सरकारले पूरा गरेको छैन लकडाउन खोल्ने आधार, छाँट पनि देखिन्न

कोरोना भाइरस (कोभिड–१९) विश्वमहामारी रोकथाम तथा नियन्त्रणनिम्ति नेपालले ‘लकडाउन’ सुरु गरेको ४१ दिन भइसकेको छ। पटक-पटक गरी लकडाउन थपिँदै आएको छ, फेरि पनि लम्बिन सक्ने सम्भावना छ। यस्तोमा लकडाउन कहिलेसम्म वा यो कसरी खुकुलो बनाउँदै जान सकिन्छ भन्ने प्रश्नमा विभिन्न तहमा छलफल सुरु भएका छन्।

विश्वभर यतिबेला विभिन्न क्षेत्रका विज्ञले तथ्य-तर्कबाट लकडाउनसम्बन्धी निर्णयलाई प्रभाव पार्ने प्रयास गरिरहेका छन्। निर्णयकर्ताहरूले अधिकतर विज्ञ–राय र अनुसन्धानमै भर गरेका छन्। नेपालमा ठिक उल्टो छ। जनस्वास्थ्यको अभिभावक निकाय स्वास्थ्य मन्त्रालय रनभुल्ल छ। टालटुले व्यवस्थापन र राजनीतिक समीकरणभित्रका मसिना विषयमै मन्त्रालयको तागत खर्च भइरहेको छ। न काम भइरहेको छ न प्रामाणिक तथ्यांक संकलन।

यस्तो अवस्थामा लकडाउनबाटै बाँकी सारा जिम्मेवारी र चुनौती भुल्न सजिलो हुने बुझाइमा सरकार रहेको प्रष्ट छ।

‘संसार हल्लाउने महामारीमा नेपालको स्वास्थ्य प्रणालीले राजनीतिक नेतृत्वलाई दिशानिर्देश गर्नसक्नुपर्थ्याे, तर उल्टै राजनीतिक निर्देशनबाट बहकिइरहेको छ,’ स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. लक्ष्मीराज पाठक भन्छन्।

पाठकको बुझाइमा लकडाउन राजनीतिक नेतृत्वका लागि समेत सजिलो हतियार हो भने निरुपाय स्वास्थ्य प्रणालीको चाहिँ बाध्यता।

अर्थतन्त्रका लागि लकडाउन खुकुलो पार्नु महत्वपूर्ण छ। तर, यो कुरालाई हामीले जनस्वास्थ्यका दृष्टिकोणबाट समेत हेर्नुपर्छ।मान्छे नभई अर्थतन्त्र हुन्न। मानिस अस्वस्थ हुँदा पनि अर्थतन्त्र स्वस्थ हुन सक्दैन। मानिस स्वस्थ भए पाे ढिलोचाँडाे अगाडि बढ्ने हुन्। त्यसैले निर्णय गर्दा वैज्ञानिक र प्रामाणिक तथ्यमा होसियारीपूर्वक टेक्नुपर्छ।

तर, लकडाउन गरेरै कतिन्जेल धानिन्छ त?

कम्तिमा भ्याक्सिनको व्यापक र सहज सर्वसुलभताबिना कोभिड-१९ कहरबाट संसार मुक्त हुने देखिँदैन। त्यसो नहुँदासम्म त सुरक्षित तवरले समस्यासँग भिडेर बाँच्नुको विकल्प रहेन।

लकडाउन खुकुलो पार्ने कि नपार्ने भन्ने सन्दर्भमा अहिले धेरै जनस्वास्थ्य विज्ञले बेलायतका अर्थमन्त्रीको केही दिनअघिको प्रतिक्रिया उद्धृत गरेको पाइन्छ। कोरोनाका कारण बेलायती अर्थतन्त्रमा ३५ प्रतिशतसम्म गिरावट आउन सक्ने विज्ञको चेतावनीबारे पत्रकारको प्रश्नमा अर्थमन्त्री ऋषि सुनकले भनेका थिए- ‘अर्थतन्त्रका लागि लकडाउन खुकुलो पार्नु महत्वपूर्ण छ। तर, यो कुरालाई हामीले जनस्वास्थ्यका दृष्टिकोणबाट समेत हेर्नुपर्छ। मान्छे नभई अर्थतन्त्र हुन्न। मानिस अस्वस्थ हुँदा पनि अर्थतन्त्र स्वस्थ हुन सक्दैन। मानिस स्वस्थ भए पाे ढिलोचाँडाे अगाडि बढ्ने हुन्। त्यसैले निर्णय गर्दा वैज्ञानिक र प्रामाणिक तथ्यमा होसियारीपूर्वक टेक्नुपर्छ।’

सुनकको यो भनाई नेपालका हकमा पनि सान्दर्भिक हुनसक्छ ।

लकडाउन खुकुलो पार्न हामीसँग जनस्वास्थ्यका के आधार बनिसकेका छन् त?

लामो समयसम्म विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा काम गरेका त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी विभागका प्राध्यापक डा. प्रकाश घिमिरे भन्छन्- ‘अहिले पनि कोरोना रोकथाम र उपचारमा हाम्रो अप्रोच रिएक्टिभ छ, प्रोएक्टिभ छैन। लकडाउन खोल्ने-नखोल्ने कुरामा राजनीतिक निर्णयभन्दा नियन्त्रण र रोकथामका लागि गरेका प्रयासले महत्वपूर्ण भुमिका खेल्छ।’

उच्च संक्रामक कोरोनाले नेपालमा माघ ९ मै प्रवेश पाए पनि अहिलेसम्म पाएको समय अवसरलाई प्रयोग गर्न राज्य चुकेको विज्ञहरूको विश्लेषण छ।

डब्लुएचओले लकडाउन खुकुलाे बनाउने सन्दर्भमा कम्तिमा ६ थरी आधार खडा गर्नुपर्ने औंल्याएको छ :

१) कोभिड-१९ संक्रमणको अवस्था अत्यन्त न्यून र अनियमित तहमा रहेको हुनुपर्छ। संक्रमित (आयतित, सम्मर्कबाट फैलेका र नयाँ संक्रमित) लाई उपयुक्त चिकित्सकीय सेवा दिने पर्याप्त क्षमता हुनुपर्छ।

२) स्वास्थ्य प्रणाली र सार्वजनिक स्वास्थ्य संयन्त्र ‘संक्रमण पत्ता लगाएर गम्भिर संक्रमितलाई मात्र उपचार गर्ने अवस्था’ बाट ‘सबै खाले संक्रमितलाई आइसोलेसनमा राखेर उपचार उपलब्ध गराउने क्षमता’ मा पुग्न सक्ने हुनपर्छ। यसका लागि हरेक शंकाष्पदकाे तत्काल परीक्षण गरी २४ घण्टाभित्र नतिजा दिने प्रत्याभूति चाहिन्छ।

३) अतिसंवदेनशील मानिएका क्षेत्रमा महामारी जोखिम न्यून भएको हुनुपर्छ। यसका लागि संक्रमण विस्तारका मुख्य कारक पहिचान गरी तिनलाई नियन्त्रणमा राखिएको हुनुपर्छ।

४. कार्यस्थलमा रोकथामका आवश्यक पद्धति चुस्त ढंगले कार्यान्वयन भएको हुनुपर्छ। जसमा शारीरिक दुरी, हातधुने, श्वासफेर्ने ढंग र आवश्यक परेका खण्डमा तापक्रम निगरानीलगायत अत्यावश्यक विषय पर्छन्।

५) आयतित संक्रमणको जोखिमलाई सम्बोधन गर्न संक्रमणको उदगम, भित्रिने मार्गको विश्लेषण एवम् शंकाष्पदकाे तत्काल पहिचान, परीक्षण र क्वारेन्टाइनको व्यवस्थापन हुनुपर्छ।

६) समुदायलाई रोकथामजन्य व्यवहारमा उद्यत गराइरहँदा कुनै पनि बेला आइसोलेसनमा जान तत्पर रहनुपर्छ भन्ने बुझाइएको हुनुपर्छ।

डब्लुएचओ मापदण्डका आधारसँग आफ्नो तयारी रुजु गरेर मात्रै लकडाउन खुकुलो पार्ने औचित्य तय गर्नुपर्नेमा सरकारको ध्यान त्यता पुग्न नसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताउँछन्।

‘पहिला त ग्याप एनालाइसिस हुनुपर्‍याे, रोगबाट बच्ने कुरामा समुदाय सचेत र तयार हुनुपर्दछ, त्यतातिर ध्यानै गएको छैन,’ उनले भने।

‘फेरि पनि बुझ्नुपर्ने कुरा लकडाउन हाम्रो कामले खुकुलो पार्ने हो,’ डा. घिमिरे थप्छन्, ‘संक्रमितका स्रोत पहिचान गर्ने, द्रुत गतिमा परीक्षण गर्न सक्ने, देश वा ग्रिन क्षेत्रका प्रवेश विन्द‌ुमा पर्याप्त कडाइको अवस्था र अरू रोगका बिरामीको उपचारमा पहुँच सुनिश्चिताको आधार तय भएकै छैन।’

अमेरिकामा झन्डै दुई दशक चिकित्सा अभ्यास गरेका संक्रामक रोगविज्ञ डा. जनक कोइरालाका अनुसार सरकारले जोखिमका आधारमा उच्च र न्यून जोखिम क्षेत्र यकिन गरी न्यून जोखिम क्षेत्रमा लकडाउन खुकुलो पार्दै लानुपर्छ। ‘अस्पताल पनि कोभिड र ननकोभिड छुट्ट्याएर कुनै पनि खालका बिरामी उपचारबाट वञ्चित नहुने अवस्था बनाउनुपर्छ,’ उनले भने।

लकडाउन खुकुलो पार्दा जोखिमका आधारमा विभिन्न रङमा क्षेत्र वर्गीकरण गरे पनि एक ठाउँको जोखिमबाट अर्को ठाउँलाई जोगाउने वा प्रभावित हुन नदिने रणनीति चाहिन्छ। सेवा क्षेत्रका आधारमा पनि जोखिमको मूल्यांकन गरेर विस्तारै लकडाउन खुकुलो पार्न सकिन्छ। तर, यी सबैका लागि सरकारको जनस्वास्थ्य तयारी भरपर्दो, प्रामाणिक र व्यवस्थित चाहिन्छ। जुन कुरामा सरकार चुकिरहेको छ।

विज्ञहरुका अनुसार अहिले पनि नेपालमा ठूलो संख्यामा बिरामी भेटिएका स्थानमा परीक्षण हुन सकेको छैन। बढी बिरामी देखिएका नेपालगञ्ज, उदयपुर जस्ता क्षेत्रमा २४ घण्टाभित्र सयौंको संख्यामा परीक्षण गरी आवश्यक पर्नेलाई आइसोलेट गर्नुपर्ने हो । ‘नेपालगञ्जमा त अहिले कम्तिमा पनि १५ सय जनाको परीक्षण हुनुपर्छ, तर एक दिनको परीक्षण सय पनि पुगेको छैन्’ डा. पाठक भन्छन् ।

संक्रमण समुदायमा देखिइसक्दा समेत प्रभावकारी परीक्षण नभएबाट सरकारले लकडाउनविना धान्न नसक्ने बुझिसकेको प्रष्टिन्छ।

डा. घिमिरेका अनुसार अहिलेसम्म सरकार महामारीका जोखिम बढी भएका क्षेत्र, मुख्य कारकको पहिचान गरी नियन्त्रणका उपायमा लागिसकेको हुनुपर्ने हो। लकडाउन भनिए पनि एक ठाउँबाट अर्को ठाउँ वा बढी संक्रमण भेटिएका ठाउँबाट नभेटिएका ठाउँमा वेपर्वाह हिड्ने क्रम रोकिएको छैन् । सबैभन्दा बढी जनघनत्व भएको राजधानी उपत्यकामा संक्रमण फैलिसकेका क्षेत्रका मानिस धमाधम भित्र्नु चिन्ताको विषय हो। ‘बरू स्थानीय सरकारहरूले बाहिरबाट गएकालाई क्वारेन्टाइनमा राखेका छन्, तर काठमाडौंमा चाहिँ कुनै निगरानी छैन,’ डा. मरासिनी भन्छन्, ‘यो कुरामा किन ध्यान नदिएको ?’

क्वारेन्टाइन, आइसोलेसनको चरण हुँदै परीक्षण बढाएर बिस्तारै हरियो, पहेँलो र रातो क्षेत्रको वर्गीकरणबाट खुकुलो पार्दै जान सकिने चल्तीको मोडल हो। सरकारले यसैलाई टेकेर गरेको काम हेर्दा अझै लकडाउन खोल्ने अवस्था नदेखिने डा. घिमिरेको भनाइ छ।

डब्लुएचओले पछिल्लोपटक अप्रिल २१ मा महामारी जोखिमका आधारमा नेपाललाई तेस्रो वर्ग (क्याटागोरी) मा राखेको छ । जोखिमका ६ क्याटागोरीमध्ये नेपाल चोथौको नजिक छ। सयभन्दा बढी संख्यामा संक्रमित पुग्ने वा समुदायमा फैलिएको प्रमाणित भएमा चौथो क्याटागोरीमा उक्लन्छ।

देशको अवस्था झल्काउने वर्गीकरणको अपडेटनिम्ति पनि डब्लुएचओ सम्बन्धित देशले पठाएको डाटामै भर गर्ने हो। उदयपुर र नेपालगन्जकाे अवस्थाका आधारमा यत्तिकै पनि डब्लुएचओले नेपाललाई चौथो क्याटागोरीमा राख्न सक्छ। घोषितभन्दा पनि संगीन अवस्थामा रहेको महामारीको चुनौतीसामु लकडाउन खोल्न सरकारलाई सहज छैन।

‘फेरि पनि बुझ्न‌ुपर्ने कुरा लकडाउन हाम्रो कामले खुकुलो पार्ने हो,’ डा. घिमिरे थप्छन्, ‘संक्रमितका स्रोत पहिचान गर्ने, द्रुत गतिमा परीक्षण गर्न सक्ने, देश वा ग्रिन क्षेत्रका प्रवेश विन्द‌ुमा पर्याप्त कडाइको अवस्था र अरू रोगका बिरामीको उपचारमा पहुँच सुनिश्चितताको आधार तय भएकै छैन।’

सरकारले लकडाउन खोलिहाल्ने निर्णय लिए पनि त्यो राजनीतिक हुने तर प्राविधिक रूपमा परिपक्व हुन नसक्ने विज्ञहरूको भनाइ छ।

डा. पाठकले झन्डै डेढ महिनादेखि अन्य रोगका बिरामीले सामान्य उपचार नपाएर ज्यान जाने अवस्था आउनु चिन्ताको विषय भएको भन्दै लकडाउन खुकुलो पार्नुपूर्व नै उपचारको भरपर्दो विकल्प यकिन गर्नुपर्ने बताए।

‘केस पहिचान, क्वारेन्टाइन आइसोलेसन, परीक्षण, उपचारको कुनै क्षमता भरपर्दो छैन्,’ डा. पाठक थप्छन्, ‘साँच्चै प्राविधिक रूपमा गम्भीर भएर विश्लेषण गर्ने हो भने सरकारको काम उपयुक्त, समयबद्ध, योजनागत केही पनि छैन।’

‘संसारलाई नछोडेको महामारीले हामीलाई छोड्दैन्,’ उनी थप्छन्, ‘पर्याप्त सुरक्षा सामग्रीबिना स्वास्थ्यकर्मी र चिकित्सकलाई काममा खटाए एक-दुईजनामा संक्रमण हुनासाथ झन् नसोचेको भागाभागको अवस्था आउनसक्छ।’

वीर अस्पतालका पल्मोनोजिस्ट डा. अशाेक ढुंगानाका अनुसार लकडाउनका दुई मूल उद्देश्यमा एउटा संक्रमण बढ्न नदिने, अर्को तयारीका लागि समय सदुपयोग गर्ने हो। ‘बेलैमा लकडाउन लगाएर हामीले राम्रो पनि गर्‍याैं तर दोस्रो तयारीका सन्दर्भमा गम्भिरता देखिएन,’ उनले भने।

डा. ढुंगाना कोभिड र नन-कोभिड बिरामीको उपचार कसरी गर्ने भन्ने सन्दर्भमा यकिन योजना लकडाउन खोल्ने प्रमुख सर्त हुने बताउँछन्। डा. मरासिनी चाहिँ संसार पहिलाको अवस्थामा हत्तपत्त फर्किन नसक्ने तर्क गर्छन्। र, त्यसका लागि व्यवहार, संस्कार र आनिबानी परिवर्तनमा ठोस प्रगति हुनुपर्ने उल्लेख गर्छन्।

‘भौतिक दुरी कामय गर्ने, नमस्ते गर्ने, हात नमिलाउने, पटकपटक हात धुने, जथाभावी नथुक्ने, अनिवार्य मास्क लगाउनेजस्ता कुरामा जनता नै सचेत हुने अवस्था आउनुपर्छ,’ डा. मरासिनी थप्छन्, ‘व्यवहार परिवर्तनका लागि वृहतरूपमा जनचेतना बढाइ कडाइसाथ पालना गराउनुपर्छ।’

चिकित्सक संघका अध्यक्ष एवं वीर अस्पतालका फिजिसियन डा. लोचन कार्की अहिलेको तयारी र सुस्तता हेर्दा सरकार नै हाम्रो मुलुकमा रोग फैलिन्न भन्ने मानोविज्ञानबाट ग्रस्त भएको हो कि भन्ने आशंका गर्छन्।

‘संसारलाई नछोडेको महामारीले हामीलाई छोड्दैन्,’ उनी थप्छन्, ‘पर्याप्त सुरक्षा सामग्रीबिना स्वास्थ्यकर्मी र चिकित्सकलाई काममा खटाए एक-दुईजनामा संक्रमण हुनासाथ झन् नसोचेको भागाभागको अवस्था आउन सक्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय