पूर्वराजा-रानी डेढ महिनादेखि दमकको मिनी दरबार ‘होम क्वारेन्टाइन’मा

चैतमा झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल डेढ महिनाभन्दा बढी समयदेखि दमकको मिनी दरबार होम क्वारेन्टाइनमा छन्।

स्रोतका अनुसार पारिवारिक भ्रमणमा निस्केका शाह दम्पत्ती चैत २ गते झापा पुगेका थिए।

चन्द्रगढी विमानस्थलमा उत्रिएर दमकको हिमालय चियाबगानस्थित ‘मिनी दरबार’मा पुगेका पूर्वराजा-रानी कोरोना भाइरसको महामारीमा बाहिर ननिस्किकन बसिरहेका हुन्।

पारिवारिक भ्रमण भनी निस्किएका उनीहरू दमक पुगेको ९ दिनमा लकडाउन सुरू भएको थियो। लकडाउन सुरू भएपछि दुबै जना होम क्वारेन्टाइनमा बसिरहेका हुन्।

‘यो बीचमा दुबै जना कतै पनि निस्किनु भएको छैन,’ पूर्वराजाका स्वकीय सचिव सागर तिमिल्सिनाले भने।

शाह तीन साता लामो भ्रमणका लागि भनेर झापा गएका थिए। लकडाउन सुरू भएपछि कहिले फर्किने भन्ने समय तय भएको छैन।

‘महामारी चलिरहेकाले कहिले फर्किने भन्ने अहिले केही टुंगो लागेको छैन,’ तिमिल्सिनाले भने।

दमकमा शाह दम्पत्ती मात्र छन्। पूर्वयुवराज्ञी हिमानीलगायत राज परिवारका अन्य सदस्य काठमाडौंमै छन्। परिवारका सदस्यबाट अलग्गै बसिरहेका पूर्वयुवराज पारस भने पोखरामा छन्।

‘लकडाउन रहेको बखत पालना गर्न र महामारीसँग जोगिन पनि उहाँ दमकमै रहनुभएको हो,’ पूर्वराजाका सहयोगी फणिराज पाठकले भने।

दमक रहँदा शाहले महत्वपूर्ण भेटघाट तथा धार्मिकस्थल भ्रमण गर्ने भनिएको थियो। तर, लकडाउन सुरू भएपछि शाहको कार्यतालिका भंग हुन पुगेको थियो।

हिमालय टि गार्डेनमा रहेका दरबार शाहको निजी हो। उनी त्यहाँ बाक्लो आउजाउ गरिरहेका हुन्छन्। त्यहीँबाट उनी धार्मिक, पारिवारिक तथा राजनीतिक भेट गर्ने गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय