‘मिलेसम्म प्रवासीहरू नेपाल जानुहुन्नँ, सरकारलाई लोड पर्छ’

संयुक्त राज्य अमेरिकाले सबैभन्दा बढी क्षति र चुनौतीका साथ कोरोना भाइरससँग लडिरहँदा त्यहाँको सार्वजनिक स्वास्थ्य हेर्ने मूल निकाय सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सेन (सिडिसी)मा कार्यरत् डा. सञ्जीव सापकोटा यतिबेला विश्वभर छरिएका नेपालीहरुलाई बचाउन दिनरात खटिरहेका छन्। गैरआवासीय नेपाली संघ(एनआरएनए)द्वारा गठित कोभिड १९ उच्चस्तरीय समितिका संयोजक डा. सापकोटासँग हेल्थपोष्ट नेपालका लागि अशोक अधिकारीले गरेको कुराकानीः

तपाईं कोरोना भाइरसबाट सबैभन्दा बढी आक्रान्त संयुक्त राज्य अमेरिकाको स्वास्थ्य नीति निर्माण तहमै कार्यरत् हुनुहुन्छ। कोरोनामाथि जित हात पार्नका लागि अहिलेको तपाईंहरुको खास ‘फोकस’ केमा छ?

अमेरिकाको स्वास्थ्य मन्त्रालयको नीति निर्माण तहमै काम गरिरहेको छु। यस हिसावले अनौपचारिक रूपमा यहाँका सबै समुदायसँग सम्पर्कमा बस्नुपर्छ। गैरआवासीय नेपाली संघ, कोडिभ १९ उच्चस्तरी समितिमा पनि काम गर्ने भएकाले धेरैतर्फका आयामहरू हेर्नुपर्ने हुन्छ। महामारी फैलिँदै जाँदा जनस्वास्थ्यका सम्बन्धमा विभिन्न खाले बहस हुनु स्वाभाविक हो। महामारीको प्रभावलाई न्यूनिकरण गर्दै समाधानको बाटो खोज्ने विषयमा नै धेरै डिस्कोर्सहरू केन्द्रित छन्।

कोरोना वैश्विक महामारीमा नेपाली डायस्पोराको स्थिति के कस्तो छ?

नेपाल बाहिर रहेका ५ हजारभन्दा धेरै नेपाली कोरोना भाइरस संक्रमित हुनुहुन्छ। मध्यपूर्वमा मात्रै ३ हजार संक्रमित भएको आँकडा छ। कतिपयले चाहिँ आफूलाई संक्रमण भएको थाहा पाए पनि अरूलाई जानकारी नदिएको स्थिति पनि छ। त्यसरी संक्रमण लुकाउनेहरूलाई पनि सचेत गराउने र चिकित्सकीय परामर्श दिने गरिएको छ।

ठाउँअनुसार नेपालीहरू अलग–अलग समस्यामा छन्। मध्यपूर्वमा निकै गम्भिर छ, जहाँ दशौं लाख नेपाली छन्। एउटै कोठामा कयौँ जना बसेका कारण संक्रमण फैलिने जोखिम उच्च छ। जति धेरै व्यक्ति सम्पर्कमा आउँछन् त्यति नै धेरै संक्रमण फैलिने सम्भावना रहने हो। तर संक्रमितहरुको स्वास्थ्य चाहिं समग्रमा नराम्रो होइन। सम्बन्धित मुलुकका सरकारले हेरविचार गरिरहेका छन्। त्यहाँ हामीले नेपाली समुदायलाई सुरक्षित रहन विशेष अपिल गरेका छौं।

अमेरिकाका हकमा नेपालीहरूको सबैभन्दा बढी घनत्व भएको क्षेत्र न्यूयोर्क र न्यूजर्सी हो। त्यहाँ नै नेपालीहरुलाई बढी चुनौती छ, संक्रमण छ। अमेरिकाका अरू राज्यमा नेपालीहरूको बसोबास अलि पातलो छ। वेलायतका केही ठाउँमा नेपालीहरुलाई समस्या छ। अफ्रिकामा बस्ने नेपालीहरूमा संक्रमण देखिएको छैन। दक्षिण कोरियामा पनि नेपालीलाई खासै ठूलो संक्रमण देखिएको छैन। यद्यपि, ढुक्क भएर बस्ने अवस्था छैन।

गैरआवासीय नेपाली संघको चिकित्सकीय टोली प्रभावित क्षेत्रमा बढी सक्रिय छ। स्थानीय कमिटीहरूले पनि नेपाली नागरिकलाई सुसूचित गराइरहेका छन्। मध्यपूर्वमा सचेतना अभियानलाई द्रूत गतिमा चलाइरहेका छौं। अस्ट्रेलिया र क्यानडामा बस्ने नेपालीहरूमा संक्रमणको संख्या निकै कम छ। जहाँ संक्रमण छैन वा न्यून छ, त्यहाँ बढ्न नदिन र जुन ठाउँमा संक्रमण उच्च छ त्यहाँ सतर्कता अपनाउन विशेष पहल गरिरहेका छौँ।

स्वदेश फर्कन चाहने नेपालीहरू के कति छन् र उनीहरुका लागि कसरी पहल गरिरहनु भएको छ?

अमेरिकासहित विभिन्न मुलुकमा नेपाल फर्कन चाहने नेपालीको संख्या हजारौँमा छ। यस विषयमा गैरआवासीय नेपाली संघको नेतृत्वले परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको छ। तथ्याङ्क संकलनको काम पनि केही देशमा भइरहेको छ। घर फर्कन चाहनेमा धेरैजसो विद्यार्थी नै छन्।

एकै पटक सबैजना जानेभन्दा पनि फेजवाइज हिसावले जाने रणनीति ठिक हो। यसमा सकेसम्म नेपाल जाने कार्यक्रम तत्काल नबनाउनेतर्फ पनि ध्यान जानुपर्छ। मिल्छ भने नजानु नै उचित हुन्छ। एकै पटक धेरै जना लान नेपाल सरकारलाई ठूलो लोड पर्छ। त्यसैले मिलेको खण्डमा भिसा लम्ब्याउन अनुरोध गरिरहेका छौँ। जानैपर्ने भएमा सम्बन्धित मुलुकमै प्रिक्वारेन्टाइन गर्ने र नेपाल पुगेपछि पनि क्वारेन्टाइनमा बस्ने भनेर गाइडलाइन बनाएका छौँ। र, सरकारलाई बुझाएका छौँ।

ठाउँअनुसार नेपालीहरू अलग–अलग समस्यामा छन्। मध्यपूर्वमा निकै गम्भिर छ, जहाँ दशौं लाख नेपाली छन्। एउटै कोठामा कयौँ जना बसेका कारण संक्रमण फैलिने जोखिम उच्च छ। जति धेरै व्यक्ति सम्पर्कमा आउँछन् त्यति नै धेरै संक्रमण फैलिने सम्भावना रहने हो। तर संक्रमितहरुको स्वास्थ्य चाहिं समग्रमा नराम्रो होइन। सम्बन्धित मुलुकका सरकारले हेरविचार गरिरहेका छन्।

बेलायतमा पूर्वगोर्खा समुदायको अवस्था के छ?

बेलायतमा रहनुभएका पूर्वगोर्खा सैनिक र उहाँहरूका परिवारहरू अलि समस्यामै हुनुहुन्छ। कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरूमा पनि पाका पूर्व गोर्खा सैनिक धेरै छन्। पहिल्यै अरू रोगको संक्रमण भएकामा बढी समस्या देखियो। गैरआवासीय नेपाली संघको चिकित्सकीय सहायता टोली त्यहाँ परिचालत छ, चिकित्सकहरूले स्पटमै गएर पनि काम गरिरहनु भएको छ। लाइभ सेसन पनि सञ्चालन भइरहेको छ। प्रश्नोत्तर कार्यक्रम गरेर मनोवैज्ञानिक त्रास हटाउने प्रयास पनि भइरहेको छ।

अमेरिकामा धेरै नेपाली चिकित्सकहरू फ्रन्टलाइनमा कार्यरत छन्। उनीहरुको अवस्थाबारे बताइदिनुस न्?

हाम्रो समितिमा मात्रै पनि धेरै डाक्टर र नर्सहरू क्रियाशील छन्। अस्पतालहरूमा सेवा दिने चिकित्सक र नर्सको संख्या ठूलै छ। दुई हजारभन्दा धेरै नेपाली डाक्टर र हजारौँको संख्यामा नर्स कार्यरत हुनुहुन्छ। सुरूआतका दिनमा पर्याप्त पिपिई नपाएको स्थिति पनि थियो। अस्पतालहरूसँग पनि स्टक थिएन। एन ९५ मास्क पर्याप्त नभएपछि माथिबाट अर्को मास्क लगाएर काम गर्नुभएको थियो। केही चिकित्सक र नर्स पनि कोरोनाबाट प्रभावित हुनुभएको थियो। तर, अहिले स्वास्थ्यलाभ गरिसक्नु भएको छ। तर, अहिले व्यवस्थापकीय हिसावले स्थिति सहज बन्दै गएको छ। डाक्टर,नर्सहरूले कामबाट फर्किएपछि कपडा फेरेर सरसफाइ, नुवाइधुवाइ गरेर मात्रै घर प्रवेश गर्नुहुन्छ। अहिले पनि जोखिम छ। यद्यपि, सुरक्षाका सम्पूर्ण नम्सहरू पूरा गरिएको छ।

राहत र उद्दारको काम चाहिँ कसरी सञ्चालन गर्नुभएको छ?

संक्रमितलाई औषधि उपचारको प्रबन्ध मिलाउने, आश्रित परिवारलाई आवश्यक पर्ने सामग्री प्रदान गर्ने र अरू कुनै समस्या परेका नेपालीलाई आवश्यकता अनुसार राहत दिने काम हुँदैछ। उपचार र राहतको विषयमा हामीले माथिल्लो निकायबाट निगरानी राखिरहेका छौँ। लक्षण देखिने बित्तिकै नलुकाउन र उपचार गर्न पनि आग्रह गरिरहेका छौँ।

एनआरएनएले हरेक देशमा स्वास्थ्य टोली बनाएको छ। टेलिहेल्थ टिम छ, स्वास्थ्यसम्बन्धी कुनै समस्या भए तत्कालै सम्पर्क गरी सरसल्लाह लिन सकिन्छ। अहिलेसम्म १५ सयभन्दा धेरैले हटलाइनमार्फत जानकारी प्राप्त गर्नुभएको छ। मानसिक तनाव हटाउनका लागि पनि चिकित्सकीय सल्लाह दिने काम भइरहेको छ।

नेपाल सरकारसँग कसरी समन्वय गरिररहनु भएको छ?

गैरआवासीय नेपाली संघको स्वास्थ्य टिमले नेपाल सरकारलाई निरन्तर सहयोग गरिरहेको छ, पिपिई, मास्क लगायतका आवश्यक सामग्री दिइरहेको छ। सचेतना अभियानका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिने कार्यमा संयोजन भइरहेको छ। कोरोना भाइरसको संक्रमणविरुद्धको रणनीतिक लडाईंमा हामी नेपाल सरकारको साथमा छौं।

दुतावासहरुसँग पनि एकदमै प्रभावकारी समन्वय भइरहेको छ। दूतावासहरू पनि सक्रिय तरिकाले लागेकाले नेपालीहरूले राहत महसुस गर्न पाएका छन्। मध्यपूर्व, बेलायत र अमेरिकाका दूतावासहरूले संक्रमित नेपालीमाथि सबैखाले निगरानी गरिरहेका छन। कतिपय नेपाली दूतावासले नेपाली नागरिकको स्वास्थ्य अवस्था, कोरोना परीक्षण र संक्रमितको संख्या वेबसाइटमै राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय