन्। मुलुकपिच्छे व्यवस्थापन शैलीमा विविधता देखिनु अस्वभाविक भएन। तर सत्व चाहिं माथि उल्लेखित तीन आधारमै वेष्ठित हुन्छ। र, त्यसले नै सम्बन्धित मुलुकको स्वास्थ्य प्रणालीको हैसियत निर्माण गर्छ।

कोभिड १९ त सबैका लागि उस्तै हो। मात्रै फरक प्रभावित मुलुकको हताहती संख्यामा छ, जुन प्रतक्ष्यतः स्वास्थ्य प्रणालीको प्रभावकारितासँग जोडिन्छ। स्वास्थ्य प्रणालीभित्र स्वास्थ्य–शिक्षा र स्वास्थ्य–सेवा दुवै पर्दछ । तर धेरैजसो स्वास्थ्य सेवा बारे मात्र चर्चा हुने गर्दछ जुन अपूर्ण बहस हो । बलियो स्वास्थ्य प्रणालीका लागि स्वास्थ्य शिक्षा र सेवा दुवैको समान आवश्यकता छ।

अहिले विश्वको दुई तिहाइभन्दा बढी जनसंख्या लकडाउनमा छ। झण्डै ३५ लाखको हाराहारीमा उपचाररत छन्, १२ लाख जति निको भइ घर फर्किसकेका छन भने लगभग २ लाख ५० हजार जतिको निधन भइसकेको छ । स्वास्थ्य सेवा प्रणाली राम्रो छ भनिएका मुलुकमा पनि हताहती तुलनात्मक रुपमा धेरै देखियो। त्यहाँको स्वास्थ्य प्रणाली सबल छ भन्ने आधार देखिदैन् । तर जुन मुलुकमा माथिका तीन ओटै पक्ष सुदृढ छन्, त्यहाँको स्वास्थ्य सेवा सक्षम र प्रभावकारी रहेको देखियो ।

नेपालले आम नागरिकको स्वास्थ्य सेवा प्रभावकारी बनाउने हो भने नीति तथा कार्यक्रम, प्रणाली र क्षमता विकास गर्नुपर्ने देखियो । नीति तथा कार्यक्रम सोच र सेवाको प्रकृतिबाट निर्देशित हुन्छ भने प्रणालीमा संरचना र जनशक्ति समेटिन्छ। क्षमता भनेको सोच बमोजिमको सेवा र सुविधा परिचालन गर्ने सामथ्र्य हो । अहिले कोभिड १९ सँग जुध्दै गर्दा धेरै मुलुकमा खट्किएको पक्ष भनेको क्षमता नै हो ।

अन्यत्र जस्तै स्वास्थ्य शिक्षा र सेवाको क्षमतालाई वैयक्तिक, सांगठनिक र संस्थागत गरेर तीन भागमा बाँड्न सकिन्छ । मुलुकको स्वास्थ्य शिक्षा र सेवालाई बलियो बनाउने हो भने यी तीनओटै पक्षमा ध्यान दिनु आवश्यक छ ।

अन्यत्र जस्तै स्वास्थ्य शिक्षा र सेवाको क्षमतालाई वैयक्तिक, सांगठनिक र संस्थागत गरेर तीन भागमा बाँड्न सकिन्छ । मुलुकको स्वास्थ्य शिक्षा र सेवालाई बलियो बनाउने हो भने यी तीनओटै पक्षमा ध्यान दिनु आवश्यक छ ।

पहिलो वैयक्तिक क्षमता चाहियो । वैयक्तिक रुपमा हेर्दा नेपालका विशेषज्ञ र स्वास्थ्यकर्मीको क्षमता कमजोर छैन । मुलुकमा अहिले पनि अब्बल श्रेणीका स्वास्थ्यकर्मी कार्यरत् छन् । सरकारीभन्दा निजीमा विशेषज्ञ धेरै छन भन्ने गरिन्छ । तर मुलुक भित्रै योग्य, सबल स्वास्थ्यकर्मी उत्पादन गर्ने शैक्षिक संस्थाहरु छन् । अभ्यास गर्ने अस्पताल छन् । अध्ययन अनुसन्धान पनि भइ रहेका छन् । यस्ता जनशक्ति कति मात्रामा उत्पादन भइरहेका छन र तिनको प्रयोग के कसरी भइरहेको छ भन्ने विषयमा छुट्टै अध्ययन चाहिन्छ ।

अब रह््यो दोश्रो पक्ष, सांगठनिक क्षमता । मुलुकभित्र स्वास्थ्य सेवा प्रवाहमा स्वास्थ्य कार्यालय र अस्पतालहरु क्रियाशील छन् । स्थानीय तदेखि संघीय तहसम्म यस्ता संस्थाहरु फैलिएका छन् । यिनको क्षमता के कति मात्रामा छ र कति हुनुपथ्र्याे भन्ने विषय अहिले चर्चामा छ । अबका दिनमा चालु संस्थाहरुको सुदृढिकरणका साथै नयाँ संस्थाहरु पनि स्थापना गर्नुपर्ने हुनसक्छ ।

क्षमता भित्रको तेस्रो महत्वपूर्ण पक्ष भएका संस्थाको संस्थागत क्षमता कस्तो छ त भन्ने हो । यस्ता संस्थाहरुमा बेड संख्या, विशेषज्ञ संख्या, इन्टेन्सिभ केयर युनिट, उच्च प्रविधियुक्त मेशिन उपकरण र औजार, प्रयोगशाला आदिजस्ता पक्षहरु के कति मात्रामा छन् भन्ने बारेमा यकिन गर्नु आवश्यक छ ।

यी सबै पक्षको बारेमा समग्रतामा विश्लेषण गर्न यस सानो लेखमा सम्भव छैन । हाम्रो अवस्था देखाउनका लागि प्रयोगशालाको उदाहरण मात्र काफी हुनसक्छ । मुलुकका हरेक प्रदेशमा प्रयोगशाला थिए र अहिले केहि थप पनि गरिएका छन् । तर ती प्रयोगशालामा मेशिन उपकरण के कस्ता छन् ? उपकरणको अवस्था के कस्तो छ ? उपकरण र त्यसको संचालनका लागि जनशक्ति सामग्री र स्रोत साधनको अवस्था के कस्तो छ ? कोभिड १९ को नियन्त्रण गर्ने क्रममा हाम्रो भोगाइले नै हाम्रो अवस्था के रहेछ भनेर देखाइसक्यो जसमा थप बोल्नु आवश्यक छैन् ।

विगत त विगतै रह््यो । किन हुन सकेन भनेर एकले अर्कोलाई दोष लगाउनु वा देखाउनु पनि अब आवश्यक रहेन् । विगतमा काम नगरेको हुनाले नै अहिलेको अवस्था सृजना भएको हुनाले यसमा थप बोलिरहनु परेन । सबैभन्दा महत्वपूर्ण त अहिले र आज हामी के गर्दै छौँ र भोलि के गर्ने भनेर तय गरेका छौँ भन्ने नै हो ।

आखिर जे भए पनि महासंकटसँग त जुध्न नै पर्छ । चुनौती भनेको संकटको मूल्य कति घटाउन सकिन्छ भन्ने मात्र हो । कोभिड १९ पश्चातपछि पनि जीवन चल्छ नै । अब त भोलिका दिनमा स्वास्थ्य सेवालाई सुदृढ नबनाइ सुखै छैन।

यति बेला मुलुक छैठौँ चरणको लकडाउनमा छ । सामाजिक, आर्थिक रुपमा त्रसित जीवन छ । यस्ता संकेत आफैंमा पीडादायी त छन् । बुझ्न सकेमा यसले अवसरको ढोका पनि खोल्छ भन्ने गरिन्छ। दोस्रो विश्व युद्धको महासंकटपटि संयुक्त राष्ट्र संघ बनेको हो । यसपछि बेलायत, युरोप र अमेरिकामा थुप्रै सुधारका काम भएका थिए । अरु संकटबाट अन्य उपलब्धि पनि हासिल भएका छन् ।

यस्ता महासंकटको मार सीमान्तकृतमा बढि परेको पाइन्छ । अहिले मृत्यु हुनेहरु पनि यस्तै समूहका बढि छन् । लकडाउन भनुँ, भोकमरी भनुँ, आखिर पीडित हुने भनेका यहि समूहका हुन्। महासंकटपछि सुधार गर्ने अवसर त आउला तर यस्ता समूहले भोग्ने पीडाबारे चाहिं राज्य, अन्तर्राष्ट्रिय समुदायले सोच्नैपर्छ।

आखिर जे भए पनि महासंकटसँग त जुध्न नै पर्छ । चुनौती भनेको संकटको मूल्य कति घटाउन सकिन्छ भन्ने मात्र हो । कोभिड १९ पश्चातपछि पनि जीवन चल्छ नै । अब त भोलिका दिनमा स्वास्थ्य सेवालाई सुदृढ नबनाइ सुखै छैन। यसका लागि उपयुक्त समय अहिले नै हो। अबको बजेट तथा कार्यक्रममा यसलाई सम्बोधन गरौं। माथि भनिएजस्तै स्वास्थ्य शिक्षा र सेवाका नीति तथा कार्यक्रम, प्रणाली र क्षमता बढाइ सार्वजनिक क्षेत्रको सुदृढिकरण गरौं, जसका लागि केहि उपाय यस्ता हुनसक्छन् ।

स्वास्थ्य क्षेत्रको पुनर्संरचनाः

बदलिदो परिवेशलाई सम्बोधन गर्नका लागि समग्र स्वास्थ्य क्षेत्रको पुनर्संरचना आवश्यक देखियो । खुद्रा अर्थात टुक्रे सुधारबाट अब काम हुन सक्दैन् । यस्तो पुनर्संरचना नीति तथा कार्यक्रम, संरचना, सेवाको विविधता आदिलाई ध्यानमा राखेर गरौँ जसका लागि विज्ञ समूहले काम गर्नुपर्छ । सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यबाट गरिने पुनर्संरचनामा स्थानीय तह, जिल्ला तह, प्रदेश तह र संघिय तहबाट प्रदान गरिने सेवा, सोको लागि आवश्यक संरचना, संगठन र जनशक्ति यकिन गर्नुपर्छ ।

जिल्ला र प्रदेश तहका अस्पतालको सुदृढीकरणः

अहिलेको अनुभवले विशिष्ट र अति विशिष्ट सेवाका लागि प्रदेश तहमा संस्था स्थापना गरि त्यहाँ जनशक्ति पनि पुल गर्नुपर्ने देखियो । यसैगरी जिल्ला तहमा के कस्ता सेवा प्रदान गर्ने भन्नेमा पनि विविधता देखियो। अब यसलाइ बलियो बनाऔँ। जनशक्तिको माग र आपूर्तिको व्यवस्थापनका लागि प्रदेश तहका अस्पतालको क्षमता विकास गरी त्यहाँ स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रम संचालन गर्न सकिन्छ। उच्त शिक्षा प्रदायक संस्थाहरुसँग साझेदारीमा जनशक्ति विकास गर्ने ढाँचा पनि उपयुक्त हुनसक्छ ।

सार्वजनिक लगानीमा अभिवृद्धिः

कोभिड १९ को रोकथाम तथा नियन्त्रणको अनुभवले पनि के देखायो भने मुलुक स्वास्थ्य प्रणाली सार्वजनिक प्रकृतिको हुनुपर्ने रहेछ । यसमा निजी क्षेत्रलाई आउने वातावरण दिइ नाफा घाटामा चल्ने अवस्था सृजना गर्नै हुदैन । स्वास्थ्य क्षेत्रमा सार्वजनिक र गैर नाफामुलक साझेदारी मोडलका संस्था पनि विकल्प हुनसक्ने देखिन्छ । सार्बजनिक संस्थाको संख्या र क्षमता बढाउन यसमा लगानी बढाउनु पर्ने देखिन्छ ।

स्वास्थ्य शिक्षा र सेवाको एकीकृत मोडलः

स्वास्थ्य क्षेत्रमा सार्वजनिक निकायको सुदृढिकरणका लागि भएका सरकारी अस्पतालको क्षमता बढाइ त्यहाँ नै अभ्यास र अध्ययन गर्ने वातावरण तयार गर्नुपर्छ ।

र अन्तमा,

नेपालको सन्दर्भमा सार्वजनिक नीतिहरु बनाउन अध्ययन, अनुसन्धान र प्रमाणमा आधारित भइ बनाउने संस्कारमा न्यूनता छ । प्राधिकार निकायहरु नीति बनाउने अधिकार मेरो मात्र हो भनेर चल्दा राम्रो परिणाम ननिस्कन सक्छ। उच्च शिक्षाका निकाय र अनुसन्धान संस्थालाई यसमा लगाउनु पर्छ । हाम्रा विश्वविद्यालय त गफ गर्नैमा सिमित छन् । यत्रो महामारी भइरहेछ, यससम्बन्धी विषयमा कुन चाहिँ विश्वविद्यालय वा संस्था अनुसन्धान गर्न अगाडी स¥यो त ? भएन भन्न सजिलो छ । तर विकल्प के त ? विकल्प ल्याउने काम त यस्तै प्राज्ञिक निकायको हुनुपर्ने हो । सरकारले हामीलाई भनेकै छैन भन्न सकिएला । भनेको वा अह्राएको काम मात्र गर्ने हो भने प्राज्ञिक स्वतन्त्रताको नारा लगाउन छोड्न नै उपयुक्त हुन्छ । भनेर मात्र गर्नका लागि मन्त्रालय अन्तर्गतको विभाग बनाए पुग्छ, छुट्टै कानूनसहितको संरचना आवश्यक पर्दैनन् ।

यसैगरी विज्ञकै सहयोगमा संगठन, संरचना, प्रकृया र जनशक्तिको यकिन गरी त्यसको व्यवस्थापन गर्नेतर्फ लाग्नु आवश्यक देखिन्छ । साधारण प्रकृतिका कामजस्तै काम गर्दा भइहाल्छ भनेर औसतमा समायोजन गरेजस्तो ढंगबाट अबको स्वास्थ्य सेवा सन्चालन गरेमा पछि हामी पछुताउनुमात्रै पर्ला।

लेखकः सुदुरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय