भारतीय क्वारेन्टाइनमा १४ दिन बिताएका नेपाली सीमा आइपुग्दा पनि देश छिर्न पाएनन्

रोजगारीका लागि भारतमा बस्दै आएका धनुषाको कमला नगरपालिकाका दीलिप मण्डल खत्वे घर फर्किन भन्दै नेपालतर्फ हिँडे। कोरोना संक्रमणपछि भारतमा लागू भएको ‘लकडाउन’ पछि दीलिपको कामधन्धा बन्द भयो। कामधन्धा बन्द भएपछि उनलाई गाउँ फर्किनुको विकल्प थिएन्।

कोरोना संक्रमण बढिरहेको बेला भारतमा बस्नुभन्दा आफ्नै देश फर्कनुबेस भन्दै दीलिपले जसैगरी दर्जनौं नेपालीहरूलाई धनुषाको महिनाथपुर, इनर्वा र धनौजी नाकासम्म आइपुगे। नाकासम्म आउनुअघि उनीहरू सबैजना भारतको क्वारेन्टाइनमा १४ बसिसकेका थिए। क्वारेन्टाइनमा बसेको कागजातसमेत उनीहरूसँग थियो। गाउँ नजिककै नाकासम्म आइपुगेपनि उनीहरू भने घर पुग्न पाएनन्।

भारतबाट आएका उनीहरू सबैलाई सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले दशगजामै रोक्यो। आवतजावत पूर्ण रुपले बन्द रहेको भन्दै नाका प्रवेश गर्न नपाउने भन्दै सशस्त्र प्रहरीले उनीहरूलाई दशगजा कट्न दिएन्।

सशस्त्र प्रहरीले प्रवेशमा रोक लगाएपछि महिनाथपुर नाकामा आएकाहरू दशगजामै बसे। दशगजा क्षेत्रमा रहेको रुखको ओतमा रात बिताउन बाध्य भए उनीहरू। दशगजामा अलपत्र परेका उनीहरूलाई गाउँसम्म पु-याउन स्थानीय तहका प्रमुखले आफ्नो तर्फबाट सकेसम्मको प्रयास गरे। तर, केही चलेन।

अन्ततः उनीहरूलाई फेरी भारततर्फ नै पठाइयो। सशस्त्र प्रहरीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग समन्वय गरेर उनीहरूलाई सीमा नजिककैको क्वारेन्टाइनमा व्यवस्थापन गर्न भन्यो। भारतीय क्वारेन्टाइनले राख्न नमानेपछि उनीहरू फेरी नाकामा फर्के। तर, उनीहरूलाई प्रवेश दिइएन्।

भारतबाट आएका उनीहरू सबैलाई सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले दशगजामै रोक्यो। आवतजावत पूर्ण रुपले बन्द रहेको भन्दै नाका प्रवेश गर्न नपाउने भन्दै सशस्त्र प्रहरीले उनीहरूलाई दशगजा कट्न दिएन्।

धनुषामात्र नभएर प्रदेश २ को अधिकांश सीमामा अहिले यस्तै समस्या देखिएको छ। प्रदेश २ को पर्सादेखि सप्तरीसम्म ठूलो सानो गरी जम्मा १०९ नाकाहरू छन्। लकडाउनपछि फसेका मजदुरहरूलाई घरसम्म फर्कन भारतले रेललगायतका यातायात सञ्चालन गरेपछि त्यसतर्फ रहेका नेपालीहरू यता आउन थालेका हुन्।

तर, नाकासम्म पुगेपनि नेपालीहरू आफ्नै देश फर्कन सकिरहेका छैनन्। कामधन्धाबाट निकालिएका उनीहरू आफ्नै देश छिर्न नपाउँदा अलपत्र परेका छन्। सशस्त्र प्रहरीले नाका प्रवेश गर्न रोक लगाएपछि कतिपय चोरबाटो प्रयोग गरेर नेपाल प्रवेश गरेको बताइएको छ।

यकिन तथ्यांक नरहेपनि प्रदेश २ बाट ठूलो संख्यामा नेपालीहरू रोजगारका लागि भारतमा छन्। कोरोना संक्रमणको क्रम बढ्नुका साथै लकडाउन लम्बिँदै गएपछि उनीहरू नेपाल फर्कन थालेको बताइएको छ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव आफ्नै देशमा फर्कन नपाउनु दुर्भाग्यपूर्ण रहेको बताउँछन्। भारतका विभिन्न स्थानबाट नाकासम्म आइपुगेका नेपालीहरूको व्यवस्थापन चुनौतीपूर्ण देखिएको उनको भनाइ छ।

‘उनीहरू सबै नेपाली नागरिक हुन्, अहिलेको शंकटको घडीमा आफ्नो घर फर्कन खोजेका छन्,’ उनले भने,‘सीमाको जिम्मेवारी सम्हालेको संघीय सरकारले यो समस्या समाधान गर्न चासो दिएको छैन्।’

भारतबाट आएका प्रदेश २ का नागरिकहरूको व्यवस्थापन गर्न आफूहरू तयार रहेपनि संघीय सरकारको नीतिका कारण उनीहरू अलपत्र अवस्थामा रहेको मन्त्री यादव बताउँछन्।

‘धनुषामात्र होइन पर्सादेखि सप्तरीसम्म चार पाँचसयको संख्यामा भारतबाट आएका नेपालीहरू अलपत्र परेको हामीलाई जानकारी आएको छ,’ उनले थपे,‘सीमाको जिम्मेवारी संघीय सरकार मातहत छ, अलपत्र परेका नेपालीहरूलाई देशभित्र आउने वातावरण उसले बनाइ दिनु प-यो।’

कोरोनासँग सम्बन्धित समस्या समाधान गर्न आफूहरूले समन्वय गर्न खोजेपनि संघीय सरकारले मतलब नगरेको उनको आरोप छ।

यता, प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख डीआईजी राजु अर्याल नाका पूर्ण रुपले बन्द गर्न माथिल्लो तहमा भएको सम्झौताअनुसार भारतबाट आएका नेपालीहरूलाई प्रवेशमा रोक लगाइएको बताउँछन्।

‘नेपालमा फसेका भारतीयको जिम्मा हामीले लिनुपर्ने, भारतमा फसेका नेपालीको जिम्मा उनीहरूले लिनुपर्ने माथिल्लो तहमा सम्झौता भएको छ,’ उनले भने,‘कोरोना संक्रमणको सम्भावित खतरालाई हेरेर जो जहाँ छन् त्यहिँ बस्नुपर्ने छ। नाकाबाट प्रवेश गर्न पाइन्न।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय