कोभिड-१९ संक्रमण रोक्नसक्ने एन्टिबडी पत्ता लाग्यो

वैज्ञानिकहरूले मानव कोषलाई कोरोनाभाइरसबाट संक्रमित हुनबाट रोक्ने एन्टिबडी पत्ता लगाएका छन्। यसले रोग उपचार विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

सार्स कोरोनाभाइरससम्बन्धी अनुसन्धानका क्रममा नेदरल्याण्डसको युट्रेक्ट विश्वविद्यालयका साथै इरासमस मेडिकल सेन्टर र हार्बर बायोमेड कम्पनी (एचबीएम) का वैज्ञानिकहरूले कोभिड–१९ लाई निष्क्रिय पार्ने सम्भावित विधि पत्ता लगाएका हुन्।

मानव कोषलाई सार्स भाइरस संक्रमणबाट बचाउने उक्त एन्टिबडीले कोरोनाभाइरसबिरुद्ध पनि काम गर्नसक्ने नेचर कम्युनिकेसन्स् जर्नलमा सोमबार प्रकाशित एक समीक्षामा उल्लेख छ।

‘कल्चर’ गरिएको मानव कोषमा संग्रहित एन्टिबडीहरूको परीक्षण गर्ने क्रममा अनुसन्धानकर्ताहरूले एक विशेष प्रकारको एन्टिबडी दुवै सार्स र कोभिड–१९ भाइरसमा उपस्थित रहने तथ्य पत्ता लगाएका हुन्।

यो तथ्य कोभिड–१९ को उपचार तथा रोकथामको दिशामा पूर्ण मानव एन्टिबडी विकासतर्फ एक सुरुवाती कदम हुन सक्दछ। यस रोगका कारण विश्वव्यापी रूपमा ३५ लाख भन्दा बढी मानिसहरू संक्रमित र २ लाख ४७ हजार बढीको मृत्यु भइसकेको छ ।

‘तटस्थ एन्टिबडीले संक्रमित होस्टमा संक्रमणको क्रमलाई बदल्ने क्षमता राख्नुका साथै भाइरस हटाउन सहयोग गर्ने वा संक्रमित नभएका व्यक्तिलाई भाइरसबाट सुरक्षित राख्न मद्दत गर्दछ,’ उक्त अध्ययनका एक लेखक डा बेरेन्ड–यान बोस्चले भने ।

उक्त अध्ययनका अर्का लेखक डा. फ्रान्क ग्रोस्भेल्डले यस खोजले यस एन्टिबडीको चरित्रका बारेमा थप खोज गर्न र यसलाई कोभिड–१९को सम्भावित उपचारको रूपमा विकसित गर्न बलियो आधार प्रदान गरेको बताए ।

‘यस कार्यमा प्रयोग गरिएको ‘पूर्ण मानव’ एन्टिबडी हो जसले यसको विकासलाई गति दिनुकासाथै प्रतिरक्षा सम्बन्धी साइड इफेक्टको सम्भावना पनि कम गर्दछ,’ उनले भने ।
पूर्ण–मानव एन्टिबडी परम्परागत चिकित्सीय एन्टिबडी भन्दा फरक हुन्छ, जसलाई मानिसमा सार्न प्रायः पहिले अन्य प्रजातिहरूमा विकसित गरिएको हुन्छ।

हार्बर बायोमेडको ‘एच२एल२ ट्रान्सजेनिक माउस टेक्नोलोजी’को प्रयोगबाट यसलाई विकसित गरिएको हो। यस विधिअन्तर्गत आनुवांशिक तवरले एउटा मुसामा मानव जीन समावेश गरिन्छ जसले अनुसन्धानकर्ताहरूलाई जीवित व्यक्तिहरूमा परीक्षण नगरी ‘मानव’ एन्टिबडीहरू विकास गर्न सहयोग गर्दछ । ‘यो ग्राउन्डब्रेकिंग अनुसन्धान हो,’ एचबीएमका प्रमुख कार्यकारी डा. जिङ्गसङ्ग वाङ्गले भने ।

(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय