बेलायतमा कोरोना जितेकी नेपाली नर्स भन्छिन्- आत्मविश्वास गुमाए हार निश्चित!

मैले बेलायतका ठूला सरकारी अस्पतालमध्ये एक ‘लन्डन नर्थ वेस्ट युनिभर्सिटी हेल्थ केयर एनएचएस ट्रस्ट’ मा नर्सको जिम्मेवारीमा काम गर्न थालेको दुई वर्ष भयो। राजधानी लन्डनमा यो अस्पताल छ। यहाँ काम गर्नुअघि अर्को निजी नर्सिङ होममा १२ वर्ष काम गरेकी थिएँ। लन्डनमै बसोबार गर्न थालेको डेढ दशक भएको छ। नेपालमा मेरो घर काठमाडौं चन्द्रागिरि नगरपालिका नयाँ नैकापमा छ।

डेढ दशक बेलायतमा बिताउँदा कहिल्यै नचिताएको कोरोना भाइरस (कोभिड-१९) को पकडमा परेँ। जुन दिन मलाई कोरोनाको लक्षण देखियो त्यो दिन अहिले पनि भुल्न सक्दिनँ। गत चैत १० गते पनि सधैं झैं नियमित ड्युटी गरिरहेकी थिएँ। त्यसबेला हाम्रो अस्पतालमा कोरोना संक्रमित तीनजना बेलायती बिरामीको उपचार भइरहेको थियो।

म उनीहरूकै उपचारमा संलग्न थिए। त्यसबेला हामीलाई उपयुक्त निजी सुरक्षा सामग्री (पिपिई) दिइएको थिएन, सामान्य खालको पिपिईबाट काम चलाइएको थियो। त्यसमाथि अस्पतालमा कोरोना जाँच गर्ने किट पनि थिएन। त्यस दिन काम गर्दै जाँदा जाडो महसुस भइरहेको थियो। मैले त्यति वास्ता पनि गरेको थिइनँ।

जब ड्युटी सकेर घर आएँ, तब साँझबाट यति धेरै ज्वरो आयो कि बयान गर्न सक्दिनँ। ज्वरो मापन गर्दा १०६ डिग्री फरेनहाइट रहेछ। टाउको फुट्ला जस्तो गरी दुखेको थियो। त्यसमाथि सुक्खा खोकी लाग्यो, खकार पनि नआउने। बान्ता होला जस्तो हुने अनि लगातार खोकी लागेको लाग्यै हुने। पछि यसो सम्झिएँ- आफैंले सेवा गरेका कोरोना संक्रमित बिरामीको प्रत्यक्ष सम्पर्कमा बसेको र श्वासप्रश्वासका माध्यमबाट आफैंलाई कोरोना सरेको रहेछ।

‘म फाइटर हो, मलाई केही हुँदैन र म कन्फर्म निको हुन्छु’ भन्ने बलियो आत्मविश्वास जगाएँ। आफू यही क्षेत्रमा काम गर्ने भएकाले पनि त्यति डर लागेन।

असामान्य लक्षण देखिएपछि ‘सेल्फ क्वारेन्टाइनमा’ बसेँ। सात दिन बस्दा हुन्थ्यो तर १४ दिन क्वारेन्टाइन बसेँ। अस्पताल जाँदा झन् जोखिम बढ्ने भएपछि गइनँ। घरमै बसेर पारासिटामोल (ज्वरो कम गर्ने औषधी), तातो खानेकुरा, तातो पानी, तातो झोलपदार्थ खाइरहेँ।

आफूलाई कोरोना संक्रमण भएको थाहा पाउनासाथ ‘म फाइटर हो, मलाई केही हुँदैन र म कन्फर्म निको हुन्छु’ भन्ने बलियो आत्मविश्वास जगाएँ। आफू यही क्षेत्रमा काम गर्ने भएकाले पनि त्यति डर लागेन। आफूलाई डर नलागे पनि नेपालमा भएका परिवार असाध्यै डराए।

लन्डनमा दुई बेडरुम, एउटा भान्छा, एउटा बैठक कोठा र एउटा बाथरुम (ट्वाइलेट) भएको अपार्टमेन्टमा श्रीमान र छोरासँग बस्दै आएको मलाई कोरोना संक्रमण हुनासाथ क्वारेन्टाइन व्यवस्थापनामा ठूलो समस्या परेको थियो। एउटा बाथरुम भएका कारण मैले प्रयोग गर्नासाथ सफा गरिदिन्थेँ। श्रीमान र छोराले छुट्टै पकाएर खानुहुन्थ्यो। मलाई चाहिँ मेरो अपार्टमेन्ट नजिकै बस्ने भतिजोले खाना बनाएर ढोकामा ल्याएर छोडिदिन्थे र म आफैं गएर लिएर आउँथे। म आइसोलेसनमा बसेका कारण श्रीमान र छोरालाई भने कोरोना भाइरस संक्रमण हुन पाएन। उहाँहरूसँग कुराकानी गर्नुपर्दा माेबाइल फाेनबाट कुरा गर्थें।

तर, कोरोना संक्रमण भएको थाहा पाउनासाथ मानिसहरू आत्तिन्छन्, जसका कारण कार्डियाक अरेस्ट (हृदयाघात) हुने उच्च सम्भावना हुन्छ। काेरोना संक्रमण हुनासाथ डराउनु हुँदैन, बलियो आत्मविश्वास जगाउनुपर्छ। पहिलो एक साता कोरोनाले असाध्यै गाह्रो बनाउँछ र एकदमै कमजोर बनाउँछ। त्यसपछि बिस्तारै छोड्दै जान्छ। कोरोना संक्रमणबाट भाइरल ज्वरो आउने हुनाले पारासिटामोलसँगै एन्टिबायोटिक पनि खानुपर्छ। एन्टिबायोटिक खाएन भने निमोनिया हुने जोखिम हुन्छ। तर, ब्रुफिनजस्ता औषधी भने खानु हुँदैन।

कोरोना संक्रमितले सुतिरहन हुँदैन। यसले निमोनिया हुने जोखिम हुन्छ। हल्का–हल्का हिँडिरहनुपर्छ। कोरोना भाइरसले फोक्सोमा संक्रमण गर्ने हुँदा सास तान्ने–फ्याँक्ने व्यायाम गर्नुपर्छ। हात धोइरहनुपर्छ। ढोका, झ्यालका चुकुल, ह्यान्डिल बढी सफा गर्नुपर्छ। मेटल (फलाम) मा कोरोना भाइरस बढी समय बाँच्छ।

अहिले पनि मेरो अस्पतालको युनिटमा ६ देखि सातजना कोरोना संक्रमित बिरामीको सेवामा खटिरहेको छु।

रोग प्रतिरोधक क्षमता भएका व्यक्तिलाई कोरोना भाइरसको लक्षण कमैमात्र देखिने गर्छ अथवा नदेखिन पनि सक्छ। गर्भवती, मुटु, मिर्गौला, मधुमेहजस्ता रोगका बिरामीलाई भने कोरोनाको लक्षण चाँडै देखिन्छ।

कोरोना ‘ब्रान्ड न्यु’ भाइरस हो। डाक्टर वा वैज्ञानिकले यसबारे अध्ययन-अनुसन्धान गरिरहेका छन्। तर, अझै निराकरणका उपाय पत्ता लागिसकेका छैनन्।

सेल्फ क्वारेन्टाइन बसेर १४ दिनमा कोरोनालाई परास्त गरेपछि काममा फर्किसकेको छु। अहिले पनि मेरो अस्पतालको युनिटमा ६ देखि सातजना कोरोना संक्रमित बिरामीको सेवामा खटिरहेको छु।

कोरोना भाइरस भनेको अलि कडाखालको रुघाखोकी हो, आत्तिनु हुँदैन। आत्मविश्वास बलियो बनाउनुभयो भने कोरोनालाई अवश्य जित्न सकिन्छ।

(कार्की बेलायतकाे सरकारी अस्लपताल लन्डन नर्थ वेस्ट युनिभर्सिटी हेल्थ केयर एनएचएस ट्रस्टमा कार्यरत छिन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय