लकडाउनको ‘मोडालिटी’ बनाउन बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगियो

करिब ढेड महिनादेखि जारी लकडाउनको ‘मोडालिटी’ कस्तो बनाउने विषयमा बसेको बैठक निष्कर्षविहीन बनेको छ। मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ‘लकडाउन’बारे ठोस निर्णय निकाल्न नसकेको हो। कोरोना भाइरस उच्चस्तरीय समितिको उक्त बैठकमा प्रधानमन्त्री केपी ओलीसमेत सहभागी थिए।

बालुवाटारमा दुई घन्टा लामो छलफल भए पनि कुनै निर्णय हुन नसकेको बैठकमा सहभागी एक सचिवले बताए। ‘लकडाउनका विभिन्न मोडालिटीबारे बैठकमा मन्त्री तथा सचिवहरूले विषय उठाउनुभयो,’ ती सचिवले हेल्थपोस्टनेपालसँग भने। उनका अनुसार बैठकमा उठेका छलफल बुँदागत रूपमा पेश गर्न उच्चस्तरीय समितिले निर्देशन दिएको छ।

‘उठेका सवालहरूको स्किनिङ गरी बुधबार ९ बजे पेश गर्न भनिएको छ,’ उनले भने। उच्चस्तरीय समितिमा पेश भएपछि समितिले बुधबार नै बस्ने मन्त्रिपरिषद बैठकमा प्रस्ताव लिएर जानसक्ने ती सचिवले बताए। लकडाउनबारे छलफलका लागि मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा एउटा कार्यदल छ। सो कार्यदलसहित विभिन्न मन्त्रालय मन्त्री तथा सचिवले जारी लकडाउनको मोडालिटी कस्तो बनाउनेबारे सुझाव पेश गरेका थिए।

सोमबार बसेको उच्चस्तरीय समिति बैठकले कोरोना भाइरस प्रभाव नभएका क्षेत्रमा लकडाउनलाई केही खुकुलो बनाउन सकिने निष्कर्ष निकालेको थियो। सोही निष्कर्षका आधारमा लकडाउनको रणनीति तय गर्न भनी प्रधानमन्त्रीसहितको बैठक बसेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय