ओपिडी खोलौं, अस्पताल आउने सबै कोरोनाका बिरामी हुँदैनन् !

लकडाउन सुरु भएलगत्तै अधिकांश अस्पतालका ओपिडी सेवा लगभग बन्द छन्। केही अस्पतालले आकस्मिक कक्षबाटै सीमित सेवा दिइरहेका छन्। आवश्यक परेर आएका बिरामी सेवा नपाएर घर फर्किरहनुपरेको अवस्था छ। सामान्य ज्वरोका बिरामीलाई ‘कोभिड–१९’ नाम दिएर स्वास्थ्यकर्मीबाट बिरामीले सेवा पाउन नसकेको घटना दिनहुँ बढ्दो क्रममा छ। कोरोना कहरमा स्वास्थ्य सेवा सुचारु गर्ने विकल्पमा किन बहस भइरहेको छैन?

यो सन्दर्भमा चिकित्सकका संगठन र सम्बद्ध निकायका भूमिका कस्तो छ? लगायत विषयमा अभियन्ता चिकित्सक एवं शंकरापुर अस्पतालका निर्देशक डा. रमेश ढकालसँग हेल्थपोस्ट नेपालका लागि पुष्पराज चौलागाईंले गरेको कुराकानी :

कोरोना संक्रमित संख्या बढ्दो र अन्य हिसाबले संकट चुलिँदो अहिलेको अवस्थालाई कसरी हेर्नुभएको छ?

चीनको उहानमा कोरोना आउटब्रेक भयो भनेर विश्व स्वास्थ्य संगठनले घोषणा गर्दा ताकादेखि नै हामी चिकित्सक पनि अटल थियौं। सुरुमा सरकारले कोरोनाबाट बच्ने केही बुलेटिन निकाल्न थाल्यो। अस्पतालसँगै हामीले सामाजिक रूपमा पनि बसोबास गर्ने काठमाडौं कागेश्वरी नगरपालिकामा साबुनपानीले हात धुने, मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्नेजस्ता विषयमा जनचेतनाका काम सुरु गर्‌यौं। तर, नेपालमा संक्रमण आउन नदिन सरकारको खासै तयारी भएन। नेपालमात्र होइन, विश्वमा अन्य देशले पनि तयारी गरेनन्।

सन् २००३ मा जसरी चीनमा ‘सार्स’ को आउटब्रेक भयो। केही समय चीनमा मात्र संक्रमण देखिएर हराएर गयो। धेरै मानिसले त्यहि अन्य देशमा यो भाइरस फैलिँदैन भन्ने अनुमान लगाएका थिए। जब उहानमा मानिसको मृत्यु हुन थाल्यो तब अस्पतालमा बिरामी राख्ने बेड पुगेन। रातारात अस्पताल बनाउन केन्द्रित भए। तर, हामी त्यसबेला वास्तवमा चनाखो भएनौं। उसो त सरकारले नियन्त्रणका लागि माखो मार्न पनि सकेन।

चीनमा भारइरस फैलिरहँदा नेपालमा चिकित्सा पेसामा संलग्न स्वास्थ्यकर्मीले मास्क, पन्जाको प्रयोगबिना नै सेवा दिइरहेका थिए। अप्रेसन गर्दा मात्र स्ट्रान्टरको फ्लो हुने गरेको थियो। चीनमा महामारी रूप लिएको भाइरसले केही समयपछि इटालीमा पनि आउटब्रेक भयो। थोरै समयमा संक्रमितको मृत्यु दर ह्वात्तै बढ्यो। इटाली, स्पेन र अन्य देशमा देखिएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गर्‌यो। माघ ९ गते नेपालमा पहिलो केस देखियो। पहिलो केसका लागि परीक्षण गर्न हामीसँग ल्याब सेवा सञ्चालनमा रहेको थिएन। परीक्षण गर्न विदेश पठाउनुपर्‌यो।

नेपालमा देखिएको केही समयपछि भारतमा पनि केही संक्रमण देखिन थाल्यो। महामारीको संकेत देखिएपछि नेपालमा पनि ग्रिनजोन मेन्टेन गर्न केही चिकित्सक अघि बढ्यौं। लकडाउनको बारेमा सरकारमा रहेका विभिन्न प्रतिनिधिसँग छलफल गरियो। सरकारले जुन हिसाबले लकडाउन गरेको छ यो राम्रो कुरा हो। जब चैत ११ बाट लकडाउन भएपछि तीन हप्तामा अपेक्षाकृत काम गर्न सकेन। जुन हिसाबले लकडाउन भयो, बीचमा उल्लंघन पनि भयो। स्थानीय निकायहरूले आफ्ना नागरिकहरुलाई सुरक्षित गर्न काठमाडौंमा रहेका बाहिर र बाहिर रहेकालाई काठमाडौं ल्याउने काम भयो। मानवअधिकारकर्मीबाट आवाज उठ्यो। वास्तवमा यति बेला मानवियताको कुरा गर्न हुँदैन थियो किनभने महामारीलाई नियन्त्रण गर्न लकडाउन वास्तवमा सफल हुन्नँ। आजसम्म ८२ वटा केस देखिएका छन् र १६ वटा घर फर्किएका छन्। ८२ केस माइल्ड रूपमा मात्र देखिएका छन्। यसलाई हामीले पोजेटिभ रूपमा लिनुपर्छ। हाम्रो छिमेकी देश भारतमा एकै दिन १ हजार ७ सय केस देखिएको छ भने मृत्यु दर बढ्दै छ।

भोलिका दिनमा डाक्टर र बिरामीको बीचमा सम्बन्धमा दुरी बढाउने देखिन्छ। जो सेवा लिन आएको मानिसमा दिक्दारपन गराउँछ। एउटा डाक्टर बिरामी भयो भने अर्को डाक्टरले नहेर्ने स्थित पैदा हुन्छ।

नेपालका बोर्डर सिल गर्न सकेनौं भने भोलिका दिनमा भारतमा देखिएको समस्या हामीलाई पनि देखापर्छ। त्यसकारण हामीले लकडाउन खोलिहाल्ने र नर्मल जीवनयापन गराइहाल्ने समय छैन। विज्ञहरूका अनुसार विस्तारै जोन (क्षेत्र) विस्तार गरेर लकडाउन खुकुलो बनाउँदै जाने कुरा आएका छन्। काठमाडौंमा जति पनि केस देखिए, विदेशबाट आएका मानिसलाई मात्र संक्रमण देखियो। कोभिड–१९ सन्दर्भमा सरकार, स्वास्थ्य मन्त्रालय तथा सम्पूर्ण नागरिकको तदारुकता विश्वका लागि उदाहरणीय नै रहेको छ। काठमाडौं उपत्यकामा कोरोनाका लागि तीन विशेष अस्पतालबाहेक अन्य अस्पतालको तदारुकता छैन। स्थानीय तहमा कोरोना विशेष भनेर अस्थायी अस्पतालको निमार्ण भयो। स्कुललाई अस्पताल गर्न सकिँदैन। स्कुलमा आइसियु बनाउन सकिँदैन। सामान्य बेड र पर्दा राखेको भरमा अस्पताल बन्दैन। संक्रमितलाई आइसियुमा राख्न नपरेको र मृत्यु नभएको कारण हामी भाग्यमानी रहेको मान्नुपर्छ। तर, अन्तर्राष्ट्रिय अवस्था मध्यनजर गर्दा भोलि पनि हामीकहाँ पनि ठूलो माहामारी हुने सम्भवना रहन्छ।

अहिले कतिपय अस्पतालका ढोका बन्द नै छन्। कोरोनाबाहेकका अन्य बिरामीले दुःख भोगिरहेका छन्, यसलाई कसरी हेर्नुहुन्छ?

हामी ‘कोभिड १९’ विरुद्ध लडिरहेका छौं। कोभिड नहुँदा अन्य रोगका बिरामीलाई सहज उपचार दिन सक्नुपर्छ। लकडाउन हुने अघिल्लो दिनसम्म सबै अस्पतालको ओपिडी सञ्चालनमा थिए। सबै चिकित्सक तथा स्वास्थ्यकर्मी काममा खटिएका थिए। लकडाउनको भोलिपल्टदेखि नै अस्पतालका ढोका बन्द हुन पुगे। आकस्मिक केसका बिरामीले उपचार नपाउने अवस्था आयो। लकडाउनअघिको ज्वरोका केसहरू सबैले हेरे तर लकडाउनपछिका दिनमा कोभिड–१९ सँग रिलेसन भएको ज्वरो भनेर हेरेनन्। जसका कारण झापा, वीरगन्ज, विराटनगरमा विभिन्न घटना घटे। मानिसलाई सामान्य दमको बिरामीलाई ज्वरो आउँदा कोभिड–१९ रिलेटिभ भनेर चिकित्सकले समेत बिरामी जाँच गरेनन्।

हामी भाइरससँग लडिरहेका छौ‍ं कि, मानिससँग लडिरहेका छौं भनेर बुझ्न जरुरी छ। एउटा मानिसले अर्को मानिस देख्नुपर्दा भाग्नुपर्ने थिएन। हामी भाइरसविरुद्ध लडिरहेका छौं। भाइरससँग डराउनुपर्थ्याे मानिस मानिससँग डराइरहेका छन्। जसले गर्दा मानवीय संवेदना हराएको अनुभूति हुँदै गएको छ। हामी पहिला मानव हौं, त्यसपछि स्वास्थ्यकर्मी हौं। पेसामा धेरै चुनौती हुन्छ।

जस्ताे कि, ट्युबरक्युलोसिस (क्षयरोग) संक्रमणको मृत्यु दर १२ प्रतिशत रहेको छ। कोभिडभन्दा चुनौतीपूर्ण त क्षयरोग छ । क्षयरोगका बिरामी त हेरिरहेका छौं। ज्वरो आएका बिरामीलाई कोभिडको नाममा डराउनुपर्ने छैन। सुरक्षाका लागि पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) लगाउनुपर्छ। आफ्नो उत्तरदायित्वबाट चिकित्सकहरू पन्छिएको र सुरुका दिनमा दुई–तीन हप्ता यो अवस्था भयावह भएको हो। डाक्टरहरू फेसबुकमा बसेर लेखिदिने र फ्रन्टलाइनमा बसेर काम गर्ने जुनियर लेबलका स्वास्थ्यकर्मी आतंकित बनाउने काम भयो। अस्पतालमा ज्वरो आएर बिरामी आउँदा यस्तो बेला नि अस्पताल आउने हो भनेर स्वास्थ्यकर्मीबाट हेपाइसमेत खाए।

भोलिका दिनमा डाक्टर र बिरामीको बीचमा सम्बन्धमा दुरी बढाउने देखिन्छ। जो सेवा लिन आएको मानिसमा दिक्दारपन गराउँछ। एउटा डाक्टर बिरामी भयो भने अर्को डाक्टरले नहेर्ने स्थित पैदा हुन्छ। दमका बिरामीलाई छातीको संक्रमणका कारणले ज्वरो आउँछ, डाइबिटिजका बिरामीलाई पिसाब संक्रमण भएर ज्वरो आउन सक्छ, सिजनल मौसम भएका कारण रुघाखोकीका कारण टाइफाइड ज्वरो हुन सक्छ, यस्ता बिरामी आए भने पनि चिकित्सकहरूले नर्हेने भनेको नराम्रो पक्ष हो। यसले समाज कता गइरहेको छ, कोभिडको कारणले असामाजिक त भएका छैनौं।

लकडाउन भएको भोलिपल्टदेखि नै हाम्रो शंकारापुर अस्पतालमा आएका कुनै पनि बिरामीलाई सेवा नदिई फर्काएका छैनौं। रोगसँग डराएर भाग्ने होइन सामना गर्ने शक्ति डाक्टरसँग हुनुपर्छ।

अस्पतालबाट बिरामी नै नहेरी फर्काउनुपर्ने अवस्था किन आयो?

राज्य एकातिर कोभिड–१९ प्रकोप आउन सक्छ भनेर न्यूनीकरणतर्फ लाग्यो। तर, डाक्टरजस्तो पेसामा रहेको नागरिक जिम्मेवार हुनुपर्ने हो। त्यो जिम्मेवार आमजनताले महसुस गर्न सकेनन्। स्वास्थ्यकर्मीलाई राज्यले जिम्मेवारी बहन गर्न केही भनिराख्न पर्दैन होला।

तर, कोभिडविरुद्ध लड्दा नन्कोभिडका बिरामीलाई अप्ठेरो पनि पार्नुभएन। अतिआवश्यकीय सेवा सञ्चालन गर्नुपर्छ। लकडाउन भएको ४३औं दिन पुगिसकेको छ। अब सेवा विस्तार गर्नेतर्फ स्वास्थ्य संस्थाहरूले ओपिडी सेवा सञ्चालनमा ल्याउनुपर्छ।

प्राइभेटमात्र होइन सरकारी अस्पतालमा आजसम्म पनि राम्रोसँग ओपिडी सेवा सञ्चालनमा आएको छैन। तीन हप्तासम्म कुनै पनि सरकारी अस्पतालमा बिरामी हेरिएन। आकस्मिक अप्रेसन गर्ने, ओपिडीमा धेरै भीड नगर्ने भनियो, महामारी नियन्त्रणका लागि राम्रो उपाय हो। तर, जुन बिरामी उपचारका लागि आवश्यक परेर अस्पताल आएको छ, त्यसलाई फर्काउने काम राम्रो होइन नि। यो त मानवीयताविरुद्ध कार्य भएन र? तर, यस्तो कुरामा मानवअधिकार आयोगले आवाज उठाएन।

डाक्टरले पनि एक दिन मर्नुपर्ने हुन्छ। जतिसुकै कठिन परिस्थिति आए पनि चिकित्साकर्मी आफ्नो भूमिकाभन्दा बाहिर रहनुहुँदैन।

स्वास्थ्य मन्त्रालयले हेर्न कुराबाहेक नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसिएनको भूमिका के हुन्छ?

चिकित्सक तथा नर्सिङका छाता संगठनले उनीहरूका लागि लड्ने हो। तर, अहिलेको परिस्थितिमा पनि स्वास्थ्यकर्मीको सेवा–सुविधा घटाउन हुँदैन। मनोबल बढाएर काममा लगाउनुपर्छ, सकिन्छ सेवा–सुविधा बढाउने राम्रो पक्ष हो। नियमनकारी निकायहरूको काम के हुन्छ भने महामारीको बेलामा काम गरेको छ कि छैन, कुन संस्थाले काम गरेको छ, कुन संस्थाले छैन, कसरी काम भइरहेको छ, स्वास्थ्यकर्मीलाई के कुराको अभाव भइरहेको छ लगायत विषयको अनुगमन गर्नुपथ्र्यो। काउन्सिलले गाइडलाइन बनाउनेमात्र होइन, अनुगमन पनि गर्नुपर्छ।

प्रोफेसनल संगठन चिकित्सकका लागि बोल्ने संस्था हो। अहिले हामी कुन अवस्थामा छौं, त्यो चाहिँ बुझ्नुपथ्र्यो। सेवा दिने संस्थाबाट पहिला स्वास्थ्यकर्मीलाई भड्काउने खालका अभिव्यक्ति आए जसबाट नराम्रो परिस्थिति पनि बनायो। सबै निकायको भूमिका नेपालमा कोभिड नियन्त्रण गर्ने काम हो। तर, कोभिडविरुद्ध लड्दा नन्कोभिडका बिरामीलाई अप्ठेरो पनि पार्नुभएन। अतिआवश्यकीय सेवा सञ्चालन गर्नुपर्छ। लकडाउन भएको ४३औं दिन पुगिसकेको छ। अब सेवा विस्तार गर्नेतर्फ स्वास्थ्य संस्थाहरूले ओपिडी सेवा सञ्चालनमा ल्याउनुपर्छ।

स्वास्थ्य सामग्री सेनाबाट खरिद गर्ने प्रक्रियामा राज्यको संयन्त्र प्रणाली कमजोर भयो भन्ने लाग्छ कि लाग्दैन?

सरकारको यो समस्या रहेछ। सार्वजनिक खरिद ऐनमा छिटो काम गर्न नसक्ने हुँदो रहेछ। चीनले युरोपेली, अमेरिकी राष्ट्रहरूलाई सामान दिएर पु¥याएको छैन। माघमा पहिलो केस देखियो, भोलि हामीलाई सामान आवश्यक पर्छ भनेर जोगाड गर्नेतर्फ लाग्नुपर्थ्यो  । लकडाउन सुरु भएपछि तीन–चार केस देखियो। त्यतिबेला सामान किन्न आह्वान ग¥यौं। जुनबेलामा विश्वबजार नपाइने कारणले गर्दा महँगोमा किन्नुपर्ने अवस्था आयो। सरकारले दुरदरर्शिता देखेन। पहिलो चरणमा ल्याएको पिपिईका कारणले गर्दा स्वास्थ्यकर्मीहरूको मनोबल बढ्यो। अहिको स्थितिमा मौज्दात रहेको छ।

स्वास्थ्यकर्मीले काम पनि गर्दै गएका छन्। सुरुका दिनमा सरकारले कमजोरी नै गरेको हो। माघमा केस देखापरेपछि चैतमा पिपिईको खोजी कार्य भयो। सरकारले ढिलो–चाँडो काम गरेको छ। अहिले स्वास्थ्य मन्त्रालयले काम नै गरेन भन्न मिल्दैन। एउटा ल्याब रहेको थियो, सात–आठवटा ल्याबको स्थापना भयो। जनशक्तिलाई तालिम दिने र विदेशबाट आएका मानिसको कन्ट्याक्ट ट्रेसिङको काम सकिएको छ। समुदायमा विस्तार नहोस् भनेर अनुगमन भइरहेको छ। त्यसकारण पनि सरकारले केही काम राम्रो पनि गरेको छ।

बजेट पनि आउने समय छ। महामारी त्रास रहिरहेको सन्दर्भमा अब स्वास्थ्य क्षेत्रमा लगानी गर्ने तथा अस्पताल, उपकरण बनाउने विषयमा तपाईंको सुझाव के छ?

जुन ढंगले अस्पताल निमार्ण भए, जनस्वास्थ्यको पूर्वाधार रहेका छन्। त्यो अपेक्षाकृत रूपमा हामी सक्षम रहेका छैनौं भन्ने हो। नेपालमा २ सय ५० हाराहारीमा राम्रा भेन्टिलेटर र आइसियु ६ सयसम्म छन्। १ हजारजना सिरियस बिरामी राख्नका लागि पनि हामीसँग क्षमता छैन। त्यसका लागि तालिमप्राप्त स्वास्थ्यकर्मी चाहियो, जनशक्ति पनि अभाव छ। त्यसकारण कोभिड–१९ ले हामीलाई ठूलो शिक्षा दिएको छ। अहिलेसम्म हामीकहाँ महामारी छैन। माइल्ड केसमात्र हेर्दै छौं। स्वास्थ्य बजेट न्यून छ, यसलाई बढाउनैपर्छ। प्रदेश तहमा ठूला अस्पताल निमार्ण हुनुपर्छ।

त्यसकारण सबै बिरामी ज्वरो आउँदा कोभिडको बिरामी हुँदैनन्। सम्पूर्ण मानव जगतको कल्याणका लागि सारा विश्व लडिरहेको बेलामा एउटा मानिसले अर्को मानिसलाई घृणा गर्नुभएन। सबै चिकित्साकर्मीलाई मेरो आग्रह यो छ कि भोलि म पनि बिरामी हुन सक्छ, त्यसकारण सबै बिरामीलाई समान व्यवहार गर्नुपर्छ।

गरिबीको रेखामुनि रहेका मानिसलाई उपचार कसरी गराउने, स्वास्थ्य बिमालाई कसरी परिमार्जित गर्नेतर्फ ध्यान पु¥याउनुपर्छ। त्यसकारणले पनि कोभिडलाई अवसरका रूपमा लिएको छु। राजनीति गर्ने निकायका मानिसले के बझ्न जरुरी छ भने स्वास्थ्यलाई पहिलो प्राथमिकतमामा राख्नुपर्छ।

काेराेना बाहेकका बिरामीले कसरी उपचार पाउने त?

हामीसँग सरकारी र गैरसरकारी मोडलका अस्पताल छन्। यी अस्पतालको स्वास्थ्य मन्त्रालयबाट अनुगमन हुने गरेको छ। कोभिड–१९ नियन्त्रणको पाटोमा नन्कोभिडको बिरामीलाई उपेक्षा गर्नुभएन। उपेक्षा गरिएका छन् कलेक्सन गरेर जानुपर्छ। राज्यले अस्पताल खुला भनेर सिधै भन्नुपर्छ। महामारी भएको अवस्थामा सम्पूर्ण संस्थाले उपचार दिनुपर्ने हुन्छ, तयारी राख्नुपर्छ। क्रोनिक औषधी खाइरहने बिरामी, डायलासिस गरेका बिरामी, दम, गाउँघरका बिरामीलाई सहज उपचार हुनुपर्छ।

मानिस रहरले त अस्पताल जाँदैन नि। अप्ठेरो तथा बाध्यता परेपछि जाने हो। त्यसकारण बाध्यतात्मक अवस्थाले आएको छ भन्ने स्वास्थ्यकर्मीले पनि बुझ्नुपर्छ।

एउटा घटना,

लकडाउनको तेस्रो दिन एकजना बुढी आमा आउनुभयो। म शंकारापुर अस्पतालमा ओपिडी बिरामीलाई हेर्दै थिएँ। उहाँ एउटा कुनै अस्पताल जानुभएको रहेछ। अस्पतालबाट गाली खाएर फर्किनुभएको रहेछ। उहाँले के भन्नुभयो भने बिरामी परेर अस्पताल आयो, डाक्टरले नै अस्पताल आउने हो भनेर गाली गरेपछि कहाँ जाने भनेर दुःख पोख्नुभयो। वास्तवमा त्यो कुराले मलाई छोयो। उहाँलाई जाँच गर्दा दमको बिरामी हुनुहुँदो रहेछ।

त्यसकारण सबै बिरामी ज्वरो आउँदा कोभिडको बिरामी हुँदैनन्। सम्पूर्ण मानव जगतको कल्याणका लागि सारा विश्व लडिरहेको बेलामा एउटा मानिसले अर्को मानिसलाई घृणा गर्नुभएन। सबै चिकित्साकर्मीलाई मेरो आग्रह यो छ कि भोलि म पनि बिरामी हुन सक्छ, त्यसकारण सबै बिरामीलाई समान व्यवहार गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय