जनकपुरमा तयार भयो कोभिड अस्पताल

कोरोना उपचार गर्न जनकपुरमा कोभिड अस्पताल तयार भएको छ। प्रादेशिक अस्पताल नजिकै रहेको नर्सिङ क्याम्पसको भवनमा ४० वेडको कोभिड अस्पताल तयार गरिएको हो।

कोरोना महामारी रोकथाम गर्न लागू गरिएको लकडाउन पाँचौं चरणमा पुगिसकेपछि जनकपुरमा कोभिड अस्पताल तयार भएको हो।

यसअघि प्रादेशिक अस्पतालभित्रै आइसोलेसन वार्ड बनाएर कोरोना शंकास्पदको उपचार भइरहेकोमा कोभिड अस्पताल तयार भइसकेपछि अब छुट्टै उपचार गरिने छ।

प्रादेशिक अस्पताल जनकपुरमा कोरोनाका फोकल पर्सन डा. कुलदीप पण्डितले ४० वेडको कोभिड अस्पताल लगभग तयार अवस्थामा रहेको बताए। कोरोना संक्रमित र शंकास्पदहरूका लागि छुट्टाछुट्टै वार्डहरू सञ्चालन गरिएको भन्दै उनले प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएकाहरूलाई विहीबार कोभिड अस्पतालमा सारिने जानकारी दिए।

‘वार्डहरूमा बेडहरू राखि सकिएको छ, आइसीयू र शल्यक्रिया कक्षहरू पनि बनाइ सकेका छौं,’ उनले भने,‘कोरोनाको आशंकामा प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेकाहरूलाई सकभर आजै यता ल्याउँछौं।’

पूर्वाधारको हिसाबले छुट्टै कोभिड अस्पताल तयार भएपनि उपकरणहरू जडान गर्ने काम अझै बाँकी छ। जनकपुरमा स्थापना गरिएको कोभिड अस्पतालमा आइसीयू सञ्चालन गर्न आवश्यक उपकरणहरू जडान गर्ने काम अझै बाँकी छ।

हामीले आइसीयू सञ्चालन गर्न मोनिटर, भेन्टीलेटरलगायतका सामग्री उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छौं’ उनले भने,‘प्रदेश सरकारले यी सामग्रीहरू उपलब्ध गराए लगत्तै सञ्चालनमा आउँछ।’

डा. पण्डितले आइसीयू सञ्चालन गर्न आवश्यक उपकरणहरूको अभाव भएकोले जडान हुन नसकेको बताए। ‘हामीले आइसीयू सञ्चालन गर्न मोनिटर, भेन्टीलेटरलगायतका सामग्री उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छौं’ उनले भने,‘प्रदेश सरकारले यी सामग्रीहरू उपलब्ध गराए लगत्तै सञ्चालनमा आउँछ।’

‘लकडाउनका कारण आवश्यक उपकरणहरू पाउनपनि कठिन भएको छ, प्रादेशिक अस्पतालमा रहेका उपकरणहरू चलाउने पक्षमा हामी छैनौं,’ उनले भने, ‘प्रादेशिक अस्पतालको उपकरण प्रयोग गर्दा उता समस्या आउने भएकोले हामीले प्रदेश सरकारसँग माग गरेका छौं।’ कोभिड अस्पतालमा आइसीयूको लागि ८ वटा वेड छुट्याइएको डा.पण्डितले जानकारी दिए।

संघीय सरकारको निर्देशनअनुसार कोभिड–२ लेभेलको अस्पताल तयार पारिएको उनले बताएका छन्। छुट्टै कोविड अस्पताल सञ्चालनमा आइसकेपछि कोरोना संक्रमित बिरामीलाई उपचारको लागि वीरगंज पठाउनुपर्ने बाध्यता अन्त्य भएको उनको भनाइ छ।

डा.पण्डितले छुट्टै कोभिड अस्पताल निर्माण भइसकेपछि प्रादेशिक अस्पतालमा अब सबै खाले उपचार सञ्चालनमा ल्याउन सहज हुने उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय