सेतीमा आरएनए एक्स्ट्रयाक्सन किट सकिँदा कोरोना परीक्षण रोकियो

मोहन जोशी/धनगढी
प्रकाशित
२०७७ वैशाख २५ गते १७:४१

सुदूरपश्चिम प्रदेशको एकमात्र कोरोना परीक्षण मेसिन रहेको सेती प्रादेशिक अस्पतालमा किट अभावका कारण परीक्षण नै रोकिएको छ।

किट मौज्दात सकिएपछि धनगढी प्रयोगशालामा कोरोना परीक्षण बन्द भएको हो। बुधबार राति चारजनाको परीक्षण भएकोमा किट मौज्दात सकिएपछि आज परीक्षण बन्द गर्नुपरेको प्रयोगशालाले जनाएको छ।

पिसिआर बिधीबाट कोरोना परीक्षण गर्दा पिसिआर किट र आरएनए एक्स्ट्रयाक्सन किट आवश्यक हुने गरेको छ। पिसिआर किटको मौज्दात भएपनि आरएनए एक्स्ट्रयाक्सन किट सकिएपछि परीक्षण बन्द भएको प्रयोगशालाले जनाएको हो। अत्यावश्यक परीक्षणका लागि १० वटा किट भने राखिएको सेती अस्पतालका इमरजेन्सि विभाग प्रमुख जगदिश जोशीले बताए।

किट नभएपछि थ्रोट स्वाब संकलन गरिएका ५० बढिको अहिलेसम्म नमुना परीक्षण गर्न नसकिएको उनले बताए। किटको अभाव भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि निको भएर घर फर्केका तीनजना बिरामीको पुनः परीक्षण समेत गर्न सकिएको छैन।

काठमाडौं र वीरगन्जमा निको भएका संक्रमितको पुनः परीक्षण गर्दा कोरोना ‘पोजेटिभ’ देखिएको अवस्थामा धनगढीमा निको भएका संक्रमितको पुनः परीक्षण हुन नसक्दा जोखिम बढेको छ। किट अभाव संकलिनत नमुनाको समेत परीक्षण रोकिएपछि शंकाष्पद नमुना संकलनसमेत अहिलेलाई बन्द गरिएको छ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले किटको मौज्दात सकिएको बताए। उनले भोलिसम्म संघीय सरकारले सो किट उपलब्ध गराउने आश्वासन दिएको बताए। उनका अनुसार भोली संघीय स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिम प्रदेशका लागि ३ सय किट पठाउने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय