याे महामारीकै कारण नर्सहरू बेराेजगार हुन नपराेस्, सरकारलाई भनिरहेका छौं : रजिष्ट्रार घिमिरे

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा छ। थपिँदै गएको लकडाउनले सबै क्षेत्र प्रभावित बनेको छ। चिकित्सा शिक्षा क्षेत्र पनि अछुतो रहने कुरै भएन। चिकित्सा शिक्षा अध्ययन हुने नर्सिङ कलेजहरू प्रभावित बनेका छन्। नर्सहरूले पास भएर आइसकेपछि रजिष्ट्रेसन दर्ता गर्ने लगायतका काम गर्न सकिरहेका छैनन्। कलेजहरू कसरी सञ्चालन गर्ने कसैसँग कुनै योजना छैन। कोरोना संक्रमितको उपचारमा खटिएका नर्सहरूको अवस्था दयनीय छ। थुप्रो नर्सहरूले ओपिडी सेवा बन्द हुँदा जागिर गुमाउनुपर्ने अवस्था पनि छ। यी यस्ता विषयलाई नेपाल नर्सिङ परिषदले कसरी हेरिरहेको छ? यसै विषयमा काउन्सिलकी रजिष्ट्रार बिन्दा घिमिरेसँग हेल्थपोष्ट नेपालका लागि यज्ञराज जोशीले गरेको कुराकानीः

लकडाउनले चिकित्सा शिक्षा र भर्ना प्रभावित बनिरहेको अवस्थामा यहाँहरूका नयाँ रणनीति के छन्?

चिकित्सा शिक्षामा अहिले भर्नाको समय हो। सबै विश्वविद्यालय तथा नर्सिङ कलेजहरूमा भर्नाको समय आइरहेको छ। फरक-फरक विश्वविद्यालयले  फरक समयमा भर्ना लिन्छन्। लकडाउनले शैक्षिक क्यालेन्डरलाई नै असर गरिरहेको छ। अब त्यो अनुसार कभर गर्न कलेजहरूलाई गाह्रो हुन्छ होला। त्यसमा हामीले मात्रै भन्दा पनि विश्वविद्यालयहरूले कस्तो रणनीति अपनाउँछन्। हामी पनि त्यही अनुसार अगाडि बढ्छौं।

यहाँहरूले त्यस्ता कुराको के कसरी अनुगमन गरिराख्नु भएको छ?

अहिले हामी पनि लकडाउनकै अवस्थामा छौं। अहिले सबै कलेजहरू पनि बन्दै छन्। बन्दको समयमा अनुगमन गर्ने कुरा भएन। अहिले हाम्रो मुख्य काम भनेको पास भएर आएका नर्सहरूको रजिष्ट्रेसन गर्ने हो। नर्सिङ पास भएर आएकाहरू यहाँ लाइसेन्सको परीक्षा दिन्छन्। उनीहरूको काम चाँडो गरिदिने हो। लाइसेन्सको परीक्षा सकिएको केही समयपछि नेपालमा लकडाउन भएको हो। अब लाइसेन्सको अर्को परीक्षा असारमा छ। असारको लाइसेन्स परीक्षा के हुन्छ भन्नेबारेमा बोर्डमा सल्लाह गरेर अगाडि बढ्छौं। अहिलेसम्म हामी रुटिङ अनुसार नै परीक्षा गर्न सक्छौं कि भन्ने छ।

काउन्सिलले वर्षमा तीन पटक लाइसेन्सको परिक्षा लिन्छ। हामीले सुरूमै एक वर्षको तालिका आउट गरेका हुन्छौं। हाम्रो एउटा परीक्षा फागुनको २४ गते सकिएको छ। अर्को परीक्षा चार महिनापछि हुने हो। अर्को परीक्षा हामीले असार २० गते राखेका छौं।

बाहिर वा नर्सिङ पढेका विद्यार्थीहरूको भेरिफिकेसन लेटर बनाउने भन्ने हुन्छ। अहिले त्यो काम हामीले अनलाइन माध्यमबाट गरिरहेका छौं। हामीले यताबाट भेरिफिकेसन पत्र नबनाउँदासम्म बाहिर संस्थामा रजिष्ट्रेसन हुन पाउँदैनन्। लाइसेन्स नवीकरणका लागि कुनै पनि व्यक्ति काउन्सिलमा आउँदा काम गरिरहेका छौं। हामी अहिले अफिस सधैं नआए पनि अल्टरनेटिभ रुपमा खोलिरहेका छौं। लाइसेन्स नवीकरणका लागि आउनेहरूलाई सेवा दिइरहेका छौं।

अहिले हाम्रो काम भनेको पनि रजिष्ट्रेसन गर्ने, लाइसेन्स नवीकरण गर्ने नै हो। नयाँ रजिष्ट्रेसन हुनेहरू त धेरै लकडाउनले गर्दा आउन सकेका छैनन्। कुनै समस्या परेर जिज्ञासा राख्नेहरूलाई परामर्श दिनेलगायतका काम भइरहेका छन्। तपाईंले भनेजस्तो कलेजलहरूको अनुगमन गर्न सकिरहेका छैनौं। किनकि, अहिले सबै कलेजहरू बन्छ छन्। अर्को कुरा सबै क्षेत्रलाई यसले असर गरिरहेको समयमा चिकित्सा क्षेत्रका शैक्षिक संस्थाहरू अछुतो रहने कुरै भएन। देशमा कोरोना संक्रमणको स्थिति भयावह भएन भने विस्तारै अन्य क्षेत्र खुले पनि शैक्षिक संस्थाहरू केही पर धकेलिन सक्छन्। यस्तो समस्याका बीच प्रतिष्ठानका क्यालेन्टरहरूले कसरी शैक्षिक सत्रलाई निर्धारण गर्छन्, त्यही अनुसार अनुगमन गछौं।

फ्रन्टलाइनमा काम गर्ने नर्सहरू उच्च जोखिममा छन्। उनीहरूका लागि तपाईंहरूले केही कार्यविधि बनाउनु भएको छ?

फ्रन्टलाइनमा कार्यरत नर्सहरूका लागि गाइडलाइनहरू बनाउने भनेर हामी काम गरिरहेका छौं। अहिले हामीले डब्लुएचओले भने अनुसारका गाइडलाइनहरूलाई नै फलो गरिरहेका छौं। मेडिकल काउन्सिलले पनि केही गाइडलाइनहरू बनाएको छ।

विभिन्न अस्पतालको ओपिडी सेवा बन्द भएसँगै थुप्रै नर्सहरू बेरोजगार हुनसक्ने अवस्था आएकाे छ, यसलाई काउन्सिलले कसरी हेरिरहेको छ

काउन्सिलले लाइसेन्सको कुरा हेर्ने हो। यो कुरा गभरमेन्ट सेक्टरको भयो। यस्तो बेला अस्पतालहरूमा पनि क्राइसिस छ। बेरोजगारको अवस्था छ। नर्स एउटा महत्वपूर्ण मेनपावर हो। उनीहरूको कति महत्व हुन्छ भन्ने कुरा पहिले सरकारले नबुझेको भए पनि अहिले बुझ्नुपर्छ। समयमै उनीहरूको प्रमोसनको व्यवस्था गर्नुपर्‍यो। नर्सको सेक्युरिटीको कुरामा हस्पिटलहरूले व्यवस्था गर्नुपर्छ। नर्सहरूका लागि इक्युपमेन्टको कुरा हुन्छ, बचावटका लागि चाहिने कुरा हुन्छ।

अहिलेको अवस्थामा त झनै उहाँहरूका लागि क्वाटरको व्यवस्था गर्नुपर्छ। कतिपय नर्सहरूले त १२ घण्टा पनि सेवा दिनु परिरहेको छ।

बिरामीसँग सबैभन्दा बढी समय बिताउनुपर्ने नर्सहरूका यी यस्ता समस्या समाधानका लागि यहाँले कसरी पहल गरिरहनु भएको छ?

यी यस्ता समस्या समाधानका लागि हामीले सरकारसँग माग गरिरहेका छौं। सरकारसामु नर्सहरूका समस्या सुनाइरहेका छौं। नर्सहरूका लागि सरकारले राम्रो व्यवस्था गर्नुपर्छ। काउन्सिलहरू मिलेर मेडिकल काउन्सिल, हेल्थ प्रोटेक्सनल काउन्सिल, नर्सिङ काउन्सिल, फार्मेसी काउन्सिल, आयुर्वेदिक काउन्सिल गरेर पाँच वटा काउन्सिल मिलेर कोरोनाको महामारीका बीचमा कसरी काम गरिरहेका छन् भनेर अवलोकन पनि गरेका थियौं। त्यहाँ स्पटमा के समस्या छ, नर्सहरूले, अस्पताल र अन्य चिकित्सकको के समस्या छ भनेर अनुगमन गरेका थियौं। त्यसपछि ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर स्वास्थ्य मन्त्रालयमा रिपोर्टिङ गरेका थियौं।

ओपिडी सेवा बन्द भएसँगै नर्सहरूले जागिर गुमाउनु परेको अवस्था आयाे भने नि?

हो। एकदमै समस्या छ। मन्त्रालयमा बेला-बेला रिपोर्टिङ गर्न जानुपर्छ। त्यो समयमा हामीले यस्ता समस्या राख्ने गरेका छौं। फरक–फरक हस्पिटलमा गएर त्यहाँका समस्या बुझेर हामीले सरकारलाई जानकारी गराएका छौं। ती अस्पतालमा समस्या के-के छन्? सेक्युरिटीको अवस्था कस्तो छ? नर्सहरूको अभाव छ कि के छ? भन्नेबारेमा मन्त्रालयलाई जानकारी गराएका छौं।

नर्सिङ कलेजका भर्नाका कुरादेखि काउन्सिलले सञ्चालन गर्ने रजिष्ट्रेसन परीक्षासम्मको अवस्था अब के हुन्छथप प्रष्ट पारिदिनुस् न?

काउन्सिलले वर्षमा तीन पटक लाइसेन्सको परिक्षा लिन्छ। हामीले सुरूमै एक वर्षको तालिका आउट गरेका हुन्छौं। हाम्रो एउटा परीक्षा फागुनको २४ गते सकिएको छ। अर्को परीक्षा चार महिनापछि हुने हो। अर्को परीक्षा हामीले असार २० गते राखेका छौं। अहिले हामीसँग अझै समय छ। त्यो समयसम्म देशको अवस्था कस्तो हुन्छ, त्यो अनुसार अगाडि बढ्छौं। अनलाइनबाट फारम भर्नुपर्ने भएकाले देशको स्थिति त्यो बेलासम्म सामान्य बने बीचमै सक्छौं कि भन्ने लागेको छ।

नर्सहरूलाई कोरोनाकाे उपचारसम्बन्धीको तालिमको व्यवस्था के छ?

तालिम प्रशिक्षणहरू दिन सकिन्छ। तर, काउन्सिल भनेको ट्रेनिङभन्दा पनि रजिष्ट्रेसन गर्नेलगायत, नर्सिङ कलेका कार्यविधिको मनिटरिङका काममा बढी खटिने निकाय हो। तालिम दिनै नमिल्ने भन्ने होइन। आवश्यक पर्‍यो भने तालिम पनि दिन्छ।

अस्पतालहरूमा अनुगमन गरेकाे कुरा गर्नुभयोत्यहाँ नर्सहरूका लागि आवश्यक पर्ने सामग्रीको जोहो कस्तो पाउनुभयो?

हामी सुरुआती अवस्थामै गएका थियौं। त्यो बेला पिपिई लगायतका सामग्रीको अभाव नै थियो। एन-९५ मास्क कसले प्रयोग गर्ने, कुनले कुन पिपिई प्रयोग गर्ने भन्ने कुराको कतिपय ठाउँमा अन्यौलता थियो। पछि मेडिकल काउन्सिलले एउटा ‘गाइडलाइन’ निकाल्यो। अहिले डब्लुएचओको गाइडलाइन पनि फलो भएको छ। कोरोनासँग फ्रन्टलाइनमा ‘डिल’ गर्नेलाई मात्र एन-९५ मास्क चाहिन्छ। अरुलाई सर्जिकल मास्क लगाए पनि हुन्छ। कोरोनाको केयर गर्ने चिकित्सकलाई पिपिई चाहिन्छ। त्यस्ता कुराको गाइडलाइन मेडिकल काउन्सिलले दिन्छ।

यस्तो अप्ठ्यारोमा पनि नर्सहरू सेवा प्रवाह गरिरहेका छन्। नर्सहरूले यस्तो परिस्थितिमा जुन धैर्यता देखाएर काम गर्नु भएको छ, त्यसको लागि म आभार व्यक्त गर्छु। उहाँहरूले आफ्नो कर्तव्यबोध गर्दै कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने काउन्सिलको विश्वास छ। उहाँहरूले सुरक्षित भएर काम गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय