नभुलौं है भुल्केलाई !

केही दिन पहिले उदयपुर जिल्लाको भुल्के कोरोनाको हट स्पट बन्यो। देशमा सानो संख्यामा कोरोना संक्रमित फेला परिरहेको समयमा भुल्केमा एकै पटक १२ जना संक्रमित भेटिँदा सबैको ध्यान त्यता केन्द्रित भएको थियो।

उदयपुर सदरमुकाम गाईघाटबाट करिव ४ किलोमिटर दक्षिणतर्फ रहेको भुल्केस्थित मस्जिदमा बसेका मुस्लिम धार्मिक समूहका १२ जनामा पहिलो पटक त्यहाँ कोरोना पुष्टि भएको थियो। पछि संक्रमितको संख्या बढ्दै गएर २८ पुग्यो। जुन अहिलेसम्मकै देशमा एउटै ठाउँमा देखिएको उच्च संख्या हो।

तर, पछिल्लो समय भुल्केको त्रास ओझेलमा पर्दै गएको छ। कारण सबैको ध्यान नेपालगञ्जमा केन्द्रीत हुनु हो। पछिल्लो समय नेपालगजञ्जमा एउटै वडाका २३ जनामा कोरोना पोजेटिभ पाइएपछि सबैको ध्यान त्यतै खिचिएको छ।

भुल्केमा अवस्था सामान्यउन्मुख रहे पनि चटक्कै भुल्नै मिल्ने अवस्था भने अझै छैन। आज (बुधबार) मात्रै भुल्केका ६ कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। कोरोना संक्रमण देखिएको १९ दिनपछि उनीहरूले कोरोनासँगको लडाई जितेका हुन्। तर, भुल्केका २२ जनाको अझै कोषी अस्पतालमा उपचार भइरहेको छ। यीनिसँगै भोजपुर अतुवागढीका १, झापाको बाह्रदशी र दमकका दुई अन्य तीन जना पनि अस्पतालमा उपचाररत छन्।

यसकारण अझै‍ं जोखिम छ भुल्केमा

भुल्केका पहिलो कुरा त कन्ट्याक्ट ट्रेसिङ नै प्रभावकारी हुन सकेन्। कारण संक्रमितहरूका नजिकका धेरैको अझै पनि स्वास्थ्य परिक्षण गर्न नै सकिएको छैन। जसले गर्दा भाइरस अझै पनि समाजमा लुकेर बसेको हुनसक्ने स्थानीयमा त्रास कायमै छ।

भुल्केकै स्थानीयका अनुसार स्वास्थ्य सामग्रीको अभावले धेरैको स्वास्थ्य परिक्षण नै हुन सकेको छैन। ‘भुल्केका स्थानीय सबैको स्वास्थ्य परीक्षण गर्नुपर्छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्रीको अभावले अहिले त्यो असम्भव जस्तै बनेको छ’, त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक नारायण चौधरीले भने, ‘धेरैको जाँच भइसक्नु पर्नेमा अहिलेसम्म हामीले निकै थोरैको मात्रै जाँच गर्न सकेका छौं।

सबैको स्वास्थ्य परीक्षण नगरिएसम्म भुल्के सुरक्षित छ भन्न मिल्दैन।’

स्वास्थ्य संयोजक चौधरीले बुधबार पनि भुल्केका सर्वसाधारणको स्वास्थ्य परीक्षणका लागि कन्ट्याक्ट ट्रेसिङ गरी स्वाव परिक्षणको काम भइरहेको छ।

तर, सामग्रीको अभावमा आफूहरूले थोरैको मात्रै परिक्षण गर्न सकेको उनले बताए। नगरपालिकाले कोरोना भाइरसको संक्रमण देखिएको मुस्लिम समुदायका सबैको स्वास्थ्य परीक्षण गर्ने र अन्य समुदायको घरको एक–एक जनाको स्वास्थ्य परीक्षण गर्ने निती अगाडि लिएको उनले बताए।

भुल्केमा अहिलेसम्म ३ सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको छ। चौधरीकाे कन्ट्याक्ट ट्रेसिङ गरिएका ३ सय ३४ जनाको स्वाव संकलनका लागि तयारी थालिएको छ। उनीहरूको स्वाव संकलन गरेर परिक्षण गरिने उनले बताए।

भुल्केलाई स्थानीय प्रशासनले अहिले पनि शिल गरेको छ। उनले धेरैभन्दा धेरेको परिक्षण नगरिएसम्म र अवस्था सामान्य नबनेसम्म भुल्केलाई शिल नै रहने बताए। उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीले भुल्केका ६ संक्रसित निको भएकोमा खुशी व्यक्त गरे।

उनले ३ सय ५० को स्वास्थ्य परिक्षण सकिएको भए पनि थप पाँच सयको परिक्षण केही दिनभित्रै गर्ने तयारी आफूहरूको रहेको उनले बताए।

स्थानीयले स्वास्थ्य परीक्षणका लागि आग्रह गरिरहेको भएपनि किटको अभावले त्यसो गर्न नसकिएको चौधरीले बताए। उनले चाडोभन्दा चाडो प्रदेश र केन्द्र सरकारले सामग्रीको प्रयाप्ततामा ध्यान दिनुपर्ने बताए।

एउटै वडाका २८ जनामा कोरोनाको संक्रमण देखिएको अवस्थामा भुल्केलाई भुल्न नहुने मेयरको तर्क छ। उनले परिक्षणको दायरा बढाए जोखिम कायमै रहेकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय