१७ जनामा संक्रमण देखिएकाे प्रदेश ५ मा कीट सकिएपछि कोरोना परीक्षण रोकियो

नेपालगञ्ज उपमहानगरापलिका–८ मा आइतबार एकैदिन १५ जनामा ‘कोभिड १९’ को संक्रमण देखिएको छ। योसँगै प्रदेश ५ मा संक्रमित संख्या १७ पुगेको छ।

सरकारले लकडाउन गरेपछि भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका कारण समुदायस्तरमा थप कोरोना संक्रमण पुग्यो। कोरोनाको आशंकामा ११ हजार हाराहारीमा क्वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाकारी दिएको छ।

तर, क्वारेन्टाइनमा बसेका नागरिकलाई परीक्षण गर्ने किटको अभावको कारण र्‍यापिड टेस्ट गर्न नसकेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले बताएका छन्।

रिएजेन्ट र कीट नभएको कारणले पिसिआरबाट परीक्षण हुन नसकेको निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए। ‘कीट अभाव भएपछि परीक्षण गर्न पाएका छैनौँ,’ प्रवक्ता चौधरीले भने, ‘भैरहवाको प्रयोगशाला बन्द अवस्थामा रहेको छ।’

अहिले देशभर नै रिएजेन्ट नभएको कारण परीक्षण हुन नसकेको स्रोतले बताएको छ। सेनाले स्वास्थ्य सामग्री ३ दिनपछि मात्र ल्याउने प्रक्रियामा रहेको छ।

‘कोभिड १९’ उपचारका लागि प्रदेश ५ मा ४ वटा अस्पताल छुट्याइएको छ। अहिलेसम्म १ हजार २ सय ५८ जनाको स्वाब नमूना परीक्षण भएको निर्देशनालयको तथ्यांक छ।

‘बोर्डर जिल्ला भएपछि संक्रमणको जोखिम धेरै हुँदोरहेछ,’ डा. गिरीले हेल्थपोस्टसँग भने, ‘लुकीछिपी नेपाल प्रवेश गरेका मानिसले गर्दा समुदायमा कोरोनाको संक्रमण बढ्न गयो।’

सुशील कोइराला प्रखर क्यान्सर कोरोना अस्पतालमा १६ र बुटवल धागो कारखानाको अस्थायी अस्पतालमा १ जना उपचारको क्रममा रहेका छन्।

कोरोना नियन्त्रणका लागि प्रदेश सरकारको उच्च सावधानिकपूर्वक लागि परेको डा. गिरीले जानकारी दिए।

‘नियन्त्रणका लागि विभिन्न अस्पताल समन्वय गरेर छुट्टै अस्पतालको निर्माण गरेका छौँ,’ डा. गिरीले भने, ‘जनशक्ति व्यवस्थापन गर्न लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई जिम्मेवारी दिएका छौँ।’

स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार बुटवल धागो कारखानामा ५० बेडको आइसोलेन बेड र ५ आइसियूसहित भेन्टिलेटरको व्यवस्था गरिएको छ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ५० आइसोलेसन बेड र ८ आइसियू बेडसहित भेन्टिलेटर रहेको छ।

त्यसैगरी, भीम अस्पतालमा ५ आइसियू बेड र ३० आइसोलेसन बेड तयारी अवस्थामा रहेका छन्। आयुर्वेद शिक्षण अस्पताल दाङमा ५ आइसियू, ३ भेन्टिलेटर र ८८ आइसोलेसन बेड सञ्चालनमा रहेका छन्।

रिएजेन्ट कम भएको कारणले परीक्षणको दायरा बढाउन नसकेको डा. गिरीले बताए। नेपालगञ्जमा ६० जनाको कोरोना आशंका शंकास्पदको नमूना लिँदा १५ जनामा पोजेटिभ देखिएको र थप ३५ नमूना परीक्षणको नतिजा आउँदो क्रममा रहेको डा. गिरीले जानकारी दिए।

डा. गिरीका अनुसार कोरोना नियन्त्रणका लागि सोमबारदेखि संक्रमण देखिएका ठाउँ नै सिल गर्ने प्रक्रियामा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय