भारतका नेपाली भन्छन्- ‘बाटैमा मरे’नि मरिएला, साइकल पेलेरै देश जान्छौं’

दिल्लीस्थित प्रवासी नेपाली मित्र मञ्चले विभिन्न ठाउँमा समस्यामा परेका नेपालीका लागि राहत जुटाउँदै आएको छ। तस्बिर सौजन्य/अर्जुन खनाल

भारतमा कोरोनाभाइरस संक्रमण भुसको आगोझैं फैलिरहेको छ। एक अर्ब ३० करोड जनसंख्याको बिन्द्रालोमाथि संक्रमणको अदृश्य हमला चलिरहँदा शायद सबैभन्दा निःसहाय बनेका छन् नेपालीहरू। जो त्यहाँ के कति संख्यामा छन् भन्ने तथ्यांक कसैसँग छैन।

राजनीतिक भूगोल फरक भए पनि साँस्कृतिक–सामाजिक रुपमा एउटै परिवेश रहेको भारतबाट लकडाउन घोषणालगत्तै नेपालतर्फ ओइरिने संख्या निकै कम हो। भारतमै अझै लाखौं श्रमिकवर्ग र विद्यार्थी अड्किएका छन्। दूरीले नेपाल टाढा होइन। तर, दुवैतर्फको लकडाउनले उनीहरू जहाँको तहीँ बस्नुपर्ने अवस्था छ। अन्य मुलुकका प्रवासी नेपालीहरू कम्तिमा एक हदको सूचना सम्र्पक र आपसी सहयोग हुनसक्ने अवस्थामा छन्। भारतमा त्यो छैन। नेपाल सरकारले पनि भारतका नेपालीबारे सोच्ने आवश्यकता देखेको छैन।

भारतको महाराष्ट्र, दिल्ली तमिलनाडु, मध्यप्रदेश, गुजरातलगायतका राज्यमा कोरोना प्रकोप बढी देखिएको छ। ती क्षेत्रमै बढी प्रभावित छन्।

नेपालका दुर्गम भेगको गरिबी छल्न दैनिकी मजदुरीका लागि भारत जानेहरूको हविगत मापनबाहिरको अवस्थामा छ। काम ठप्प भएपछि कमाई हुने कुरै भएन। भएकाले तलबपाउने कुरै भएन।

डोटीको बोगटान फुड्सिल गाउँपालिका घर भई हाल दिल्लीस्थित गुडगावमा रहेका शिवराज विनाडी आफूभन्दा भाइ र भिनाजुको चिन्तामा छन्।

उनका भाई खेमराज र भिनाजु पनि कामको शिलसिलामा दिल्लीको हरियाणामै छन्। होटेलमा कामगर्ने उनीहरूलाई मालिकले अब त्यत्तिकै पाल्ननसक्ने भन्दै तनाव दिन थालेको छ।

‘भाइ र भिनाजुलाई तलब नदिए पनि खाना दिइरहेको साहुले अब खाना पनि खुवाउननसक्ने भन्न थालेछ,’ उनले भने, ‘निकै समस्या भएको छ। आफ्नो देश आउन मन भएर पनि कसरी आउनु?’

मेदान्त हस्पिटलका एक चिकित्सकको घरमा खाना पकाउने काम भएकाले हाल शिवराज चिन्तामुक्त छन्, बसाइ सहज छ। आफ्नो मात्रै व्यवस्थाले उनको मन हलुको छैन। घरतिर पनि समस्या पर्दै आएको बुझेका छन्। वृद्ध बाबुआमा, पत्नि, साना छोराछोरीको तस्वीर सधैं दिमागमा आउँछ। ‘संकटमा सँगै हुनुपर्ने हो। तर यहाँ त एक्लै रुनुभन्दा उपाय छैन,’ उनले भने।

भाई खेमराजसँग सम्पर्क गर्दा उनको कथा दाजुले बुझेभन्दा निकै भयानक रहेछ।

मिठाई पसलमा काम गर्ने उनीसँग अन्य सात नेपाली छन्। भारत सरकारले दिपावलीसम्मै मिठाइ पसल बन्द गर्ने निर्णय गरेका कारण साहु आत्तिसकेको रहेछ। उनी अब कामदार पाल्ने हिम्मतमा छैनन। त्यसैले उनीहरू अब जुनसुकै उपायले नेपाल फर्कने मुडमा छन्।

‘यहाँ भोकै मर्नुभन्दा साहुले तीन साइकल उपलब्ध गराउँछु भनेका छन्।यहाँबाट नेपाल पुग्न १२ सय किलोमिटर टाढा छ,’ उनले भने, ‘बाटैमा मरे’नि मरिएला, साइकल पेलेरै देश जान्छौ।’

उनीहरुलाई प्रहरीले समात्ने डर छैन। ‘बरु साइकल चढ्दा ज्यान गए, कम्तिमा सरकारले थाहा त पाउँथ्यो,’ उनले निराशा पोखे।

विनाडी र उनका साथीहरु नेपाल आएर तोकिएजति समय क्वारेन्टाइनमा बस्न राजनी छन्। उनीहरुलाई लाग्छ, अरु देशमा अड्किएका नेपालीसँग कम्तिम धेरथोर पैसा होला। तर भारतका श्रमिकसँग त्यो पनि नहोला। ‘भारतका नेपालीबारे सरकारले चासो नदेखाउनु साह्रै दुःखलाग्दो छ,’ उनले भने, ‘विदेशका नेपाली भनिंदा भारतमा अड्किएका नेपालीलाई नसम्झिनु अन्याय हो।’

नेपाल पत्रकार महासंघ भारत शाखाका महासचिव अर्जुन खनाल भारतमा नेपालीको अवस्था रहेको बताउँछन्। ‘कति बाटैमा अलपत्र परेका छन्। कोही आफन्तकहाँ अड्किएका छन्। कोही पैसा सकिएर कसरी जीवन बचाउने भन्ने चिन्तामा छन्’, उनले भने।

खनालका अनुसार अहिलेसम्म भारतमा २३ नेपाली संक्रमित पाइएको पुष्टि भएको छ। ती मुम्बई, रोतक, बैंग्लौर र अम्बालामा छन्। एक नेपाली पुरुषको चाहिं कोरोनाकै कारण ज्यान गइसकेको छ।

पत्रकार खनाल दिल्लीको लक्ष्मीनगरमा बस्छन्। त्यहाँ सिए पढ्ने नेपालीको संख्या करीब २० हजार छ। उनकै अगुवाईमा त्यहाँ अप्ठेरोमा परेका विद्यार्थीका लागि खाना खाने प्रवन्ध मिलाइएको छ। उनलाई आरवी खड्का, राजु खनाल, स्वभाखर पन्थी, दिपकजिसीलगायतले साथ दिएका छन्।

खनालका अनुसार भारतका विभिन्न ठाउँबाट नेपाल फर्किन हिडेकाहरू दिल्ली, पञ्जाव, हरियाणा, उत्तरप्रदेशलगायतका ठाउँमा अलपत्र परेका छन्। कम्तिमा बाटोमा अलपत्र परेकालाई स्वदेश फिर्ता गर्न सरकारले चाँडोभन्दा चाँडो पहल गर्नुपर्ने उनको भनाई छ।

अलपत्र नेपालीहरू मठमन्दीरमा बसेर कष्टकर जीवन गुजारीरहेको खबर पाएको पत्रकार खनालले जानकारी दिए। कोही बाटो भुलेर उत्तर प्रदेशबाट कता कता लागी हरियाणा, पन्जावसम्म पुगेको खबर आइरहेको छ।

सरकारले उद्दार गरी लगेमा नेपालीहरु एक महिनै क्वारेन्टाइनमा बस्न मन्जुर रहेको खनाल बताउँछन्। ‘स्वदेश जान पाउने प्रत्येक नागरिकको जन्मसिद्ध अधिकार हो। सरकारले आफ्ना जनताका पीडा बुझ्नुपर्छ। राज्यले नै सम्बोधन नगरे अरुले झन के गर्थे? सरकारले भारतबाट नागरिकलाई ल्याउनु हुन्न भन्ने अभिव्यक्ति दुःखद छ,’ खनालले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय