होटल संघले खोज्यो सरकारको साथ, रोजगारी संरक्षण कोष स्थापना गर्न माग

हाेटल संघका केन्द्रीय पदाधिकारीहरू। फाइल फाेटाे

होटल संघले कोभिड‐१९ महामारीबाट उत्पन्न आर्थिक संकटको समाधानका लागि रोजगारी संरक्षण कोष स्थापना गर्न सरकारसँग माग गरेको छ।

संघकी अध्यक्ष सिर्जना राणा र महासचिव साजन शाक्यले बिहीबार विज्ञप्ति जारी गरी महामारीबाट होटल व्यवसाय बन्द गर्नुपर्ने अवस्थालाई दृष्टिगत गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘कर्मचारीहरुको आधारभूत तलवमानको १२ दशमलव ५ प्रतिशतले हुन आउने रकम र प्रतिष्ठानमा विगतमा मौज्दात रहेको सेवा शुल्क वापतको प्राप्त गर्ने रकम समेत थप गरी ६ महिनासम्म दिने र अपुग रकम संघले माग गरे अनुसारको रोजगारी संरक्षण कोष स्थापना गरी सरकारको तर्फबाट कार्यरत श्रमिकहरुको लागि उपलब्ध गराई तत्काल सम्बोधन गर्नुपर्ने माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

बन्दाबन्दी पश्चात होटलहरूको व्यावसायिक वातावरण एवं अन्तर्राष्ट्रिय परिस्थितिको मूल्यांकन गर्दा समेत निकट भविष्यसम्म सकारात्मक हुने अवस्था नदेखिएको संघको निष्कर्ष छ।

जसको कारणले होटलमा कार्यरत श्रमिक‐कर्मचारीहरूलाई लामो समयसम्म पारिश्रमिक व्यवस्थापन गर्न कठिनाई हुने संघले बताएको छ।

विश्वलाई नै आक्रान्त पारिरहेको कोराना भाइरस (कोभिड‐१९) को महामारीले नेपालमा समेत प्रत्यक्ष प्रभाव पारिसकेको अवस्थामा पर्यटन उद्योगसँग सम्बन्धित सम्पूर्ण व्यवसाय ठप्प रहेको विज्ञप्तिमा उल्लेख छ।

लकडाउन पश्चात पर्यटन उद्योगबाहेक अन्य उद्योग सञ्चालनमा रहन सक्ने भए पनि होटलहरूको तत्काल पुनस्र्थापना र पुनरुत्थान भइ सञ्चालनमा आउन समय लाग्ने संघको भनाइ छ।

कोभिड‐१९ को महामारीको कारणले नेपालमा केही समयसम्म विदेशी पर्यटकहरू आउने अवस्था नहुँदा यो अवस्थामा होटल खुला राखी सञ्चालन गर्न कुनै आधार नभएको र खर्चका शीर्षकहरू निरन्तर बढीरहने भएकाले केही समयका लागि सञ्चालन बन्द गर्दा उपयुक्त हुने देखिएको निष्कर्षमा संघ पुगेका छ।

संघका सदस्य होटलहरूको आकस्मिक बैठक तथा देशभरिका तारे होटल, पर्यटकीय होटल, बुटिक होटल, रिसोर्टहरू लगायतको आबद्धता रहेका क्षेत्रीय होटल संघहरूको निर्णय अनुसार केही समय होटल बन्द गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

संघले ६ महिनामा परिस्थितिको समीक्षा गर्ने गरी व्यवसाय बन्द गर्ने तथा व्यवसायीहरूले बाध्य भएर श्रम ऐन २०७४ बमोजिमको प्रक्रिया पूरा गरी श्रमिक कटौती गर्नेसम्मको निर्णयमा पुग्नुपर्ने अवस्थाको आउन सक्नेतर्फ ध्यान दिन सरकारलाई सचेत गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय