भारतबाट आएका नेपाली उतै फर्काइए

जनकपुरधाम भारतको विभिन्न स्थानबाट आएर धनुषा सीमाको दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई भारततिरै पठाइएको छ।

सशस्त्र प्रहरीले नेपाल प्रवेशमा रोक लगाउँदा धनुषाको दुई नाकामा अलपत्र परेका २४ जना नेपालीलाई पुनः भारत पठाइएको हो। भारत विभिन्न स्थानबाट फर्किएका मध्ये १३ जना महिनाथपुर सीमाको दशगजा र ११ जना इनर्वा सीमाको दशगजा क्षेत्रमा दुई दिनदेखि अलपत्र परेका थिए।

नेपाल प्रवेशमा रोक लगाएपछि गाउँ नजिक आइसकेका उनीहरु पुनः भारत फर्किन बाध्य भएका छन् । सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले नाकाबाट आवतजावत पूर्ण रुपले बन्द गर्ने माथिल्लो तहको निर्णयअनुसार नाकासम्म आइपुगेका उनीहरुलाई पुनः भारततर्फ पठाइएको जनाए।

‘जो जहाँ छन् त्यहीँ बस्नुपर्ने माथिल्लो तहमा सम्झौता भएको छ, नाका प्रवेश गर्न नदिन भनिएको छ, भारतबाट आएकोले उनीहरुलाई उतै पठाइएको छ,’ उप्रेतीले भने। भारतीय प्रहरीसँग समन्वय गरी दशगजासम्म आइपुगेका उनीहरु सबैलाई पुनः भारततर्फ पठाइएको उनको भनाइ छ । दशगजाबाट पठाइएका नेपालीहरुलाई उताको क्वारेन्टाइनमा राख्ने कुरा भएको उप्रेतीले बताए।

तर, महिनाथपुर सीमाको दशगजाबाट सोमबार राति भारततर्फ पठाइएका नेपालीहरु पुनः नाकासम्म आइपुगेको बताइएको छ । नेपालबाट फिर्ता पठाइएकाहरुलाई भारतीय क्वारेन्टाइनमा राख्न नमानेपछि उनीहरु पुनः फर्केको हुनसक्ने सशस्त्र प्रहरी उपरीक्षक उप्रेतीको भनाइ छ।

उनले इनर्वा नाकाबाट फिर्ता पठाइएकाहरुलाई भारतको मधुबनी जिल्लाको जयनगरस्थित क्वारेन्टाइनमा राखिएको जानकारी आफूहरुले पाएको बताए । यता भारतको विभिन्न स्थानबाट मंगलबार बिहानै ८०/९० जना नेपाली पुनः धनुषाको इनर्वा नाकासम्म आइपुगेको बताइएको छ।

भारतमा रोजगारी गर्दै आइरहेका उनीहरु लकडाउनपछि कामधन्धा बन्द भएपछि घर फर्कन खोजेपनि सशस्त्र प्रहरीले प्रवेशमा रोक लगाएको छ । सशस्त्र प्रहरीले नाका प्रवेश गर्न रोक लगाएपछि उनीहरु पुनः भारतर्फ फर्किएको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय