अस्पतालकाे टिम हाँक्दै काेराेनासँग लडिरहेकी डाक्टर संगीता

नेपालको स्वास्थ्य क्षेत्रमा नवीन सम्भावनाहरूको गोरेटो खोज्ने एक डाक्टर हुन् संगीता मिश्रा। विराटनगरस्थित कोसी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी आउनेवित्तिकै उनले कोरोना भाइरस (कोभिड-१९) महामारीको ‘फ्रन्टलाइन’ भूमिका निभाइरहेकी छिन्।

कोरोना भाइरस कोभिड-१९ को विश्वव्यापी महामारी प्रभावको परिणाम नेपालका धेरै स्वास्थ्य संस्थामा ताला नै लाग्यो। तर, मिश्राले कोसी अस्पतालमा यो समस्या निम्तिन दिइनन्।

सरकारी अस्पतालको प्रमुख भूमिकामा उनको यो पहिलो  जिम्मेवारी हो। यहीबेला अस्पतालको नेतृत्वदेखि कोरोना महामारीसँग जुध्नु एउटा डाक्टरका लागि चुनौतीपूर्ण थियो नै।

राति २-३ बजेसम्म उनी खटिरहेकी हुन्छिन्। अनिद्रा, भोक, प्यास सहेर काम गरिरहेकी छिन्।

प्रमुख डाक्टर भएका नाताले उनीसँग सूचनाको पहुँच विस्तार गर्ने साथै छिनछिनको ‘अपडेट’ लिने समूह राति अबेरसम्म सक्रिय रहन्छ। प्रदेश मन्त्रीहरूसँग रणनीति बनाउने, सहकर्मी डाक्टरहरूसँग समन्वय छुट्टै। सखारै फोनमा एसएमएस र मिसकलको चाङ हुन्छ।

सबैलाई ‘रेस्पोन्स’ दिँदै उनी सेवामा लागिरहेकी छिन्। यो कार्यकुशलता आफूभित्रको जिम्मेवारीबोधले सम्भव भएको मिश्रा बताउँछिन्।

भन्छिन्, ‘म यति व्यस्त भइरहन्छु कि कतिबेला को सँग भेटघाट, मिटिङ, कार्यालय र ओपिडी पुग्नुपर्छ सीमितता छैन।’

कोभिड-१९ को महामारी चलेपछि विशेषरी एक नम्बर प्रदेशमा कोरोना विशेष अस्पतालको खोजी भयो। धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरमा कोसी अस्पताल कोभिड-१९ का लागि मुख्य छानिए।

त्यसपछि योजनाबद्ध रूपमा कामको बाँडफाट, जनशक्ति व्यवस्थापन, परिचालन र सम्भावित चुनौतीहरूको अध्ययन थाली पूर्वतयारी गरेकाले नै कोसी अस्पतालको सेवामा प्रभाव नपरेको उनको भनाइ छ।

‘म यति व्यस्त भइरहन्छु कि कतिबेला को सँग भेटघाट, मिटिङ, कार्यालय र ओपिडी पुग्नुपर्छ सीमितता छैन।’

कोसी अस्पताल र कोभिड अस्पतालको संरचना छुट्टाछुट्टै छ। साल्ट ट्रेडिङ कर्पोरेसनमा स्थापना गरिएको कोभिड अस्पताल ७० शैयाको छ। यहाँ उपचार गराइरहेका उदयपुर र झापाका ३१ जना कोरोना संक्रमितमध्ये १४ जना निकाे भएर फर्किसकेका छन्।

कोरोना महामारीमा छुट्दै अस्पताल स्थापना र जनशक्ति परिचालनमा मिश्राले अग्र भूमिका छ। मिश्राले कुनै अभाव र गुनासोरहित ढंगले संक्रमितहरूलाई स्वास्थ्य सेवा दिइरहेकी छिन्।

संकलन गरिएका स्वाब कोसीकै ल्याबमा बढी आउँछन्। ती नमूनाको रिपोर्ट, पुन:प्रमाणीकरण र जानकारी स्वास्थ्य मन्त्रालयसम्म पुर्‍याउनुपर्छ।

‘कतिपय रिपोर्ट त यस्तो डाउटफुल आउँछन् कि क्रस भेरिफिकेसनका लागि धरान पठाउनुपर्छ,’ उनले भनिन्, ‘प्रमुख भएका कारणले सबैमा मैले विवादरहित ढंगले निर्णायक भूमिका खेल्नुपर्छ।’

सुरूका १५ दिन कोभिड अस्पतालको सम्पूर्ण व्यवस्थापन कोसी अस्पतालकै जनशक्तिबाट गरिएको थियो।

‘एक पटकमा २६ जनाको जनशक्ति कोभिड अस्पतालमा खटिएको हुन्छ, त्यो जनशक्ति १४ दिनका लागि क्वारेन्टाइनमा जानुपर्ने हुन्छ, एक हप्ता काम गरेपछि तीन हप्ता काम रोकिने भएपछि प्रदेश सरकारसँगको समन्वयमा करारका ५० प्रतिशत र कोसी अस्पतालका ५० प्रतिशत जनशक्ति परिचालन गरी काम अघि बढाइएको छ,’ मिश्राले भनिन्।

कोभिड अस्पतालमा पनि कोसी अस्पतालकै जनशक्ति परिचालन गर्न केही समस्या उत्पन्न भए पनि एक सातायता त्यो समस्या निवारण भएको मेडिकल सुपरिटेन्डेन्ट मिश्राले बताइन्।

मेडिकल सुपरिटेन्डेन्डको जिम्मेवारीमा आएपछि…

उनीले अस्पतालको मेसुको जिम्मेवारी पाएको तीन महिनापनि पूरा हुन पाएको छैन् । तर छोटो समयमै डा. मिश्राले आपतकलीन रुपमा आइपरेको महामारीको सामनासँगै मात्रै अस्पतालको दीर्घकालीन सुधारमा महत्व राख्ने थुपै काम पनि अगाडि बढाइरहेकी छन् । जसमा उनको सुरुवात निकै राम्रो देखिएको छ ।

कोसी अस्पतालमा पूर्वका लाखौं नागरिक स्वास्थ्यसेवा लिन जान्छन्। तर, अहिले पनि विभिन्न किसिमका समस्यासँग जुध्दै सेवा दिइरहेको छ कोसी अस्पतालले।

अस्पताल प्रशासनले निकै चुनौतीहरूका बीचमा पनि स्वास्थ्यसेवा प्रवाहलाई नियमित र प्रभावकारी बनाएको छ।

कोसी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएपछि डा. मिश्राले चरणबद्ध योजना बनाएर काम सुरू गरिन्। मिश्राले पहिलो काम कोसी अस्पतालको अतिक्रमित जग्गा फिर्ता गरेर प्रारम्भ गरिन्।

कोसी अस्पतालको भौतिक संरचना स्तरबृद्धि र निर्माणका लागि विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग सहकार्य भइसकेको छ। डा. मिश्राका अनुसार युरो र गाइनोकोलोजीको छुट्टै डिपार्ट बनाउनका लागि रकम र सामग्री दिने समझदारी गरिएको र पहिलो चरणको सामग्री आइसकेको छ।

‘कोसी अस्पतालको लालपूर्जा छ, जग्गा चाहिँ छैन, त्यहाँको जग्गा कसरी फिर्ता गर्ने र अस्पतालका लागि कस्तो संरचना बनाउन सकिन्छ भन्ने योजनामा लाग्यौं,’ उनले भनिन्।

संघीय आयोजनाका तर्फबाट प्राप्त बजेट संघीय आयोजना भवन विभागसँग समन्वय गरी चार वटा विधाका लागि भवन निर्माणको कार्य थालिएको डा. मिश्राले बताइन्। तर, कोरोना भाइरसको संक्रमणका कारण काममा बाधा उत्पन्न भएको जानकारी उनले दिइन्।

त्यसबाहेक अमेरिकन डिफेन्स कर्पोरेसनसँगको समन्वयमा अर्को काम थालिएको छ। कोसी अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमा प्रमुख भएकै बेला डा. मिश्राले अफिस अफ अमेरिकन डिफेन्स कर्पोरेसनसँग अस्पतालको सुधारका विषयमा समन्वय थालेकी थिइन्।

‘लामो छलफलपछि उहाँहरूले म्याटेर्निटी (मातृत्व) भवन निर्माण गर्ने र बर्थिङ सेन्टर बनाइदिने भन्नुभएको थियो, चार वर्षसम्म विभिन्न चरणका छलफलपछि हामीले मातृत्व भवनको प्रोजेक्ट लिन सफल भयौं,’ उनले भनिन्।

भवन निर्माणको काम सुरू भइसकेको जानकारी डा. मिश्राले दिइन्। उनी प्रमुखको जिम्मेवारीमा आएपछि नेपाल अमेरिका मेडिकल ट्रस्टसँग अक्सिजन प्लान्ट निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

कोसी अस्पतालको भौतिक संरचना स्तरबृद्धि र निर्माणका लागि विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग सहकार्य भइसकेको छ। डा. मिश्राका अनुसार युरो र गाइनोकोलोजीको छुट्टै डिपार्ट बनाउनका लागि रकम र सामग्री दिने समझदारी गरिएको र पहिलो चरणको सामग्री आइसकेको छ।

अस्पतालमा समयअनुसारको संरचनागत सुधारका लागि योजना निर्माण र कार्यान्वयन थप प्रयासहरू भइरहेको जानकारी उनले दिएकी छिन्।

महामारीमा देखाएको नेतृत्व क्षमता 

नेपालमा फाटफुट रुपमा मात्रै कोरोना देखिरहेको समयमा एकैपटक २८ जनामा संक्रमण पुष्टि भएपछि एक प्रकारको हाहाकारकै अवस्था थियो । यति धेरै संक्रमितको व्यवस्थापन कहाँ गर्ने ?
सबै संक्रमित कोसी अस्पताल पुर्‍याइए।

चिकित्सक र स्वास्थ्यकर्मीमा पनि त्रास र अन्योल थियो। त्यो परिस्थितिलाई उनको नेतृत्वमा अस्पतालका कुसल फिजिसियानलगायका जनशक्तिले अहोरात्र खटिएर सबै संकटलाई पार लगाउँदै अगाडि बढ्यो।

महामारी र संकटका बेला नै नेतृत्वको परीक्षा हुन्छ। कोसी अस्पताल प्रशासनले त्यो संकटलाई अवसरमा रूपान्तरण गरेको छ।

‘सबैभन्दा पहिलो कुरा त प्लान नै हो, हाम्रो टिमले किन जितेको छ भन्दा त्यो हाम्रो प्लानले नै जितेको छ,’ मिश्राले भनिन्।

डा. मिश्राले अस्पतालमा सेवा प्रवाहमा प्रभाव नपरोस् भनेर चरणबद्ध योजना बनाएकी थिइन्।

‘प्रसूतिमा पनि पूर्वतयारी चाहिन्छ, त्यसैगरी महामारीमा पनि पूर्वतयारी चाहिन्छ,’ उनले भनिन्, ‘कोरोना भाइरसको संक्रमण देखिनेवित्तिकै ननकोभिड र कोभिड बिरामीलाई छुट्टै राखेर उपचार गराउने व्यवस्था गरेका थियौं, त्यसले कहिले पनि हाम्रो सेवा प्रभावित भएन।’

‘सुरूमा मलाई काठमाडौंको प्रसूति गृहमा पोस्टिङ गरिएको थियो, तर मलाई मेरो क्षेत्रमै काम गर्ने चाहना थियो, त्यही भएर आफ्नो इच्छाले विराटनगर रोजेर आएकी हुँ,’ मिश्राले भनिन्।

नेतृत्वदायी भूमिकामा स्त्री तथा प्रसूति रोग विशेषज्ञ

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडी गरेकी हुन् डा. मिश्राले। स्त्री तथा प्रसुति रोग विशेषज्ञका रूपमा सन् २००५ उनले विशेषज्ञता हासिल गरेकी हुन्।

मिश्राले सन् २००८ मा जोन हप्किन्स विश्वविद्यालयबाट पूर्ण छात्रवृत्तिमा ‘मास्टर्स इन पब्लिक हेल्थ’ गरेकी छिन्। त्यसअघि नै उनले विद्यावारिधि गरिसकेकी थिइन्।

‘यहाँको स्वास्थ्य सेवा र नागरिकमा स्वास्थ्य पहुँचका विषयमा म जानकार नै थिएँ, अमेरिकामा अध्ययन पूरा गरेपछि मलाई नेपालमै काम गर्ने सोच थियो र म नेपाल आएँ,’ उनले भनिन्।

सरकारी सेवामा प्रवेश

वि.सं. २०६९ सालमा ‘फर्स्टक्लास अफिसर’मा डा. मिश्राको नाम निस्कियो। सरकार सेवामा प्रवेशको पहिलो खुट्किलो त्यही नै थियो।

‘सुरूमा मलाई काठमाडौंको प्रसूति गृहमा पोस्टिङ गरिएको थियो, तर मलाई मेरो क्षेत्रमै काम गर्ने चाहना थियो, त्यही भएर आफ्नो इच्छाले विराटनगर रोजेर आएकी हुँ,’ मिश्राले भनिन्।

‘फस्ट क्लास’ अफिसर भएको व्यक्तिले काठमाडौंमै काम गर्नुपर्छ भन्ने सुझाव पनि धेरै जनाले दिएको उनी सम्झिन्छिन्। ‘आइ वाज हियर बाई च्वोइस, नट बाई चान्स, त्यसमाथि पनि पूर्वमै पढेकाले पूर्व नै रोजें,’ उनले भनिन्।

कोसी अस्पतालमा विभागीय प्रमुख

डा. मिश्राको स्वास्थ्य समूह स्त्री तथा प्रसूति रोग हो। मिश्राले सुरूआतका दिनमा प्रमुख विशेषज्ञको जिम्मेवारीमा काम गरिन्। त्यो जिम्मेवारीबाट सिकेको अनुभवले अहिले धेरै काम गर्यो ।

कोसी अस्पतालको सबैभन्दा ठूलो विभाग स्त्री तथा प्रसूति रोग विभागको विभागीय प्रमुखको जिम्मेवारीमा उनी थिइन्। तीन महिनायता डा. मिश्राले कोसी अस्पतालको नेतृत्व गरिरहेकी छिन्।

झण्डै सात वर्षसम्म कोसी अस्पतालको स्त्री तथा प्रसूति रोग विभागको प्रमुख भएर काम गरेकी डा. मिश्राले महिलाका समस्याहरूलाई नजिकबाट चिनेकी छिन्।

पूर्वमा महिलाहरूमा प्रसूतिका जटिलताहरूलाई प्रशस्तै छन्। ‘पाठेघरको मुखको समस्या र आँङ खस्ने समस्या मेजर छन्,’ उनले भनिन्, ‘यसको निराकरणका लागि महत्त्वपूर्ण प्रयासहरू गर्नुपर्ने देखिन्छ।’

डा. मिश्राको बाल्यकाल भारतमा बित्यो। डा. मिश्राका बुवा सुशील कुमार र आमा राधा सिन्हा जागिरका लागि भारतमै रहेकाले उनको जन्म पनि त्यतै भयो। एमबिबिएससम्मको अध्ययन उनले झारखण्डको राँचीमा गरिन्।

वि.सं. २०३१ सालमा राँचीमा जन्मिएकी डा. मिश्रा स्कुल तहको पढाइ उर्सुलाइन कन्भेन्टबाट पूरा गरिन्। राँचीकै विमन्स् कलेजबाट प्लस टु अध्ययन गरेकी मिश्राले त्यसपछि राजेन्द्र मेडिकल कलेजबाट एमबिबिएस अध्ययन गरिन्।

‘अभिभावक पहिलेदेखि नै जागिरका लागि राँचीमै हुनुहुन्थ्यो, त्यसैले मेरो जन्म, प्रारम्भिक अध्ययन उतै भयो, तर एमबिबिएसपछिको पढाइ नेपाल आएर गरें, धरानमा एमडी गरेपछि मलाई यहीँ काम गर्ने सोच त्यतिबेला नै आएको थियो,’ उनले भनिन्।

स्वास्थ्य क्षेत्र सेवाको क्षेत्र रहेको डा. मिश्राको ठहर छ। नि:स्वार्थ भएर सेवा गरेमा त्यसले प्रतिफल अवश्य प्राप्त हुने उनले बताइन्।

‘यसमा धेरै पैसा कमाउने भन्ने सोच राख्नु हुँदैन, पैसासँग जोडिने क्षेत्र पनि होइन,’ उनले भनिन्, ‘यसमा सेवा महत्त्वपूण हुन्छ, काम गरेपछि पैसा आउँछ, तर धेरै पैसा कमाउँछु यो क्षेत्रमा लागेर भन्ने सोच राख्नु हुँदैन।’

आफ्ना अग्रजहरूले दिएको ‘काम, नाम अनि दाम’को मन्त्रलाई उनले सधैं मनन् गर्छिन्। ‘पहिले काम गर्नुपर्छ, आफैं ख्याती वा नाम हुन्छ, त्यसपछि आर्थिक विषय आफै सम्बोधन भइहाल्छ नि,’ उनले भनिन्।

डा. मिश्रालाई लाग्छ, परिवारको सहयोग बिना कुनै पनि काम सम्भव हुँदैन, सफल हुन सकिँदैन। उनले पनि आफ्ना काममा परिवारबाट सहयोग र दिशानिर्देश पाइरहेकी छिन्।

‘परिवारको सहयोग नभएसम्म केही पनि गर्न सकिँदैन, म आफूलाई निकै भाग्यमानी पर्छु, मेरो श्रीमान् र परिवारका सदस्यले एकदमै सहयोग गर्नुभएको छ,’ उनले भनिन्।

व्यावसायिक सफलता र चिकित्सा क्षेत्रमा हासिल भएको सफलताका पछाडि परिवारले दिएको हौसला, उत्साह र प्रेरणा नै रहेको डा. मिश्राको धारणा छ।

आफ्नो सफलतामा श्रीमान् राजेशकुमार मिश्राको पूर्णसाथ रहेका बताउँदै डा. मिश्राले भनिन्, ‘मेरो बच्चाहरू पनि बाहिर पढ्छन्, तर हामीलाई टाइम दिनुभएन भनेर गुनासो गर्दैनन्, उनीहरूका लागि दिने समय पनि समाजकै लागि दिएकाले उनीहरू पनि खुसी छन्, मेरो सफलतामा परिवारको ठूलो योगदान छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय