‘कोरोना मजाक होइन, छैन–छैन भनेर पुग्दैन, परीक्षण व्यापक बनाउनुपर्छ’

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना भाइरसको परीक्षण तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

संघीय संसद प्रतिनिधिसभाको शुक्रबारबाट सुरू छैठौँ अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले नेपालमा कोरोनाको संक्रमण धेरै नदिएको भनेर ढुक्क हुने अवस्था नरहेको बताएका हुन्।

‘नेपालमा परीक्षण नगन्य छ, १० लाखसम्मको परीक्षण गरिएको छ, हिजोको तथ्याङ्क अनुसार प्रति १० लाख जम्मा ५ सय ३४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ,’ भट्टराईले भने।

सुदूरपश्चिम प्रदेशमा मात्रै एक लाखभन्दा बढी नागरिक विदेशबाट फर्किएको तथ्याङ्क प्रस्तुत गर्दै कीटको अभावमा परीक्षण रोकिएका कारण ढुक्क भएर बस्ने अवस्था नरहेको उनले बताए।

इरान र टर्कीमा सुरूमा थोरै संक्रमण देखिएपछि पछि धेरैको ज्यान गएको बताउँदै भट्टराईले सरकारलाई ढुक्क भएर नबस्न सुझाव दिएका छन्।

सरकारको तयारी कमजोर रहेको उल्लेख गर्दै भट्टराईले स्वास्थ्य सुरक्षाका उपकरणहरू, अस्पतालको व्यवस्थापन गर्न ढिलाई भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

त्यसैगरी, नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवासचन्द्र नेम्वाङले कोरोनाको महामारीका कारण धेरै ठूलो असर पारिसकेको बताएका छन्। नेम्वाङले ती नकारात्मक असरको निराकरणका लागि सबैले गम्भीर गृहकार्य गर्नुपर्ने बताएका हुन्।

नेता नेम्वाङले विदेशमा रहेका नेपालीको घर फिर्तीका सवालमा सरकार गम्भीर रहेको दावी गर्दै त्यस विषयमा आवश्यक कामहरू भइरहेको जानकारी दिए।

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले कोरोनालाई मजाकका रूपमा नदिन सरकारको ध्यानाकर्षण गरेका छन्।

‘कोरोना मजाक होइन है यो महामारी हो, छैन छैन भनेर पुग्दैन,’ महतोले भने, ‘विश्व स्वास्थ्य संगठनले के भनिरहेको सुन्नुहोस्, परीक्षण नगरेपछि के हो के हो।’

जनतामाथि संकट आउन सक्ने भएकाले परीक्षण र जोखिम नियन्त्रणका सबै उपाय अवलम्बन गर्न महतोले आग्रह गरे।

त्यसैगरी, सांसद दुर्गा पौडेलले पनि कोरोना भाइरसको महामारीविरुद्ध लड्न सरकारको तयारी पर्याप्त नभएको टिप्पणी गर्दै परीक्षण विस्तार गर्न माग गरिन्।

विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्ती वा सोही स्थानमा आवश्यक सामग्रीको प्रवन्ध गरी व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय