कतारबाट ४० हजार नेपाली फर्कन खोज्दै, २५ सयले भरे दूतावासमा फारम

कतारस्थित नेपाली दूतावास। तस्बिर : दूतावासकाे फेसबुकबाट

नेपाली रोजगारको प्रमुख गन्तव्य मुलुकहरू खाडी राष्ट्रका छ देश कतार, साउदी अरब, युएई, कुवेत, ओमान, बहराइन र दक्षिणपूर्वी एसियाली देश मलेसिया हुन्। यी देशमा १५ लाख भन्दा बढी नेपाली आप्रवासी कामदार कार्यरत छन्। कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट बढी समस्यामा पनि यिनै मुलुक छन्। त्यहाँ कार्यरत् अधिकांश नेपाली कामदार अहिले नेपाल फर्किन खोजेका छन्।

उनीहरू कम्पनी बन्द भएर, कम्पनीले कामदार घटाएका कारण, रोजगार करार अवधि सकिएर घर फर्किन खोजेका छन्। तर, तिनीहरू हवाई यातायात बन्द र नेपालका लकडाउनको कारण फर्किन सकेका छैनन्।

नेपालले अहिले त्यस्ता नेपालीलाई नेपाल ल्याउने प्रक्रिया थालेको छ। अति जोखिममा रहेका चालीस हजारलाई फर्काउने प्रक्रियाबारे अहिले परराष्ट्र मन्त्रालय छलफल गरिरहेको छ।

खाडी राष्ट्रमध्ये कतारमा रहेका नेपालीहरूको अहिलेको अवस्थाबारे कतारस्थित नेपाली दूतावासका कन्सुलर भुवन भट्टसँग हेल्थपोष्ट नेपालका खिलानाथ ढकालले कुरा गरेका छन्।

कतारमा अहिले नेपाली कामदारको संख्या कति छ?

कतारमा ३ लाख ५१ हजार  नेपाली कामदार छन्। प्राय: श्रमिक वर्ग (ब्लू कलर वर्कर) कामदार छन्। दुई हजारजति माथिल्लो तहका (ह्वाइट कलर वर्कर) छन्।

कति नेपाली कामदारहरू अहिले नेपाल फर्किन खोजिरहेका छन्?

धेरै छन्। हामीले दूतावासको वेबसाइटमा घर फर्कन चाहनेहरूका लागि फारम भर्ने व्यवस्था गरेका छौं। प्रत्येक दिन चार-पाँच जनाको दरले फारम आइरहेको छ।

हाम्रो ल्याण्डलाइन नम्बर ह्वाट्स, एप नम्बर, जिमेलमा सम्पर्क गर्नेहरूको संख्या ठूलो छ। उनीहरूलाई दूतावासका चार जना अफिसरहरूले डिल गरिरहनु भएको छ। रोजगारी मात्रै गुमेर हैन, अन्य धेरै कारणले आउने छन्। पाँच हजार जना चाहिँ प्रत्यक्ष सम्पर्कमा आइसकेका छन्। २५ सयले फारम भरिसकेका छन्।

अन्य संघ-संस्थामार्फत् आएको जानकारी अनुसार तत्काल ४०-५० हजारको हाराहारीमा कामदारहरू स्वदेश फर्किन चाहिरहेका छन्।

अहिले त्यहाँका कति कम्पनी बन्द छन्, उनीहरूले कति कामदार बिदामा राखेका छन्?

कम्पनी बन्द यति नै भन्ने जानकारी छैन। तर, धेरै कम्पनीबाट औपचारिक रूपमा कम्पनी बन्द हुन लागेको जानकारी हामीलाई आएको छ।

कम्पनीको मान्छेहरू आइरहेका छन्। कम्पनी टर्मिनेसनमा जाँदैछ भनेर भनिरहेका छन्। कतिपयले व्यापक कामदारलाई कटौती गरिरहेको खबर पठाएका छन्।

हामी कति कम्पनी बन्द हुन लागेका छन् त्यसको तथ्यांक संकलन गरिरहेका छौं। डाटा एनलाइसिस गरिरहेका छौं। ठ्याक्कै अहिले यति नै भनिहाल्न सक्ने गरी रिपोर्ट बनिसकेको छैन। कामदारहरूले कम्पनी बन्द हुन लाग्यो, तलब पाउन सकिरहेको छैन भनेर भनिरहेका छन्। ठूलो संख्याले समस्या छ भनेर फोन गरिरहेका छन्।

फिगर ठूलै छ। कतिपयले परिवारलाई टुरिस्ट भिसामा बोलाएकाहरू लकडाउनले यतै फसेका छन्। यस्तो बेलामा मानसिक रूपमा देश फर्किन खोज्नेको संख्या ठूलो छ।

त्यस्ता नेपालीलाई स्वदेश फर्काउने विषयमा चाहिँ के भइरहेको छ?

हामीलाई नेपाल सरकारले इन्पुट मागिरहेको छ। दैनिक रिपोर्टिङ गरिरहेका छौं। सायद नेपालमा तयारी चलिरहेको होला, छलफल भइरहेको होला।

हामीले यहाँको परिस्थितिबारे रिपोर्ट गर्ने हो सरकारलाई। कसरी फर्काउने भन्ने कुरा नेपाल सरकारको निर्णय क्षेत्रको कुरा हो। सरकार र दूतावासबीच जानकारी आदान-प्रदान भइरहेको छ।

कतारमा कति नेपालीमा कोरोना संक्रमण छ, उनीहरूको अवस्था के छ?

अन्य खाडी राष्ट्रमा के कस्तो छ हामीलाई जानकारी भएन। तर, यहाँको सरकारको नीति संक्रमितको राष्ट्रियता नखुलाउने छ। यहाँको सरकारले कुन देशको संक्रमित भनेर खुलाउँदैन। सरकारी उच्च तहमा जानकारी हुन सक्ला तर दूतावासलाई जानकारी दिइएको छैन। त्यसकारण यहाँ के कति नेपालीमा संक्रमण छ भन्न सक्ने अवस्था छैन।

बन्दाबन्दीमा रहँदा समस्यामा परेका कति नेपाली छन्? उनीहरूलाई दूतावासले के सहयोग गरिरहेको छ?

ठूलो जनसंख्या पीडित छ। महामारीबाट उत्पन्न असहज परिस्थितिले विभिन्न रोजगार‚ पेशा र व्यवसायमा आबद्ध रही कतारमा रहेका नेपालीहरूलाई पर्न गएका विभिन्न प्रकारका समस्या सम्बन्धी जानकारी तथा गुनासाहरू विभिन्न माध्यमबाट दूतावासमा प्राप्त हुने गरेका छन्। यसरी प्राप्त भएका जानकारी तथा गुनासाहरूको समाधानका लागि दूतावासले रोजगारदाता कम्पनी, कतारका सरकारी तथा अन्य सम्बन्धित निकाय, गैरआवासीय नेपाली संघ तथा नेपाली समुदायसँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको छ।

कतार च्यारिटीसँग समन्वय गरी उक्त संस्थाको सहयोगमा समस्यामा परेका ६०९ जना नेपालीहरूलाई राहत खाद्यसामग्री प्याकेट वितरण गरेका छौं। यसमध्ये गैरआवासीय नेपाली संघ कतारमार्फत् ३३० प्याकेट र राजदूतावासले प्रत्यक्ष रुपमा २७९ प्याकेट वितरण गरिएको छ। उक्त राहत खाद्य सामग्री प्याकेटमा एक जनालाई दुई हप्ताको लागि पुग्ने खाद्यान्न छ।

हालको असहज परिस्थितिमा आफूलाई परेका समस्याको जानकारी तथा गुनासाहरू राख्न अथवा आफ्ना चासो धारणा वा जिज्ञासा राख्न अन्य माध्यमका अतिरिक्त दूतावासले प्रयोग ल्याएको वेबसाइट, ह्वाट्सएप नम्बरमा सम्पर्क गरी फारम भर्न भनेका छौं।

फारममा भएभरका समस्याहरूबारे खुलाउन पाइन्छ।

फारम खोज्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय