नतिजा तत्काल प्रकाशन गर्नू, विद्यार्थी भर्ना नलिनू : पोखरा महानगर

अनुप पौडेल/पोखरा
प्रकाशित
२०७७ वैशाख २६ गते १६:१८

पोखरा महानगरपालिकाले सबै विद्यालयलाई वार्षिक परीक्षाको नतिजाफल बैशाख महिनाभित्र प्रकाशन गर्न निर्देशन दिएको छ। महानगरले बैशाख महिनाभित्र नतिजा प्रकाशन गर्न भनेपछि पोखराका विद्यालयले नतिजा प्रकाशनका लागि आन्तरिक काम थालेको जनाएकाछन्। केही विद्यालयले भने नतिजा प्रकाशनसमेत गरिसकेका छन्।

नयाँ शैक्षिक सत्र सुरु भइसक्दासमेत अघिल्लो वर्षको वार्षिक परीक्षाको नतिजा प्रकाशन नहुँदा विद्यार्थी र अभिभावकमा अन्योलता सिर्जना भएकाले तत्काल नतिजा प्रकाशन गर्न भनिएको शिक्षा महाशाखा प्रमुख गंगाबहादुर गुरुङले बताए। ‘विद्यार्थी र अभिभावकमा अन्योलता सिर्जना भएपछि हामीले नतिजा प्रकाशन गर्न भन्यौं। त्यसपछि अहिले विद्यालयहरूले फोन र अनलाइनको माध्यमबाट नतिजा प्रकाशन गरिरहेका छन्,’ उनले भने।

कक्षा ८ को नगरस्तरीय परीक्षाको भने २९ गतेभित्र नतिजा सार्वजनिक गरिने महाशाखा प्रमुख गुरुङले बताए। ‘कक्षा ८ को परीक्षाको नतिजाफल के गर्ने भनेर बैठक बसेर निर्णय भएको छैन। २९ गतेसम्म नतिजाफल सार्वजनिक गर्छौँ,’ उनले भने।

नतिजा प्रकाशन भएपश्चात नयाँ पाठ्यापुस्तक पाउने अवस्था नभएकाले पुराना पाठ्यपुस्तकबाट स्वअध्ययन गर्न महानगरले विद्यार्थीहरूलाई आग्रह गरेको छ । ‘नयाँ पाठ्यपुस्तक तत्काल पाउने अवस्था नभएकाले विद्यालयले माथिल्लो कक्षा उत्तीर्ण हुने विद्यार्थीको पुरानो पाठ्यपुस्तक प्रयोग गरी स्वअध्ययन गर्नसक्ने व्यवस्था मिलाउन हुन अनुरोध छ,’ महानगरको सूचनामा भनिएको छ।

भर्ना प्रक्रिया भने संघिय सरकारको निर्देशनपछि मात्र थालिने उनले बताए। ‘संघिय सरकारले तत्काल भर्ना प्रक्रिया नथाल्नु भनेको छ। सोही अनुरुप संघको अर्को निर्देशन नआएसम्म भर्ना प्रक्रिया नथाल्नु भनेका छौं,’ उनले भने।

यसअघि महानगरले अनलाइन कक्षाले विकृति बढाएको भन्दै अनुमति बिना त्यस्ता कक्षा सञ्चालन नगर्न भनेको थियो। अनलाइन कक्षा बन्द गराउन माग गर्दै अभिभावकले महानगरमा उजुरी हालेका थिए। पोखरामा २ सय ७ वटा सामुदायिक र १ सय ७९ निजी विद्यालय छन्। ती विद्यालयमा १ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको महाशाखा प्रमुख गुरुङले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय