सीमामा सशस्त्र प्रहरीका ५४० पोस्ट राख्ने गृहको निर्णय, सशस्त्रद्वारा ९ हजार जनशक्ति थप्न माग

गृह मन्त्रालयले सीमा नाकामा थप कडाइ गर्न सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बिओपी) संख्या पाँच सय पुर्‍याउने तयारी गरेको छ।

भारतसँग सीमा जोडिएका क्षेत्रबाट कोरोना संक्रमणको जोखिम बढेपछि गृह मन्त्रालयले सुरक्षा पोस्ट बढाउने तयारी गरेको हो।

आइतबार गृहमन्त्री रामबहादुर थापाले दिएको निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले सो सम्बन्धी खाका तयार पारेको छ। सशस्त्रले सोमबार गृहमन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारीसमक्ष खाका बुझाएको छ।

गृह स्रोतका अनुसार हाल सीमामा १ सय २१ पोसट रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्‍याउने गृहकार्य छ।

नेपालतर्फको सीमा नाकामा भारतका ५ सय ३० पोस्ट छन्। नेपालले पनि सोही अनुपातमा बिओपी थप्ने तयारी गरेको हो। भारततर्फ सीमा सुरक्षा बल (एसएसबीले) गरिरहेको छ।

थप खटाउन सशस्त्र प्रहरीले ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव गृहमा राखेको छ। हाल सरदर १५ किलोमिटरको दूरीमा रहेको बिओेपी त्यसपछि ३.५ किलोमिटर सीमामा रहने छ।

बिओपी थप सम्बन्धी छलफलमा गृहमन्त्री थापाले सीमा व्यवस्थापनको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै उक्त प्रस्ताव मन्त्रिपरिषदमा लैजाने बताएको उनीनिकट स्रोतले बतायो।

थापाले सशस्त्र प्रहरीले तयार पारेको प्रस्ताव राम्रो भएको भन्दै बिओेपी रहने स्थान, आवश्यक पूर्वाधार लगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिए।

शान्ति, समृद्ध र स्वाधीन नेपालका लागि सीमा व्यवस्थापन अनिवार्य सर्त रहेको बताउँदै गृहमन्त्री थापाले यसका लागि राज्यले बजेटमा कन्जुस्याइँ गर्न नहुने बताए। ‘तत्कालै वा चरणवद्ध रुपमा पाँच सय स्थानमै बिओपी स्थापना प्रक्रिया अगाडि बढाइन्छ,’ बैठकमा गृहमन्त्री थापाले भने।

थापाले अहिले जटिल परिस्थितिमा सीमित, स्रोत र साधनका बाबजुद सीमामा कोरोना नियन्त्रणका लागि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका थिए।

गृहसचिव महेश्वर न्यौपानेले सीमाको विषय संवेदनशील विषय भएकोले सीमाबाट हुने अपराध, चोरी, तस्करी नियन्त्रणका लागि समेत बिओेपी बढाउनुको विकल्प नरहेको बताए। उनले भन्सारको १ सय ११ ठाउँमा रहेको जग्गा बिओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएको जानकारी दिए।

उनले अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगकको समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिए।

महामारीका बेला सीमामा गएकाे सशस्त्र प्रहरी के अब सधैं उतै बस्छ?

यसअघि सीमाक्षेत्रमा ८७ बिओपीमात्रै रहेकोमा गृहमन्त्री थापाले गृह मन्त्रालय सम्हालेपछि यसमा थप गरी १२० पुर्‍याइएको थियो। त्यस्तै, बिओपी संख्या २२१ पुर्‍याउने गृहमन्त्रीको प्रस्ताव मन्त्रिपरिषदले यसअघि नै पारित गरिसकेको छ।

यसअघि बिओपीमा करिब पाँच हजार जनशक्ति रहेकोमा कोरोनाको संक्रमणका कारण सीमा सिलपछि ८ हजार ३८३ थप जनशक्ति सीमामा थपिएको सशस्त्र प्रहरीले जनाएको छ।

गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टर लगायतका स्थानमा रहेका जनशक्ति घटाएर सीमामा पठाउन निर्देशन दिएसँगै अहिले ठूलो संख्यामा सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन्।

सशस्त्रको १२१ स्थानमा मात्रै बिओेपी रहे पनि कोरोनाको संक्रमणका कारण सीमा सिलपछि त्यसलाई विस्तार गरी १२ सय स्थानमा अस्थायी र स्थायी पोस्ट विस्तार गरिएको सशस्त्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय