सिंहदरबारमा प्रदर्शन गरिरहेका ४७ चिनियाँ पक्राउ

आफ्नो देश फर्किन माग गर्दै लामो समयदेखि सडकमै प्रदर्शन गरिरहेका ४७ चिनियाँ नागरिक पक्राउ परेका छन्। कोरोना भाइरसको महामारी र लकडाउनमा फसेका उनीहरू सिंहदरबार अगाडिबाट शुक्रबार पक्राउ परेका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका चिनियाँ नागरिक पक्राउ परेका हुन्।

दिउँसो निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका चिनियाँ नागरिक नियन्त्रण क्रममा प्रहरीसँग केहीबेर तनाव भएको छ। चिनियाँ नागरिकले ढुंगामुडा गर्दा महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत सामान्य घाइते भएको परिसरले जनाएको छ।

पक्राउ परेका सबै चिनियाँलाई अहिले पुलिस क्लबमा राखिएको छ। परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार उनीहरू एक महिनादेखि सिंहदरबारअगाडि प्रदर्शन गरिरहेका थिए।

‘उनीहरूले दिनहुँ प्रदर्शन गरिरहेका थिए, निषेधित क्षेत्र नै तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो,’ ज्ञवालीले भने, ‘यसक्रममा प्रहरीले पक्राउ गरी राखेको हो।’ ती चिनियाँहरू एक महिनाअघिसम्म आफ्नो देश फिर्तीका लागि दूतावास धाइरहेका थिए।

दूतावासबाट स्वदेश फर्किने चाँजो नमिलेपछि उनीहरू सडकमा आउन थालेका हुन्। ‘उनीहरू आफ्नो देश फर्किन चाहन्छन्, दूतावासबाट प्रक्रिया के भइरहेको छ थाहा भएन, तर फर्किन नपाएको झोंकमा सडकमा आइरहेका छन्,’ ज्ञवालीले भने। ती चिनियाँ नागरिकहरू लामो समय लकडाउनमा फसेपछि दूतावास धाउन थालेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय