किट सकिएपछि भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला बन्द

चितवनमा स्थापना गरिएको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा कोरोना परीक्षणको काम रोकिएको छ। पिसिआर परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट केमिकल सकिएपछि बैशाख १८ गतेदेखि कोरोना भाइरस परीक्षणको काम रोकिएको हो।

चितवनमा किट सकिएपछि स्वाब संकलन गरेर परीक्षणका लागि हेटौंडा पठाउन थालिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। सोमबार किट आउने भनिए पनि परीक्षणका लागि आवश्यक पर्ने सबै प्रकारका किट नआएको पौडेलले बताए।

काठमाडौंबाट सोमबार नै आवश्यक किट आइपुग्ने भरतपुर अस्पतालले बताएको थियो। तर, मंगलबार दिउँसोसम्म पनि किट नआएको अस्पतालले जानकारी दिएको छ।

यसअघि नै स्वास्थ्य मन्त्रालयसँग किट माग गरिए पनि मन्त्रालयले आवश्यक किट उपलब्ध गराउन नसकेको सूचना अधिकारी पौडेलले जानकारी दिए।

चैत्र २३ गते प्रयोगशाला स्थापना भएको थियो। कोरोना भाइरसको नियमित परीक्षण भने २४ गतेदेखि भइरहेको थियो।

यो प्रयोगशालाबाट अहिलेसम्म ५ सय ७३ वटा नमुनाको परीक्षण गरिएको छ। जसमध्ये २ जनाको पोजिटिभ रिपोर्ट आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय